बहुविवाहलाई वैधता दिने कानुन प्रस्तावबारे संसदमा प्रश्न, कानुनमन्त्रीसँग जवाफ माग

काठमाडौं : प्रतिनिधिसभामा केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने गरी मुलुकी देवानी (संहिता) ऐन, २०७४ संशोधन गर्न लागिएको भन्दै सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियासँग जवाफ माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमालेकी सचेतक सुनिता बराल र माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले यस संवेदनशील विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसदहरूले मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७२ मा संशोधन गर्न तयार पारिएको विधेयकको मस्यौदामा ‘कुनै पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अन्य महिलासँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएमा त्यस्तो महिलासँग विवाह गर्न चाहेमा विवाह गर्न सक्नेछ’ भन्ने प्रावधान राखिएको हो वा होइन भनी मन्त्री चौरसियासँग स्पष्ट जवाफ मागेका थिए।
एमाले सचेतक बरालले बहुविवाह जस्तो गम्भीर र संवेदनशील विषयमा कानुन बनाउँदा उठेका हल्लाहरूको वास्तविकता के हो भनी प्रश्न गरिन्।
उनले भनिन्, ‘बहुविवाह नेपाली समाजमा सामाजिक रूपमा हेर्ने हो भने असामाजिक र कानुनी मान्यताले हेर्ने हो भने गैरकानुनी विषय हो। यो संवेदनशील र गम्भीर विषय हो। यस्ता विषयमा कानुन निर्माणको प्रक्रियामा अघि बढ्दा अहिले उठेको विषय के हो?’
दुवै सांसदले यस्ता कानुन निर्माण गर्दा सामाजिक परम्परा र मान्यतालाई पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।
साउन १९, २०८२ सोमबार १३:४८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।