प्रधानमन्त्रीलाई रास्वपाको प्रश्न- पहिला मन्त्रीहरूको बेथितीको धुलो पुछ्नुस्, ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ?’

प्रधानमन्त्रीलाई रास्वपाको प्रश्न- पहिला मन्त्रीहरूको बेथितीको धुलो पुछ्नुस्, ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ?’
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाईलाई आफ्नै मन्त्रिपरिषद्‌मा लागेको भ्रष्टाचार र बेथितिको धुलो सफा गर्न सुझाव दिएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले रास्वपालाई व्यवस्था विरोधी र संसद विरोधी भनेकोमा आपत्ति जनाउँदै धुलो आफ्नै अनुहारमा हुँदा ऐना सफा गरेर नहुने बताए।

सांसद शाहले गालिबको सायरी उद्धृत गर्दै भने, ‘उम्रभर गालिब यही भूल करता रहा, धल चहेरे पर थी, पर ऐना साफ करता रहा। धुलो त ऐना हेर्ने तपाईंकै मन्त्रिपरिषद्का सदस्यहरूको अनुहारमा लागिरहेको छ अनि ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ?’

उनले अनुसन्धानको झाडु अन्त कतै नभई सिंहदरबारस्थित मन्त्रिपरिषद्‌बाटै सुरू गर्न सरकारलाई चुनौती दिए।

भ्रष्टाचारको प्रमाण बाहिर आएपछि मन्त्रीले दिने राजीनामालाई उनले ‘पाप पखाल्ने गंगा स्नान’को संज्ञा दिँदै भने, ‘यो कस्तो नयाँ परम्परा हो? भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो अनि राजीनामा दिएपछि सबै पाप पखालियो?’

तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि सोही अडियोमा नाम जोडिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई अदृश्य शक्तिले संरक्षण दिएको भन्दै शाहले उनीहरूमाथि किन छानबिन नभएको भनी प्रश्न गरे।

‘के उहाँका लागि यो देशमा अर्कै कानुन छ?’, उनले सोधे।

त्यसैगरी, वनमन्त्रीले नभएको कार्यक्रम बनाएर श्रीमती र स्वकीय सचिवलाई सरकारी खर्चमा नर्वे सयर गराएको भन्दै शाहले देश आर्थिक संकटमा हुँदा जनताको करमा ‘वनभोज’ मनाइएको आरोप लगाए।

‘सरकारलाई लाज छैन होला तर हामीलाई चाहिँ लाज लागिसक्यो’, उनले भने।

सांसद शाहले भिजिट भिसाको नाममा भएको मानव तस्करीको फाइल कहाँ पुग्यो भनी गृहमन्त्रीलाई प्रश्न गर्दै जनताले यो प्रकरण नबिर्सने र रास्वपाले बिर्सन नदिने चेतावनी दिए।

फरक प्रसङ्गमा उनले रास्वपा संसद विरोधी नभई यही व्यवस्थामा रहेर भ्रष्टाचारको सफाया गर्ने अभियानमा होमिएको दल भएको स्पष्ट पारे।

उनले भने, ‘हामी संसद विरोधी होइनौँ। हाम्रो डीएनए पनि त्यही हो। सरकारले पहिला आफ्ना मन्त्रीहरूको अनुहारमा लागेको भ्रष्टाचार बेथितिको धुलो पुछोस्, तबमात्र जनताले यो देशको न्यायको सफा ऐना देख्नेछन्।’

साउन १९, २०८२ सोमबार १३:३९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।