जिलीको नयाँ ई-एक्स५ ईभी नेपाली बजारमा, मूल्य र प्रविधिमा कडा टक्कर दिने दाबी

जिलीको नयाँ ई-एक्स५ ईभी नेपाली बजारमा, मूल्य र प्रविधिमा कडा टक्कर दिने दाबी

काठमाडौं : प्रतिस्पर्धात्मक बन्दै गएको नेपाली विद्युतीय सवारी (ईभी) बजारमा चीनको अग्रणी अटोमोबाइल कम्पनी जिलीको नयाँ ई-एक्स५ सिरिज भित्रिएको छ।

आधिकारिक वितरक एलआरआर मोटर्सले ई-एक्स५ प्रो र ई-एक्स५ म्याक्स गरी दुई मोडल सार्वजनिक गरेको हो। यी गाडीहरू किफायति मूल्य, आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र अत्याधुनिक प्रविधिका कारण अन्य ब्राण्डका लागि कडा प्रतिस्पर्धी बन्ने देखिएको छ।

यी दुवै मोडलमा १६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले मात्र ६.९ सेकेन्डमा ० देखि १०० किमि/घण्टाको गति पकड्न सक्छ।

यसमा प्रयोग भएको ६०.२ किलोवाट-आवरको एलएफपी ‘स्वर्ड ब्लेड’ ब्याट्रीले एक पटकको फुल चार्जमा ५३० किमि (सीएलटीसी) र ४३० किमि (डब्लूएलटीपी) सम्मको रेन्ज दिने कम्पनीले जनाएको छ, जुन नेपाली बाटोका लागि पर्याप्त मानिन्छ।

जिलीले आफैँ उत्पादन गरेको यो ‘स्वर्ड ब्लेड’ ब्याट्री सुरक्षा, ऊर्जा घनत्व र दीर्घायुमा उत्कृष्ट मानिएको छ।

आठ-निडल परीक्षण पास गरेको यो ब्याट्री विश्वकै पहिलो वाटर, फायर र बुलेटप्रुफ प्रमाणित भएको दाबी गरिएको छ। यसको आयु ३५०० चार्ज साइकल (करिब १० लाख किमि) रहेको छ। वितरक एलआरआर मोटर्सले ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ।

गाडीको बाहिरी डिजाइन आधुनिक र एयरोडाइनामिक छ, जसमा एलईडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन्।

भित्री भागमा १५.४ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड र पानोरामिक सनरुफ जस्ता सुविधा छन्। ई-एक्स५ म्याक्समा भने हेड-अप डिस्प्ले, हिटिङ, भेन्टिलेटेड र मसाजिङ सिट तथा फ्लाईमी साउन्ड सिस्टमजस्ता अतिरिक्त लक्जरी सुविधा पनि उपलब्ध छन्।

सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ब्लाइन्ड स्पट मनिटरिङ र हिल असिस्ट जस्ता प्रणाली जडान गरिएका छन्। जिलीले आफ्नै ‘फ्लाईमीअटो ओएस’ अपरेटिङ सिस्टम प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओभर-द-एयरअपडेटको सुविधा दिन्छ।

नेपाली बजारका लागि ई-एक्स५ प्रो को मूल्य रु. ५८ लाख र ई-एक्स५ म्याक्सको रु. ६८ लाख तोकिएको छ। कम्पनीले नाडा अटो शोलाई लक्षित गरी विशेष परिचयात्मक छुट दिने योजना बनाएको छ।

साउन १९, २०८२ सोमबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।