आज साउनको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

आज साउनको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं : साउन महिनाको तेस्रो सोमबार आज, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि पूजाआजा तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ।

साउने सोमबारको अवसरमा भक्तजनको सुविधाका लागि बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका सदस्य-सचिव डा. मिलनकुमार थापाका अनुसार, भक्तजनको सहज प्रवेशका लागि चार स्थानबाट लामबद्ध हुने व्यवस्था मिलाइएको छ। जसअनुसार, गौरीघाट–उमाकुण्ड, मित्रपार्क-दक्षिणामूर्ति, जयवागेश्वरी-भुवनेश्वरी र पिङ्गलास्थान-चार शिवालय हुँदै मन्दिर प्रवेशको व्यवस्था गरिएको छ।

साउन महिना र सोमबार भगवान् शिवलाई समर्पित भएकाले यस दिन स्नान गरी शिवालयमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य मिल्ने धार्मिक विश्वास छ। यही विश्वासका साथ पशुपतिनाथलगायत देशभरका शिवालयमा विशेषगरी रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनको उपस्थिति बाक्लो छ, जसले गर्दा पशुपति क्षेत्र भरिभराउ देखिएको छ।

भक्तजनको सुविधालाई ध्यानमा राख्दै कोषले अतिरिक्त जुत्ता-चप्पल कक्ष, प्रभावकारी सुरक्षा व्यवस्था र निःशुल्क बस सेवाको प्रबन्ध गरेको छ। कोषका अनुसार, यस वर्ष साउनको पहिलो सोमबारदेखि चक्रपथका विभिन्न स्थानबाट पशुपतिसम्म चारवटा बस निःशुल्क सञ्चालन गरिएको छ, जसले भक्तजनलाई आउजाउमा सहज बनाएको छ।

साउने सोमबारको व्रतलाई लिएर विभिन्न मान्यता प्रचलित छन्। विवाहित महिलाहरूले श्रीमान्को दीर्घायु र अविवाहितहरूले सुयोग्य वरको कामना गर्दै व्रत बस्ने विश्वास गरिन्छ। यद्यपि, धर्मशास्त्रविद्हरूका अनुसार, परिवारमा सुख, शान्ति र समृद्धिका लागि सबैले शिवको पूजा-आराधना गर्नु शास्त्रीय रूपमा उत्तम मानिन्छ।

यस वर्ष साउनमा चारवटा सोमबार परेका छन्, जसमध्ये आज तेस्रो सोमबार हो। आज पशुपतिमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको उपस्थिति देखिएको छ। साउन महिनाको अन्तिम सोमबार विशेष कामनासहित व्रत बसेकाहरूले गोदान, पूर्णपात्र आदि दान गरी आफ्नो व्रत समापन गर्ने परम्परा छ।

साउन १९, २०८२ सोमबार ११:२१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।