५८ लागे अरबाज खान : सट्टेबाजीका कारण विवाहको १९ वर्षपछि मलाइकासँग डिभोर्स, २३ वर्ष कान्छी सुरासँग दोस्रो विवाह

५८ लागे अरबाज खान : सट्टेबाजीका कारण विवाहको १९ वर्षपछि मलाइकासँग डिभोर्स, २३ वर्ष कान्छी सुरासँग दोस्रो विवाह

एजेन्सी : बलिउड अभिनेता अरबाज खान आफ्नो अभिनय करियरका साथै निजी जीवनका कारण पनि सधैँ चर्चामा रहन्छन्।

मलाइका अरोडासँगको प्रेम, विवाह र सम्बन्धविच्छेद होस् वा सट्टेबाजीमा नाम मुछिएर तहसनहस भएको वैवाहिक जीवन, अरबाजका जीवनका हिस्साहरू सधैँ सनसनीपूर्ण रहे।

सट्टेबाजीमा नाम आएपछि उनको व्यावसायिक जीवनमा पनि ठूलो असर पर्यो र फिल्ममा काम पाउनसमेत मुस्किल भयो। यस्तो संकटको घडीमा उनका दाइ सलमान खानले उनलाई आर्थिक र मानसिक रूपमा ठूलो साथ दिए।

आज अरबाज खानको जन्मदिनमा उनको जीवनसँग जोडिएका केही खास किस्साहरूलाई फर्केर हेरौँ।

अरबाजले आफ्नो अभिनय करियरको सुरुवात सन् १९९६ मा ऋषि कपूर र जुही चावला अभिनित फिल्म ‘दरार’ बाट गरेका थिए। यस फिल्ममा उनले खलनायकको भूमिका निभाएका थिए, जसका लागि उनले फिल्मफेयरमा सर्वश्रेष्ठ खलनायकको अवार्ड पनि जिते।

त्यसपछि उनले एक्सन, कमेडी र रोमान्टिक फिल्महरूमार्फत दर्शकको मनमा ठाउँ बनाउने प्रयास गरे, तर आफ्ना दाइ सलमान खानजस्तो स्टारडम कहिल्यै हासिल गर्न सकेनन्।

मलाइकासँग पहिलो भेट र विवाह
अरबाज र मलाइकाको पहिलो भेट सन् १९९३ मा एक कफीको विज्ञापन सुटिङका क्रममा भएको थियो। सुटिङ सेटमा सुरू भएको मित्रता बिस्तारै प्रेममा बदलियो।

पाँच वर्षको डेटिङपछि उनीहरूले १२ डिसेम्बर १९९८ मा क्रिश्चियन र मुस्लिम दुवै रीतिरिवाजअनुसार विवाह गरे। मलाइका अरबाजभन्दा ६ वर्ष कान्छी हुन्।

विवाहको १९ वर्षपछि सन् २०१७ मा अरबाज र मलाइकाले आफ्नो सम्बन्धलाई पूर्णविराम लगाए। सम्बन्धविच्छेदको कारण आपसी मतभेद र बढ्दो दूरीलाई मानिन्छ।

मलाइकाले करीना कपूरको च्याट शो ‘ह्वाट वुमन वान्ट’मा पहिलो पटक आफ्नो सम्बन्धविच्छेदबारे खुलेर कुरा गरेकी थिइन्।

उनले भनेकी थिइन्, ‘सम्बन्धविच्छेदको मुद्दामा सुनुवाइ हुनुभन्दा अघिल्लो रात पूरा परिवार मसँग बसेर सोधेको थियो, ‘के तिमी निश्चित छौ? के तिमी आफ्नो निर्णयमा १०० प्रतिशत अडिग छौ?’ मलाई थाहा थियो, उहाँहरू मेरो चिन्ता गर्नुहुन्छ। तर, जब तपाईं कुनै वैवाहिक सम्बन्धमा खुसी हुनुहुन्न भने आफ्नो आत्मसम्मानका लागि कडा निर्णय लिनैपर्छ।’

मलाइका र अरबाजको सम्बन्धविच्छेदको एउटा प्रमुख कारण सट्टेबाजीलाई पनि मानिन्छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, अरबाजले सट्टेबाजीमा ठूलो रकम हारेपछि पैसा असुल्नका लागि मलाइकालाई समेत फोन आउन थालेको थियो, जसले गर्दा उनी निकै तनावमा थिइन्।

अरबाजको सट्टेबाजीको बानीले सलमान खान पनि आजित थिए। उनले धेरै पटक अरबाजलाई सम्झाउने प्रयास गरे, तर सफल भएनन्। सट्टेबाजीका कारण अरबाजमाथि ठूलो ऋण थियो, जसले गर्दा मलाइका र उनीबीच झगडा बढ्दै गयो।

एकपटक दिवालीको समयमा सलमान अरबाजको यो बानीबाट यति रिसाएका थिए कि उनले अरबाजमाथि हात नै उठाउन लागेका थिए, तर आमा सलमाले बीचमा आएर रोकिन्। यही कारणले सलमानले ‘दबंग ३’को निर्देशन अरबाजबाट खोसेर प्रभुदेवालाई दिएको पनि बताइन्छ।

सन् २०१८ मा अरबाजले आफू पछिल्लो ५ वर्षदेखि आईपीएलमा सट्टा लगाउँदै आएको र करिब २.८० करोड भारू हारेको स्वीकार गरेका थिए।

जीवनमा जर्जिया र सुराको प्रवेश
मलाइकासँगको सम्बन्धविच्छेदपछि अरबाजको जीवनमा अभिनेत्री जर्जिया एन्ड्रियानीको प्रवेश भयो। करिब चार वर्षसम्म सम्बन्धमा रहेपछि उनीहरू अलग भए।

जर्जियाले आफूहरू जीवनको फरक चरणमा रहेको र सोचाइमा भिन्नता आएकाले सम्बन्ध टुङ्गिएको बताएकी थिइन्।

जर्जियासँगको ब्रेकअपपछि अरबाजको जीवनमा मेकअप आर्टिस्ट सुरा खानको प्रवेश भयो।

उनीहरूको भेट फिल्म ‘पटना शुक्ला’ को सेटमा भएको थियो, जहाँ अरबाज निर्माता थिए। केही समयको सम्बन्धपछि उनीहरूले २४ डिसेम्बर २०२३ मा विवाह गरे।

सुरा खान अरबाजभन्दा २३ वर्ष कान्छी छिन्, जसका कारण उनीहरूको विवाहपछि सामाजिक सञ्जालमा उमेरको अन्तरलाई लिएर निकै आलोचना भयो।

यस विषयमा अरबाजले भनेका थिए, ‘मेरी श्रीमती मभन्दा धेरै कान्छी छिन्, तर उनी १६ वर्षकी होइनन्। उनलाई आफ्नो जीवनमा के चाहिएको छ भन्ने थाहा छ। हामीले विवाहजस्तो निर्णय हतारमा लिएका होइनौं।’

अभिनयमा खासै सफल नभए पनि अरबाज खान सम्पत्तिको मामलामा धेरै चर्चित कलाकारभन्दा अगाडि छन्।

जीक्यू इन्डियाको रिपोर्टअनुसार, अरबाजको कुल सम्पत्ति करिब ५०० करोड भारु छ। उनी फिल्मका अलावा ब्रान्ड एन्डोर्समेन्टबाट पनि राम्रो कमाइ गर्छन्। हालै, अरबाज खान दोस्रो पटक पिता बन्न लागेको खबरले पनि चर्चा पाएको छ।

साउन १९, २०८२ सोमबार १०:५८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।