रुसी तेल डिपोमा युक्रेनको ड्रोन आक्रम, भिडियो बनाउने तीन जना पक्राउ

एजेन्सी : युक्रेनले आइतबार रुसको सोचीस्थित एक तेल डिपोमा ड्रोन हमला गरेको छ। हमलापछि डिपोमा भीषण आगलागी भएको छ, जसका कारण सोची विमानस्थलको उडानसमेत प्रभावित भएको छ।
क्रास्नोडार क्षेत्रका गभर्नर भेनियामिन कोन्द्रात्येवले ड्रोनको भग्नावशेष तेल ट्याङ्कीमा ठोक्किएपछि आगो लागेको पुष्टि गरेका छन्। आगलागी नियन्त्रणका लागि १२० भन्दा बढी अग्निनियन्त्रकहरू खटाइएको उनले जानकारी दिए।
सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमा डिपोबाट धुवाँको बाक्लो मुस्लो उठेको देखिन्छ। हमलापछि रुसको नागरिक उड्डयन एजेन्सी ‘रोसाभियात्सिया’ले सोची विमानस्थलमा केही समयका लागि उडानहरू स्थगित गरेको थियो।
यसैबीच, विस्फोटको भिडियो बनाइरहेका दुई युवती र एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। भिडियो भाइरल भएपछि उनीहरूलाई हिरासतमा लिइएको हो।
रुसद्वारा ९३ युक्रेनी ड्रोन खसालेको दाबी
रुसी रक्षा मन्त्रालयका अनुसार, रुसी सेनाले शनिबार रातिदेखि आइतबार बिहानसम्म रुस र कृष्ण सागर (ब्ल्याक सी) माथि उडिरहेका ९३ युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ।
यद्यपि, रुसको भोरोनेझ क्षेत्रमा भएको अर्को युक्रेनी ड्रोन हमलामा चार जना घाइते भएका छन्।
रुसद्वारा युक्रेनमाथि पनि निरन्तर हमला
अर्कोतर्फ, रुसले पनि युक्रेनमाथि लगातार मिसाइल र ड्रोन हमला गरिरहेको छ। युक्रेनी वायुसेनाका अनुसार, रुसले शनिबार राति ७६ ड्रोन र ७ वटा मिसाइल प्रहार गरेको थियो। जसमध्ये ६० ड्रोन र १ मिसाइललाई खसालिएको युक्रेनले जनाएको छ।
यसअघि जुलाई ३१ मा भएको रुसी ड्रोन र मिसाइल हमलामा ५ बालबालिकासहित ३१ जना युक्रेनी नागरिकको मृत्यु भएको थियो भने १५० भन्दा बढी घाइते भएका थिए।
साउन १९, २०८२ सोमबार १०:१८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।