इरानको परमाणु कार्यक्रमलाई पाकिस्तानको समर्थन, ‘शान्तिपूर्ण प्रयोगको अधिकार’ भएको ठहर

इस्लामावाद : पाकिस्तानले इरानको आणविक कार्यक्रमलाई आफ्नो पूर्ण समर्थन रहेको घोषणा गरेको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले इरानलाई 'शान्तिपूर्ण उद्देश्यका लागि' आणविक ऊर्जा प्रयोग गर्ने अधिकार रहेको बताएका छन्।
इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमणका क्रममा प्रधानमन्त्री शरिफले उक्त धारणा व्यक्त गरेका हुन्। उनले भनेका छन्, ‘शान्तिपूर्ण आणविक शक्ति हासिल गर्ने इरानको प्रयासमा पाकिस्तान सधैँ साथमा छ।’
पाकिस्तानी प्रधानमन्त्रीले हालै इरानमाथि भएको इजरायली हमलाको निन्दा गर्दै आफ्नो देशको रक्षा गर्न सफल भएकोमा इरानको प्रशंसासमेत गरे।
भ्रमणका क्रममा दुई देशबीच व्यापार, प्रविधि र सुरक्षासहित विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्न १२ वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री शरिफले ‘आतंकवाद’ विरुद्ध पाकिस्तान र इरानको धारणा समान रहेको बताउँदै भने, ‘अब यस क्षेत्रमा शान्ति र विकासको बाटो खुल्नुपर्छ।’
इरानी राष्ट्रपति इब्राहिम रायसीले ‘इजरायलले क्षेत्रलाई अस्थिर बनाउने एजेन्डामा’ काम गरिरहेको आरोप लगाए। उनले शान्तिका लागि सम्पूर्ण मुस्लिम देशहरू एकजुट हुनुपर्नेमा जोड दिए।
रायसीले इजरायली हमलाको विरुद्धमा पाकिस्तानले दिएको समर्थनप्रति आभार व्यक्त गर्दै पाकिस्तानसँगको सुमधुर सम्बन्ध इरानको विदेश नीतिको एक महत्त्वपूर्ण हिस्सा भएको बताए।
पाकिस्तानको सरकारी समाचार एजेन्सी एसोसिएटेड प्रेस अफ पाकिस्तानका अनुसार, दुई देशबीच व्यापार, कृषि, विज्ञान, प्रविधि, नवप्रवर्तन, सूचना तथा सञ्चार र समुद्री सुरक्षा जस्ता क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्न १२ वटा सम्झौता र समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
साउन १९, २०८२ सोमबार १०:०३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।