ओभल टेस्टको आज अन्तिम दिन, जितका लागि इंग्ल्यान्डलाई ३५ रन र भारतलाई ४ विकेट आवश्यक

ओभल टेस्टको आज अन्तिम दिन, जितका लागि इंग्ल्यान्डलाई ३५ रन र भारतलाई ४ विकेट आवश्यक

एजेन्सी : भारत र इंग्ल्यान्डबीचको ओभल टेस्ट रोमाञ्चक मोडमा पुगेको छ। खेलको चौथो दिन वर्षाका कारण अन्तिम ९० मिनेटको खेल हुन नसकेपछि खेल अझै जारी छ।

अब अन्तिम तथा पाँचौं दिन इंग्ल्यान्डलाई जितका लागि थप ३५ रन बनाउनु पर्नेछ भने भारतलाई ४ विकेट आवश्यक छ।

पाँचौं दिनको खेल आज दिउँसो ३:४५ बजेबाट सुरू हुनेछ। भारतका लागि प्रसिद्ध कृष्णाले तीन, मोहम्मद सिराजले दुई तथा आकाशदीपले १ विकेट लिएका छन्।

इंग्ल्यान्डका जो रुटले १०५ र ह्यारी ब्रुकले १११ रनको शतकीय पारी खेल्दै टोलीलाई जित नजिक पुऱ्याए।

इंग्ल्यान्डले चौथो दिन ५०/१ को स्कोरबाट खेल्न सुरू गरेको थियो। बेन डकेटले अर्धशतक बनाए पनि उनलाई प्रसिद्ध कृष्णाले स्लिपमा क्याच आउट गराए।

कप्तान ओली पोप २७ रनमा सिराजद्वारा एलबीडब्लू आउट भए। त्यसपछि जो रुटले ह्यारी ब्रुकसँग १९५ रनको महत्त्वपूर्ण साझेदारी गरे।

ब्रुक १११ रन बनाएर आउट भए, तर त्यतिन्जेलसम्म उनले टोलीलाई ३०० रनको आँकडा पार गराइसकेका थिए। त्यसपछि जेकब बेथेल ५ र रुट पनि १०५ रन बनाएर आउट भए।

७६.२ ओभरमा इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ३३९ रन बनाएको अवस्थामा वर्षा सुरू भयो। वर्षा नरोकिएपछि दिनको खेल समाप्त भएको घोषणा गरियो।

साउन १९, २०८२ सोमबार ०९:५०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।