प्रतिनिधिसभा बैठक बस्दै, रास्वपा र राप्रपाको बहिष्कार जारी रहने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ। आजको बैठकका लागि विभिन्न कार्यसूची तय भएका छन्।
बैठकमा महासचिवले राष्ट्रपतिबाट प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी सन्देशबारे जानकारी गराउनेछन्।
त्यस्तै, लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, २०८०’ मा उल्लिखित सुझाव स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८०’ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ।
यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आज पनि संसद बैठक बहिष्कार गर्ने भएको छ।
एक साताभन्दा बढी संसद बैठक रोकेर सहमतिको प्रयास गर्ने भनिए पनि न त सत्ताधारी दलका सचेतक न तै यसका लागि जुटे न त सभामुख।
साउन १९, २०८२ सोमबार ०७:३१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।