पहिरोले गुल्मीका तीन मुख्य सडक अवरुद्ध

पहिरोले गुल्मीका तीन मुख्य सडक अवरुद्ध
फाइल तस्बिर

गुल्मी : अविरल वर्षासँगै खसेको पहिरोले गएरातिदेखि गुल्मीका तीन मुख्य सडक अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार कालीगण्डकी करिडोर, रिडी-तम्घास र रिडी-वामीटक्सार सडक पूर्ण रूपमा बन्द भएका हुन्।

कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिकाका गरगरे, मिल्क र कनौटामा चट्टानसहितको पहिरो खसेको छ।

त्यसैगरी, रिडी-तम्घास सडकको रुरुक्षेत्र-३ सल्लेरीमा र रिडी-वामीटक्सार सडकको सत्यवती-६ डहरे खोला र बादरेभीरमा पहिरोले क्षति पुर्याएको छ।

प्रहरीले वर्षा नरोकिएकाले अवरुद्ध सडक खुलाउन कठिनाइ भएको जनाएको छ। पटक-पटक सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्दै आएका छन्।

यसैबीच, बडिगाड खोलामा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीका २०० भन्दा बढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ।

साउन १९, २०८२ सोमबार ०७:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।