प्रदेश प्रमुख काठमाडौंमा भएकाले राजीनामा बुझाउन पाएनन् लामाले

प्रदेश प्रमुख काठमाडौंमा भएकाले राजीनामा बुझाउन पाएनन् लामाले

काठमाडौं : राजीनामा घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा बुझाउन पाएनन्। आइतबार उनले पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गरेपछि प्रदेश प्रमुखलाई राजीनामा बुझाउने प्रयास गरेका थिए। तर बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा उपचारका लागि भनेर काठमाडौँ आएकाले उनले आइतबार राजीनामा बुझाउन पाएनन्।

नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण लामा विरुद्ध पार्टीको संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै उनी पराजित भएका थिए। बिचमा उनले मन्त्रिपरिषद् विस्तारको सिफारिस गरेपछि पिसाबमा सङ्क्रमण देखिएको भन्दै काठमाडौं आएका थिए। पार्टी सभापति शेरबहादुर देउवासँग भेटेपछि उनी राजीनामा दिन राजी भएर प्रदेश फर्किएका थिए।

तीन जना मन्त्री उनको सिफारिसमा नियुक्त गर्ने वाचापछि राजीनामा दिन राजी भएर प्रदेश फर्किएका थिए। केन्द्रमा एमाले र कांग्रेसबीच गठबन्धन भएपछि प्रदेशमा पनि सोही अनुसार सरकार बनेको थियो। सहमतिमा पहिलो कार्यकाल कांग्रेसको नेतृत्वमा सरकार बन्ने र अर्को कार्यकालमा एमाले नेतृत्वमा सरकार बन्ने सहमति अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

तर आन्तरिक कलहका कारण अविश्वासको प्रस्ताव हुँदै इन्द्र बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएपछि लामालाई राजीनामा दिन दबाब बढेको थियो। संवैधानिक प्रावधान अनुसार लामा राजीनामा दिन बाध्य थिएनन्। मुख्यमन्त्रीमा नियुक्त भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइँदैन। यस्तो अवस्थामा लामालाई असहयोग गर्नु बाहेक अर्को विकल्प थिएन। अन्तमा देउवा आफैंले बोलाएर लामालाई फकाएर राजीनामाका लागि राजी गराए।

साउन १८, २०८२ आइतबार २१:४५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।