होहल्ला गर्दा समातिएका चक्रेलाई हत्या प्रयासको आरोपमा भक्तपुर प्रहरीले चिन्दै चिनेन, १० महिनादेखि मुद्दा अलपत्र

काठमाडौँ : जन्मदिन मनाउनेक्रममा होहल्ला गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको नेतृत्वमा पक्राउ परेका चक्रे मिलन भनिने मिलन गुरुङ अभद्र व्यवहारमा प्रहरी हिरासतमा छन्। उनी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिएर अनुसन्धानका लागि हिरासतमा राखेको हो।
उनै चक्रेविरुद्ध जिल्ला प्रहरी कार्यालय भक्तपुरमा ज्यान मार्ने कसुरमा जाहेरी पर्दा परिचय नखुलेको भन्दै प्रहरीले प्रतिवादी नै नबनाएको खुलेको छ। उकेराले प्राप्त गरेको विवरणमा उनलाई भक्तपुरका एक युवाले ‘डुँडे’ भन्दै फेसबुकमा कमेन्ट गरेको भन्दै चक्रेको योजनामा उनको समूहका सदस्यहरूले आएर रेस्टुरेन्टमा ज्यान लिने उद्देश्यले कुटपिट गरेको देखिन्छ।
जाहेरीमा मुख्य योजनाकारको रूपमा प्रस्ट ठेगाना र नाम समेत खुलाएर चक्रे मिलनबारे समेत उल्लेख छ। तर प्रहरीले प्रतिवादी बनाउँदा भने एक जना अजित खवासलाई मात्र प्रतिवादी बनाएको थियो। यो बिचमा भक्तपुर प्रहरीले चक्रे र घटनामा संलग्न अन्यको खोजी नै गरेको देखिएन।
घटना २०८१ भदौ ४ को हो। भक्तपुरका मनिष रायमाझीले चक्रेको शारीरिक अशक्तता उल्लेख गर्दै फेसबुकमा लेखेका थिए। त्यसपछि उनलाई चक्रेले धम्क्याएका थिए। चक्रेले धम्क्याएपछि उनी अर्ध भूमिगत अवस्थामा हिँडिरहेका थिए।
घटनाको दिन उनी भक्तपुरमा रहेको बेलामा खवासले फोन गरेर लोकेसन सोध्दै उनी खाजा खान बसेको बड्डाको तावा रेस्टुरेन्टमा पुगेका थिए। रायमाझीले बयानमा आफूले खवासलाई चक्रेले धम्की दिएपछि आफू सार्वजनिक रूपमा नहिँडेको र एक्लै आउन भनेको बताएका छन्।
उनी रेस्टुरेन्टमा आएको केही छिनमा हेलमेट र कालो मास्क लगाएका ९-१० जना आएर ‘मिलन चक्रेलाई किन डुँडे भनेर लेखेको, दाइका भाइहरू छैनन्’ भन्दै हेलमेटले हिर्काएका थिए। त्यसपछि उनीहरू भागे।
रायमाझीले जाहेरीमा खवासले चक्रे मिलन समूहका लागि सुराकीको काम गरेको भन्दै प्रतिवादी बनाएका थिए। उनी पक्राउ पनि परे। ज्यान मार्ने उद्ध्योगमा प्रहरी वृत्त नयाँबानेश्वरमा जाहेरी पर्दा पहिलो नम्बरमा काठमाडौंको महाराजगन्ज बस्ने अन्दाजी ५० वर्षको चक्रे मिलन भन्ने मिलन गुरुङ र दोस्रो नम्बरमा खवासको नाम थियो। अन्य नचिनेको जाहेरीमा दाबी छ।
पक्राउ परेका खवासले बयानमा आफूले समेत कुटाई खाएको दाबी गर्दै आफैँले घाइतेलाई प्रहरी कार्यालय लगेको भन्दै आरोप अस्वीकार गरेका थिए। उनले चक्रेसँग चिनजान नभएको दाबी गरेका थिए।
जाहेरीमा चक्रे मिलनले ‘तलाईँ जहाँ भेट्छु त्यहीँ मारिदिन्छु भनेर धम्की दिएको, मेसेज पठाएपछि लुक्दै बसेको उल्लेख छ। घटनास्थल भक्तपुर भएकाले नयाँ बानेश्वर प्रहरीले सो जाहेरी भक्तपुर पठायो। भक्तपुर प्रहरीले प्रहरी निरीक्षक मणिराम थापाको नेतृत्वमा अनुसन्धान गरेर खवासलाई मात्र प्रतिवादी बनाएर पठाएको अनुसन्धान प्रतिवेदन अनुसार २०८१ असोज ९ मा जिल्ला अदालत भक्तपुरमा जाहेरी दर्ता भएको थियो।
जाहेरीमा ‘प्रस्तुत मुद्दामा संलग्न रहेका भनिएका चक्रे मिलन भन्ने मिलन गुरुङको तीन पुस्ते विवरण सहित एकिन वतन खुली नआएको र निज हालसम्म पक्राउ परेको नदेखिएको हुनाले निज पक्राउ परी आएमा अभियोग पत्र दायर गरिने उल्लेख छ। भक्तपुर प्रहरीले नचिनेको चक्रे मिलन अहिले काठमाडौँ प्रहरीको हिरासतमा छन्। तर काठमाडौँ प्रहरीले ज्यान मार्ने कसुरमा अनुसन्धानका लागि भक्तपुर पठाएको छैन।
*पीडित मनिषले उकेरासँग घटनाको बेलामा शंका लागेर आफूले जाहेरी दिएको तर घटनामा चक्रेको संलग्नता नदेखिएपछि प्रहरी कार्यालय भक्तपुरमा गएर मिलापत्र गरेको बताए। प्रहरी कार्यालयमा मिलापत्र गर्दागर्दै अदालतमा चक्रे मिलनको नाम उल्लेख गरेर अभियोग पत्र दर्ता भएकोबारे आफूलाई जानकारी नभएको उनले दाबी गरे।
'त्यो बेलामा जाहेरी दिएको थिएँ। तर पछि प्रहरी कार्यालय भक्तपुरमा मिलापत्र भएको थियो। उनको नाम उल्लेख गरेर अदालतमा अभियोग पत्र दर्ता भएकोबारे मलाई जानकारी छैन' उनले मंगलबार उकेरासँग भने 'यो विषयमा मलाई विवादमा नल्याउनुहोला। यसबारे मसँग कुनै सरोकार छैन।'
*अपडेट
सम्बन्धित समाचार
साउन १८, २०८२ आइतबार २०:०९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।