तीन मन्त्री पाउने देउवाको आश्वासनपछि बहादुरसिंहले दिए मुख्यमन्त्रीबाट राजीनामा

तीन मन्त्री पाउने देउवाको आश्वासनपछि बहादुरसिंहले दिए मुख्यमन्त्रीबाट राजीनामा

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएसँगै कांग्रेसका कारण बागमती प्रदेशमा सरकारबारे बढेको अन्योल हटेको छ। कांग्रेसभित्रको आन्तरिक विवादका कारण मुख्यमन्त्री रहेका लामालाई पार्टीको संसदीय दलको नेताबाट हटाएर इन्द्र बानिया निर्वाचित भएका थिए। दुवै कांग्रेसमा संस्थापन समूहका नेता हुन्।

पार्टीको संसदीय दलको नेताबाट हटाए पनि मुख्यमन्त्रीबाट राजीनामा दिन उनी बाध्य थिएनन्। उनी विरुद्ध तत्काल अविश्वासको प्रस्ताव ल्याउने कानुनी बाटो समेत थिएन। त्यसैले उनले मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका थिए। तर पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रमा बोलाएर तीन मन्त्री दिने भन्दै फकाएपछि हेटौँडा फर्किएर आइतबार उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरे।

उनी २०८१ साउन ९  मा मुख्यमन्त्री भएर एक वर्ष सरकारको नेतृत्व गरे। उनी तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो नेता हुन्। बागमतीमा कांग्रेस र एमालेको गठबन्धन सरकारको नेतृत्व छ। कांग्रेस र एमालेबीच आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भए अनुसार लामा मुख्यमन्त्री भएका थिए। 

साउन १८, २०८२ आइतबार १९:१४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।