महासंघ अध्यक्ष शर्माको विदेश मोह : भिजिट भिसा विवादमा छानबिनै नगरी बेलायत जाँदा बहिष्कार

महासंघ अध्यक्ष शर्माको विदेश मोह : भिजिट भिसा विवादमा छानबिनै नगरी बेलायत जाँदा बहिष्कार

काठमाडौं : नेपाल पत्रकार महासंघ बेलायत शाखाले संस्थाको स्थापना दिवस पारेर गैर पत्रकारहरूलाई भिजिट भिसामा बेलाउन ल्याउन खोजेको प्रकरणको छानबिनै नगरी महासंघ केन्द्रको अध्यक्ष निर्मला शर्मा बेलायत पुगिन्। उनी बेलायत शाखाको एक समूहले आयोजना गरेको कार्यक्रममा भाग लिन बेलायत पुगे पनि अर्को समूहले उनी सहभागी हुने कार्यक्रम नै बहिष्कार गर्ने भएको छ।

बेलायतमा रहेका नेपाल पत्रकार महासङ्घका सदस्यहरूमध्ये एक समूहले विमला सेने नेतृत्वको शाखाको कार्यसमिति घोषणा गरेपछि बहुमत सदस्यहरू विपक्षमा छन्। बेलायत शाखामा समस्या रहेको स्विकार्दै महासंघ केन्द्रले विवाद समाधान गर्न वरिष्ठ पत्रकार भगिरथ योगीको संयोजकत्वमा समिति नै गठन गरेको छ।

शाखामा विवाद रहेको स्विकारेर योगीलाई पत्रै दिए पनि महासंघ अध्यक्ष शर्मा भने त्यही विवादित समूहले आयोजना गरेको कार्यक्रममा महासंघको अध्यक्षको हैसियतमा सहभागी हुन बेलायत पुगेपछि अर्को समूहले बहिष्कारको घोषणा गरेको हो। नेपाल प्रेस युनियन बेलायत शाखाले शर्मा विवादित समूहको निमन्त्रणामा महासंघको अध्यक्षको हैसियतमा बेलायत आएको र भिजिट भिसाको विवादबारे केन्द्रले छानबिन नगरेको भन्दै बहिष्कारको घोषणा गरेको हो।

 

युनियन बेलायत शाखाका अध्यक्ष विपिन निरौलाले शनिवार विज्ञप्ति जारी गर्दै कार्यक्रममा अधिकांश संस्थापक सदस्यहरू अनुपस्थित हुने र महासंघकी केन्द्रीय अध्यक्ष शर्मा र बेलायतस्थित नेपाली राजदूतको सहभागितासम्बन्धी अतिरञ्जित प्रचार गरिएको उल्लेख छ।

योगीको नेतृत्वमा गठित समितिले काम थाल्नुअघि नै अध्यक्ष शर्मा विवादित कार्यसमितिको कार्यक्रममा सहभागी हुन बेलायत आएकाले विवाद समाधान हुने सम्भावना न्यून हुँदै गएको निरौलाको विज्ञप्तिमा उल्लेख छ। गत वर्ष सम्पन्न अधिवेशनदेखि नेपाल पत्रकार महासंघ युके शाखाभित्र गम्भीर मतभेदहरू विद्यमान रहेको र विवाद समाधान गर्न समिति गठन भइसके पनि संस्थाभित्र आवश्यक एकता कायम नभइसकेको अवस्थामा  सेने नेतृत्वको समूहले एकपक्षीय रूपमा कार्यक्रम आयोजना गर्न लागेकोमा विरोध गरेको छ।

नेपाली पत्रकारहरूको साझा संस्था विभाजन गर्ने उद्देश्यले एकपक्षीय रूपमा आयोजना हुन लागेको कार्यक्रमको साक्षी नबन्न युनियनको शाखाले अनुरोध गरेको छ। विज्ञप्तिमा नेपाल प्रेस युनियन युके शाखाले कथित साधारण सभा तथा स्थापना दिवसलाई पूर्ण रूपमा बहिष्कार गर्ने घोषणा समेत गरेको छ।

साउन १८, २०८२ आइतबार १९:०३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।