सबिता श्रेष्ठको प्रसव पीडा र खुसी : बेलायतमा सन्तान जन्माउँदा श्रीमान्लाई नि अप्रेसन कक्षमा राखियो, यता आउनै नदिने रहेछन्

काठमाडौँको सतुंगलमा रहेको जेसिस इन्टर्नेशनल स्कुलमा सात वर्षदेखि ‘क्यासियर’ को रूपमा कार्यरत छिन्, सबिता श्रेष्ठ। स्नातक सकिए लगत्तै स्नातकोत्तर पढ्न बेलायत पुगेकी उनी सात वर्षपछि नेपाल फर्किइन्।
आफ्नो पहिलो सन्तानलाई उनले बेलायतमै जन्म दिइन्। उनी यहाँ फर्किएदेखि यही स्कुलमा आबद्ध भएर काम गरिरहेकी छन्। नैकापमा आफ्नो सम्पूर्ण बाल्यकाल बिताएकी उनले कलेज पढ्दै गर्दा अन्तर्जातीय विवाह गरेकी थिइन्।
बिहे पछि दुवैजना बाहिर जाने तयारी अनुसारै बेलायत पुगे । श्रीमान् त्यहाँ काम गर्थे, उनी भने पढ्ने गर्थिन्। विवाह भएको पाँच वर्षपछि उनीहरूको पहिलो सन्तान भयो। अहिले उनी दुई सन्तानकी आमा हुन्। उनै सबिताले उकेराको साप्ताहिक स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :
OOO
बिहे भएको पाँच वर्ष पछि हाम्रो उतै(बेलायत)मा पहिलो सन्तान भयो । नानी साढे दुई वर्षको भएपछि हामी नेपाल फर्किन पर्यो। अहिले हाम्रो दुइजना सन्तान छन्।
हामीले योजना बनाएको, तयारी गरेकै अनुसार सबै राम्रो हुँदै गयो। त्यही अनुसारले सन्तानको चाह राख्यौँ। पहिलो पटक गर्भवती भएको खबर पाउँदा घरमा सबैजना खुसी हुनुभएको थियो।
सन्तान पनि उतै जन्मियोस् भन्ने नै योजना हो। पछि पनि हामी त उतै बस्ने तयारीमा थियौँ। तर पारिवारिक कारणले फर्किन पर्यो। बाहिर देशमा एक्लैले सन्तान हुर्काउनु चुनौतीकै कुरा रहेछ। अनि हामी फर्कियौँ। अहिले यतै काम चलिरहेको छ दुवैको।
गर्भावस्थामा म कलेज र काममा गइनै राख्थेँ। त्यही भएर त्यति धेरै अप्ठ्यारो भएको याद छैन। त्यसबाहेक सामान्य लक्षणहरूले अलि असहज त महसुस हुन्थ्यो। बान्ता हुने, खाना नरुच्ने बेला चैँ गाह्रो भएको अनुभव भयो।
कलेज पनि अलि टाढा नै थियो। बानी नपरेसम्म त गाह्रो नै भएको अनुभव गरेँ मैले। परदेशमा, निकै व्यस्त समयमा गर्भ बस्दा घर परिवार बिछट्टै याद आउने रहेछ। श्रीमान् काममा हुँदा आफू एक्लै घरमा बस्नु पर्ने। त्यो बेलामा कोही साथमा भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो।
खानाको सन्तुलन मिलेर होला मेरो तौल भने निकै बढेको थियो। पछि गर्भावस्थाको तेस्रो त्रैमासिक चरणमा त खुट्टाहरू सुन्निएर निकै गाह्रो बनायो।
राति सुत्न अप्ठ्यारो हुने। अनि खुट्टाको पैताला निकै पोल्ने। यसले धेरै रात त अनिदो नै बसेको थिएँ। शारीरिक रूपमा धेरै बदलाव आएपछि म अन्तिम समयतिर त हिँड्न पनि नसक्ने भएँ। त्यही भएर पनि हो कि मेरो डाक्टरले समय तोकिएको भन्दा अलि अगाडि नै डेलिभरी भयो।
म त निदाइरहेकी थिएँ। त्यही बेलामा वाटर ब्रेक भएछ। म त्यसबेला एक्लै थिएँ। के गर्ने भन्ने नै थाहा भएन। श्रीमानलाई फोन गरिहालेँ। अनि तुरुन्त मलाई एम्बुलेन्समा हालेर हस्पिटल पुर्याइयो। दिनभर जसो प्रसव व्यथा लागे पनि घरहरू खुलिरहेको थिएनन्।
अनि वाटर ब्रेक भएको धेरै समय भएको कारण बच्चालाई पानीको कमी होला भन्ने भएपछि अप्रेसन गर्नु पर्यो। बेलायती डाक्टरहरूले मलाई त्यो अवस्थामा निकै स्याहारे। त्यही भएर म अत्तालिन पर्ने अवस्था थिएन। सबै राम्रोसँग भयो ।
त्यहाँ अप्रेसन हुँदा श्रीमानलाई पनि साथमा राख्ने रहेछन्। त्यसले गर्दा थप बल पुग्यो। एक्लै भएको भए आत्तिन पनि सक्थेँ कि।
सबै सामान्य नै भइरहेको थियो। तर बच्चामा केही समस्या देखियो। दूध चुस्न सकिरहेको थिएन उसले। दूध तान्न पनि मानिरहेको थिएन। सुरुमा स्तनपानमा पनि अलि समस्या नै भयो। के/कसरी गर्ने केही थाहा नै नहुने रहेछ। एक हप्तासम्म त हामी हस्पिटलमै बस्यौँ।
नेपालमा त्यसबेला दशैँ चलिरहेको थियो। आमा बेलायत आउन अलि ढिला भयो। तर आमा आउनु भएपछि एकदम सहज भयो। आमासँग आफै पनि समय बिताउन पाएँ।
नानी जन्मिए पछि म काममा जान सकिनँ। त्यहाँको हुर्काइ नै अर्कै खालको भयो। जे होस् मैले बच्चालाई भने पर्याप्त समय दिन पाएँ।नानी साढे दुई वर्षको हुँदा हामी नेपाल फर्कियौँ। तर नानीलाई यहाँ घुलमिल गराउन निकै कठिन भयो। जहाँ गए पनि फोहोर भन्थी। झिँगा देखेर उ निकै डराएकी थिइन्।
पहिलो सन्तान हुर्कँदै गए पछि उनको लागि भए पनि साथी चाहिन्छ भन्ने कुरा भयो। अनि त्यही अनुसार हामीले दोस्रो सन्तानको तयारी गर्यौ। तर त्यहाँ सुविधा र स्याहार पाएर पहिलो सन्तान जन्माएको मलाई यता नेपालमा त त्यो सुविधाको निकै कमी महसुस भयो।
दोस्रो सन्तान पनि राम्रोसँग जन्माउने भनेर सुरुमा नै राम्रो हस्पिटल पनि गएका हौँ। डाक्टर र नर्सको एकदम रूखो बोली थियो। गर्भवती भएको बेलामा जँचाउन जाँदा डाक्टरसँग बाझेर आउन परेको थियो। साह्रै नराम्रो अनुभव भयो। डाक्टर र नर्सको दुर्व्यवहारपछि मैले त्यो हस्पिटलमा आजसम्म खुट्टा टेकेकी छैन।
त्यो बेलामा दुई महिनाको गर्भ थियो। त्यसपछि डेलिभरी पनि अर्कै हस्पिटलमा गर्यौं।
पहिलो सन्तान अप्रेसन गरेर जन्माएको कारण दोस्रो पनि अप्रेसनै गरेर जन्माउनु पर्यो। दुवै सन्तानबीच चार वर्षको उमेर अन्तर छ। रमाइलो चैं दोस्रो पटकको गर्भावस्थामा मैले एक्लो महसुस गर्न परेन। परिवारका सदस्य साथमा थिए।
नेपाल फर्किएको एक वर्ष पछि मैले पनि यहाँ काम गर्न थालेको थिएँ। घरमा मलाई निकै सहज पनि भयो। परिवार साथमा भएपछि ढुक्क हुने रहेछ। अनि आफ्नै अनुभवले पनि काम गर्ने भयो। गर्भ आठ महिनाको हुँदा मैले बिदा नै लिएँ।
दुवै सन्तान जन्मिँदा नै निकै ठूला थिए। पहिलो सन्तान जन्मिने बेलामा अप्रेसन कक्षमा आफूसँगै श्रीमान् साथमा तर यता त श्रीमानलाई बाहिरै बस्न लगाउँदा रहेछन्। त्यो बेलामा चैं निकै कमी अनुभव भयो। डेलिभरीको समयमा जीवनसाथी साथमा हुँदा ढुक्क भइने रहेछ। यहाँ एक्लो अनुभव भयो।
अनुभवले होला, दोस्रो सन्तानको समयमा स्तनपानमा भने कुनै समस्या भएन। संयुक्त परिवारमा सन्तान हुर्काउँदा त सन्तान हुर्किएको पनि पत्तो नहुने रहेछ । अहिले दुबैजना साथी जस्तै छन्। जहाँ पनि सँगै जान्छन्। ठूली छोरी सात कक्षामा अनि सानी युकेजीमा पढ्दै छिन्। ठूलीको बेलायतकै जन्मँदा दर्ता छ। १६ वर्षपछि उनी त्यहाँ जान पाउँछिन्। तर अहिले यहीँ घुलमिल भइसकिन्। नेपालमै बस्छु भन्छिन्।
हामीले उनीहरूकै लागि भनेर धेरै ठुलो योजनाहरू बनाएका छैनौं। दुवै जनालाई राम्रो शिक्षा दिन जोड छ। उनीहरूले जे गर्न चाहन्छ त्यस क्षेत्रमा राम्रो गर्न सक्षम बनाउन हाम्रो साथ रहनेछ। अहिले यसो सोच्दा मेरो पनि दुइटा नानी भयो ! भन्ने लाग्छ । तर आमा भए पछि म आफैंमा पनि मैले धेरै परिवर्तन पाएँ।
साउन १८, २०८२ आइतबार १८:२८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।