तीन हजारमा पुगेर ओरालो लागेको सेयर बजार रोकिएन, एकै दिन ६३ अंकले घट्यो

तीन हजारमा पुगेर ओरालो लागेको सेयर बजार रोकिएन, एकै दिन ६३ अंकले घट्यो

काठमाडौँ : नेप्से परिसूचक ३ हजार पुगेको सेयर बजारको ओरालो यात्रा आइतबार पनि रोकिएन। आइतबार दिनभरको कारोबारमा ६३. ७३ अंकले नेप्से घटेर २९ सय तल ओर्लिएको छ।

आइतबारको कारोबारमा १६ कम्पनीका लगानीकर्ताहरूले मात्र कमाएँ। बाँकी २ सय ३३ कम्पनीको लगानीकर्ताहरूले गुमाए।

साताको पहिलो दिनको कारोबारमा सेन्सेटिभ इन्डेक्स १०.३७ अङ्क घट्यो। फ्लोट इन्डेक्स ४.२२ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.५२ अङ्क घट्यो। आइतबार  १३ वटै उपसमूहको परिसूचक घट्यो। अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत घट्यो। लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घट्यो भने बैंकिङ्ग, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घट्यो।

नेप्से मात्रै हैन आइतबार कारोबार रकम पनि घट्यो। बिहीबार १५ अर्ब ९८ करोडको सेयर खरिदबिक्री भएकोमा आइतबार ३ सय १९ स्टकको १ लाख ५२ हजार ५ सय १८ पटकको कारोबारमा १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँ बराबरको ३ करोड २२ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भयो।

सेयरबारे जानकारहरूले बजार उकालिन कारोबार रकम कमसेकम ३० अर्ब माथि हुनुपर्ने बताइरहेका छन्। यस आधारमा आगामी दिन पनि नेप्सेको ओरालो यात्रा नरोकिने संकेत देखिन्छ।

बजार घटे पनि आइतबार ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य साढे ४ प्रतिशत बढ्यो। अन्य स्टकहरूको मूल्य वृद्धिदर ४ प्रतिशत तल नै रह्यो। सान्भि इनर्जीकाे शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो। 

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। हिमालयन रि इन्स्योरेन्सको साढे ७१ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। हिमालयन डिस्टिलरीको करिब ५९ करोडको सेयर कारोबार भयो। 

साउन १८, २०८२ आइतबार १६:५०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।