ह्रदयन्द्रको भ्लगले सञ्जालमा ल्याएको 'हाहाकार'

ह्रदयन्द्रको भ्लगले सञ्जालमा ल्याएको 'हाहाकार'

पूर्व राजसंस्थाको सदस्यका केही गतिविधि सार्वजनिक भयो कि सामाजिक सञ्जाल तातिहाल्छ। पक्ष-विपक्षमा स्वस्थ हैन उग्र, बहस पनि गालिगलौच नै सुरु हुन्छ। अहिले वर्तमान जीवित पूर्व राजसंस्थाका चौथो पुस्ता ह्दयन्द्र शाहको जुम्ला भ्रमण र भ्रमणसँगै बनेको भ्लगले यस्तै माहौल बनाएको छ सञ्जालमा। यसमा बहसको पक्ष कम, गालीको पक्ष ज्यादा देखिन्छ।

ज्ञानेन्द्र शाह अनि पारसप्रतिको नकारात्मक धारणा र छविका कारण ह्रदयन्द्रलाई ब्रान्डिङ गरेर राजसंस्थाको कालो इतिहास छोप्ने प्रयास जुम्लाबाट सुरु भएको हैन। कहिले हिमानी ट्रस्टको कार्यक्रम त कहिले धार्मिक कार्यक्रममा उपस्थित गराएर ह्रदयन्द्रको सार्वजनिक छवि निर्माणमा दरबारका सदस्य र शुभेच्छुक सक्रिय नै थिए। जुम्ला भ्रमण र भ्लग त्यही ब्रान्डिङ रणनीति अन्तर्गतकै उत्पादन हो। 

दरबारका सदस्य हिजोको सोचमा छैनन्, उनीहरू बदलिसके, नयाँ पुस्ताले दरबारमा बसेर राज गर्दैनन्, नागरिकको सुखदुखमा प्रत्यक्ष सहभागी हुन्छन् भन्ने सन्देशको मोडलसहित भ्लग बनेको देखिन्छ। संवाद, शैली, समेटिएका विषय पूर्व राज परिवारका सदस्यको बदलिएको छवि निर्माणको रणनीतिमै भ्लग बनेको देखिन्छ।

अन्तिम साससम्म राजकाजको आस हुनु अस्वाभाविक हैन। जब जब समाजमा असन्तोष बढ्छ, सङ्कट आउँछ पूर्व भइसकेको शक्ति आफूलाई विकल्पको रूपमा प्रस्तुत गरेर जन बलको आधारमा राजकाजमा फर्कने प्रयास गर्छन्। सम्भव भए राणा खलक राणाकाल फर्काउन लाग्थे। माओवादीको सामर्थ्यले सक्ने भए चीनको जस्तो एकदलीय कम्युनिष्ट शासन ल्याउने थिए। 

हालसालै इजरायल र इरानको द्वन्द्वको समयमा इरानमा पूर्व राजकुमार रेजा पहलवी यही मौकामा राजसंस्था फर्काउन जनमत निर्माणको प्रयास गरेकै थिए। सन् १९७९ मा भएको विद्रोहसँगै इरानमा राजसंस्था अन्त्य भएर इस्लामिक गणतन्त्र स्थापना भयो। राज परिवारका सदस्य देशमा बस्न नसकेर अमेरिका पुग्यो। रेजा त्यतै छन्।

जब इजरायलले इरानमा आक्रमण गर्यो उनले उतैबाट लोकतन्त्रको स्थापना र इस्लामिक सत्ताको अन्त्यका लागि सरकारलाई साथ नदिन सुरक्षाकर्मीलाई उक्साउँदै अभिव्यक्ति दिएका थिए। सेना राजसंस्था फर्काउन हैन इजरायललाई गतिलो जवाफ दिन केन्द्रित भयो।  जब अमेरिकाको पहलमा युद्ध विराम भयो रेजा मौन भइहाले।

नेपालमा सरकारमा जाने दलका जे जस्ता गतिविधि छन् तीनले नागरिक तहमा निराशा फैलाएको छ। नागरिक सुशासन, सुविधाका लागि विकल्पको खोजीमा छन्। तर विकल्प खोज्न अहिलेसम्म लोकतान्त्रिक माध्यमको प्रयोग भइरहेको छ। २०७९ को निर्वाचन परिणामले त्यसको संकेत गर्यो। अब २०८४ को पर्खाई छ।

यो निराशामा कतै आफू विकल्प बन्न सकिन्छ कि भनेर दलहरु सक्रिय छन्। २०७९ बाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी मात्र हैन सत्तामा रहेको एमालेदेखि प्रमुख प्रतिपीकक्षमा रहेको माओवादी केन्द्रसम्मले मिसन २०८४ भनिरहनुको कारण यही त हो। बिदा भएको राजतन्त्रका सदस्य र हिमायतीले कानुनको परिधीमा बसेर आश गर्नु अपराध हैन।

ह्रदयन्द्रले भ्लग बनाउँदा राजतन्त्र आउने भए पूर्णिका र कृतिकाले टिकटकमा नाचेको भिडियो राख्दा नै राजतन्त्र आउँथ्यो। त्यसैले दरबारका सदस्यहरु दरबारभित्रै नखुम्चिउन्। ह्रदयन्द्रले देश घुमुन्, अझै टन्न भ्लग बनाउन्। पूर्णिका र कृतिकाले नाच्न नलजाउन्।

घन्टीघर, एमाले र माओवादी मुख्यालयमा झैँ निर्मल निवासमा बसेर नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह पनि गणतन्त्रको विकल्प बन्ने रणनीतिमा छन्। त्यसकै लागि उनी कहिले दुर्गा प्रसाईँको साथ खोज्छन् त कहिले राप्रपा र राप्रपा नेपालको। तर असफल छन्।

तीनकुनेमा भएको विरोध प्रदर्शन होस् या राप्रपा र राप्रपा नेपालको केही दिने आन्दोलन होस् यी दुवैमा उहीँ इरानका निर्वासित राजकुमारकै शैलीमा सेना र सुरक्षाकर्मीलाई दलको विपक्षमा र राजसंस्था पुनर्स्थापनाको पक्षमा आउन आव्हान भएकै थिए। सेना तयार छ भन्नेसम्मका भ्रम फैलाएकै थियो।

दुर्गा प्रसाँई कारागार पुगे। राप्रपा र राप्रपा नेपालको आन्दोलन फिस्स भयो। राजतन्त्र फर्काउन बनेको समितिका नेता नवराज सुवेदीलाई सल्लाहकारबाट हटाएको विषयले राप्रपा अहिले आन्तरिक झगडा चर्किएको छ।

जति गरे पनि राजनीतिक अभ्यास र अराजकता फैलाएर राजसंस्थाको पक्षमा माहौल बनाउन असफल भएपछि राजतन्त्र फर्काउन चाहने समूह अब ह्रदयन्द्रको  सकारात्मक छवि निर्माण गरेर ब्रान्डिङको रणनीतिमा लागेको देखियो। जुम्ला भ्लग त्यसैको प्रारम्भिक अभ्यासको रूपमा बुझ्दा फरक पर्दैन।

जो कमजोर छ डराउने उहीँ हो। नागरिकमा आफूप्रति चरम असन्तुष्टि रहेकोबारे प्रमुख दलहरू जानकार छन्। जनमतमा बलिया देखिए पनि मनमा उनीहरू निकै कमजोर छन्। त्यसैले त निर्मल निवासमा ज्ञानेन्द्रले खोक्दा पनि उनीहरूले मन आत्तिहाल्छ। ह्रदयन्द्रको भ्लगमा आएको प्रतिक्रियाले त्यहीँ देखायो।

जनमत व्यवस्थाकै विकल्पको खोजीमा लागेका भए राप्रपा र राप्रपा नेपालको आन्दोलनको अवस्था यति बिजोग हुने थिएन। आन्दोलनले जन विद्रोहको आकार लिइहाल्थ्यो। यसले देखाउँछ, दल जति आत्तिए पनि जनमत गणतन्त्रको विकल्प खोज्ने चरणमा पुगेको देखिन्न। नागरिकले कि दल सुध्रिउन, नसुध्रिए विकल्प दलमै खोजिरहेका छन्। गणतन्त्रमा सत्ता सञ्चालक बदल्ने विकल्प निर्वाचनै हो। २०७९ मा त्यसको प्रयोग भयो। अब २०८४ पर्खिएर बसेका छन्।

पूर्व राजपरिवारका सदस्य निर्वासनमा हैन नेपालमै छन्। नेपालको कानुन मान्नु र अन्य नागरिक कानुनको उपभोग गर्नु उनीहरूको पनि हक हो। अन्यले ट्राभल भ्लग बनाउन कानुनले रोक्दैन भने ह्रदयन्द्रले भ्लग बनाउँदा यत्ति साह्रो आत्तिहाल्नु पर्ने कारण देखिन्न। जबसम्म कानुनले निषेध गरेको विषयमा प्रवेश गर्दैनन् तबसम्म उनी आफूलाई लागेको काम गर्न स्वतन्त्र छन्।

ह्रदयन्द्रको जुम्ला भ्लगलाई दरबारमा हुर्किएका नयाँ पुस्ता राजपरिवारका सदस्यको ह्याङबाट मुक्त भएर नागरिक बन्ने अभ्यासमा लागे भन्ने कोणबाट बुझ्दा पनि फरक पर्दैन। दलहरू मनको बाघको भयबाट मुक्त भए राम्रो।

ह्रदयन्द्रले भ्लग बनाउँदा राजतन्त्र आउने भए पूर्णिका र कृतिकाले टिकटकमा नाचेको भिडियो राख्दा नै राजतन्त्र आउँथ्यो। त्यसैले दरबारका सदस्यहरु दरबारभित्रै नखुम्चिउन्। ह्रदयन्द्रले देश घुमुन्, अझै टन्न भ्लग बनाउन्। पूर्णिका र कृतिकाले नाच्न नलजाउन्। यसरी नै त हो कुलिन शाषकको सदस्यबाट नागरिकमा रुपान्तरण हुने। 

साउन १८, २०८२ आइतबार १४:२७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।