विवाह गर्न र बच्चा जन्माउन उक्साइरहेका प्रधानमन्त्री, डराइरहेका युवा

विवाह गर्न र बच्चा जन्माउन उक्साइरहेका प्रधानमन्त्री, डराइरहेका युवा

५० को दशकसम्म ३ देखि ४ वटा सन्तान जन्मनु सामान्य थियो। जनसंख्या वृद्धिदर नै २०४८ मा औषत २.४५ प्रतिशत थियो। छोरी जन्मेको घरमा त झनै छोरा नजन्मिँदासम्म बच्चा जन्माइरहने प्रचलनै थियो। छोरा नजन्मिए पुरुषले सहजै अर्को विवाह गर्थे। त्यो समाजमा स्विकार्य थियो।

२०५० सालमा जनसंख्या वृद्धि भएर २.८६ प्रतिशतसम्म पुग्यो। जनसंख्या बढ्दै जाने देखिएपछि सरकारले परिवार नियोजनका अस्थायी साधनको निःशुल्क वितरण मात्रै गरेन ‘दुई सन्तान ईश्वरको बरदान’ भन्ने नारा रेडियो मार्फत फैलान थाल्यो। दम्पतीलाई अस्थायी साधन प्रयोग गर्न प्रोत्साहन र  दुई सन्तानपछि बन्ध्याकरण गर्न प्रोत्साहित गर्दै सरकारले गाउँगाउँमा विभिन्न कार्यक्रम गर्न थाल्यो। आमा र बच्चाको स्वास्थ्यका लागि दुई सन्तान उपयुक्त हुने, महिला सशक्तीकरण लागि पनि धेरै बच्चा जन्माउन नहुने प्रकारका सन्देश फैलाइए। 

सरकारले जनसंख्या घटाउन चाह्यो। महिलाहरू शिक्षित हुँदै गए अनि अस्थायी स्थायी परिवार नियोजनका साधन सहजै प्राप्त हुन थाल्यो। त्यसपछि जनसंख्या पनि घट्यो।

अहिले नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। जनसंख्या वृद्धिदर घटेर नै होला प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि राष्ट्रिय जनसंख्या दिवसको अवसरमा ‘२० वर्ष पुगेपछि विवाह गर्नुस्, तीन वटा बच्चा पाइहाल्नुस् अनि करियर बनाउन लाग्नुस्, बच्चा र करियर सँगै हुन्छ,’ भने।  

अहिले नेपालमा १६ देखि ४० वर्ष सम्मका युवा उमेर समूहको जनसंख्या ४२. ५६ प्रतिशत छन्।  यो जनशक्त्तिलाई उपयोग गर्न सके देश विकास हुन समय लाग्दैन तर नेपालले यो समूहको उपयोग गर्न सकिरहेको छैन। दैनिक २ हजार हारहारीमा युवाहरू खाडी मुलुक तथा अन्य देशमा काम गर्न र पढ्न गइरहेका छन्।  यता जनसङ्ख्या वृद्धिदर घट्दो  त छ नै प्रजनन् दर पनि घटिरहेको छ। 

जनसंख्या वृद्धिदर घटेको घट्यै

१८ औँ शताब्दीका अर्थशास्त्री थोमस म्याल्थसले जनसंख्या वृद्धि  खाद्यान्न उत्पादनभन्दा छिटो हुने भएकाले लामो समयसम्म गरिबी बढ्ने चेतावनी दिएका थिए। उनले जनसंख्या वृद्धिदर  ज्यामितिय दरमा बढ्ने र खाद्य उत्पादन ज्यामितिय दरमा नबढ्ने भएकाले जनसंख्या नियन्त्रण नगरे भविष्यमा खाद्यान्न अभाव हुने र भोकमरी बढ्ने बताएका थिए। उनले व्यक्तिले नियन्त्रण नगरे बाढी, पहिरो र अन्य महामारीले जनसंख्या घट्ने बताएका थिए।    

जनसंख्या बृद्धिमा अर्को चर्चित माल्थसको सिद्धान्त पनि छ। उनले यदि कृतिम रुपमा जनसंख्या नियन्त्रण नगरे प्राकृतिक प्रकोप, महामारी जस्ता गतिविधिले नियन्त्रणमा आउने बताएका छन्। उनले जनसंख्याको बृद्धि एक रेखिय हुन नसक्ने र यसमा उतारचढाव आइरहने बताएका छन्।

बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ मा २६ जुलाई प्रकाशित लेखमा माल्थसको सिद्धान्त पूरै सही नभए पनि जनसंख्या बढेसँगै उपभोग दर पनि बढेको साथै उनीहरूका सोच र सिर्जनशीलतामा पनि वृद्धि भएको बताएको छ। ‘नयाँ विचारहरूले उत्पादनमा उल्लेखनीय वृद्धि गर्यो। सँगै प्रजनन दरमा उच्च गिरावट आयो। जसले गर्दा प्रति व्यक्तिको आम्दानी बढ्न थाल्यो।’

महिलाहरूको पहुँचमा शिक्षा पुगेपछि प्रजनन् दर पनि घट्दै गएको  द इकोनिमस्टको दावी छ। यसलाई नेपालको सन्दर्भमा हेर्दा सन् २०२३ को तथ्यांक अनुसार नेपालमा महिलाको प्रजनन् दर १.९८ हो। अर्थात् नेपाली महिलाले औषत दुई वटा बच्चा जन्माउँछन्। जब की  १९९३ मा नेपाली महिलाले औषतमा ५ बच्चा जन्माउँथे। 

यस बीचमा नेपालीको प्रतिव्यक्ति आय बढ्यो। सन् १९९३ मा २ सय डलर भन्दा कम प्रतिव्यक्ति आय अहिले १५ सय डलर भन्दा माथि छ। त्यस्तै  महिलाको शैक्षिक स्तर बढ्यो। ८३ प्रतिशत पुरुष साक्षर हुँदा महिला ६९ प्रतिशत साक्षर छन्। त्यति मात्रै होइन पछिल्लो समय उच्च शिक्षाको लागि विदेश जाने अनि नेपालकै विश्वविद्यालयमा पढ्ने महिलाको जनसंख्या बढि छ।

विश्वविद्यालय अनुदान आयोग २०८१ को प्रतिवेदन अनुसार ४ लाख ९१ हजार २ सय ९९ विद्यार्थीमा २ लाख ८६ हजार ८ सय ५० छात्रा विद्यार्थी छन्। त्यस्तै पोखरा विश्वविद्यालयमा ३९ हजार ७ सय ८० विद्यार्थीमा २० हजार ६ सय ७८ छात्रा छन् भने काठमाडौँ विश्वविद्यालयमा २१ हजार ५३ विद्यार्थीमा ९ हजार ९ सय ५ त छात्रा मात्रै छन्।

केही विश्वविद्यालयको तथ्यांक हेर्दा मात्रै पनि छात्राको संख्या उच्च देखिन्छ। यसले के प्रष्ट पार्छ भने जति शिक्षा र आय बढ्दै गयो बच्चा पाउने दर पनि त्यसरी नै घट्दै जान्छ। जति धनी र शिक्षित हुँदै गयो जनसंख्या त्यति घट्दै जाने ‘द न्युयोर्क टाइम्स’ले केही दिन अघि प्रकाशित गरेको एक रिपोर्टमा उल्लेख गरिएको थियो। 

चीन र भारतमा  जनसंख्या घटाउन सरकारले दशकौं लामो नीतिहरू लागू गर्यो। यो नीतिमा चीन केही समय सफल त भयो तर अहिले चाहिनेजति जनसंख्या पनि नभएपछि सन्तान जन्माउन आफ्ना नागरिकहरूलाई प्रोत्साहन गर्दै छ। एक सान्तानको नीतिबाट हटेर दुई सन्तानमा गएको चीनले हिजो सन्तान जन्माउँदा दण्ड दिन्थ्यो। अब भत्ता दिने घोषणा गरेको छ।

विकसित देशहरूको प्रजनन दर १.२ देखि १.८ को बीचमा छ। जब की  ‘जनसंख्या स्थिर राख्न आवश्यक’ २.१ प्रतिशतको दर खाँचो पर्छ।  तर स्थिर राख्नै समस्या छ। यसले जति देश धनी हुन्छ, त्यति कम बच्चा जन्मिने देखायो। यसमा आधुनिक जीवनशैली, विवाह ढाँचाको परिवर्तन, महिलाको शिक्षा र रोजगारीमा बढ्दो पहुँच, गर्भ निरोधकका साधन, र स्मार्ट फोनको भूमिकाले समेत सन्तान जन्माउन नचाहेको हुन सक्ने बताइएको छ। 

कोही किन बच्चा जन्माउन चाहँदैन ? 

न्यूयोर्क टाइम्सका अनुसार विश्वमा पछिल्ला पचास वर्षमा  धेरै  सामाजिक-आर्थिक परिवर्तनहरू भए। जसले गर्दा आफ्नो जीवनका निर्णय स्वतन्त्र रूपमा लिन सक्ने बनायो। उहिले  गर्भपतन, गर्भ निरोधक, सम्पत्ति स्वामित्व जस्ता कुरामा महिलाहरू निकै कम थिए। कति बच्चा जन्माउने भन्नेमा महिलाहरूले निर्णय गर्न सक्ने अवस्था थिएन।

शिक्षा अनि रोजगारीले महिलाहरू आत्मनिर्भर भए। धेरै छोराछोरी जन्माउँदा ‘करियर’ नबन्ने देखियो। थोरै सन्तान जन्माए आफ्नो पनि भविष्य बन्ने अनि छोराछोरीलाई पनि राम्रो शिक्षा दिन सक्ने भए।

गरीब देशहरूमा छोराछोरी परिवारको लागि कामदार झैँ हुन्थे। घरायसी काममा उनीहरूले सघाउँथे। तर धनी देशहरूमा वृद्धवृद्धालाई सामाजिक सुरक्षा त भयो तर बच्चा हुर्काउने खर्च भने अझै परिवारकै काँधमा हुन्छ। आर्थिक भारका कारण बच्चा कम जन्मिन थाले।

प्रधानमन्त्रीले तीन सन्तान जन्माउनुहोस् भन्ने अभिव्यक्ति दिएपछि अधिकांश नागरिकले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीलाई प्रश्न गरे- ‘बच्चा पालिदिने हो ?’ यो प्रश्नले जनता आर्थिक रूपमा सचेत रहेको बुझ्न सकिन्छ। तर घरको जिम्मेवारीमा रहेको पितृसत्तात्मक सामाजिक संरचना नबदलिएसम्म नेपालको प्रजनन दर बढ्ने देखिंदैन।

केही अर्थशास्त्रीहरू महिलाले घर बाहिर काम गर्न थालेकाले नै जन्मदर घटेको बताउँछन् तर हार्वर्ड युनिभर्सीटीकी प्राध्यापक नोबेल पुरस्कार  विजेता अर्थशास्त्री क्लाउडिया गोल्डिनको अनुसन्धानले भने यो विचार अधुरो भएको देखाउँछ।

गोल्डिनको सन् २०२५ मा प्रकाशित ‘बेबिज एण्ड त म्याक्रो इकोनोमी’ जर्नल लेख अनुसार महिलाहरूले दोहोरो जिम्मेवारीका कारण बच्चाको संख्या घटेको हो। उनका अनुसार जापान, दक्षिण कोरिया, इटली जस्ता देशहरूमा महिलाहरू घरबाहिरको काममा जाँदा समेत पुरूषहरूले घरको काम गरेनन्। पुरूषहरूले घरको काम नगरेपछि महिलालाई बच्चा धेरै हुँदा दोहोरो जिम्मेवारी पर्ने भयो।

कोरियामा १९५० को दशकमा महिलाको औसत सन्तान संख्या ६ थियो। सन् २०२४ मा झरेर ०.७५ मात्र भयो। यसले पनि महिलाहरूले कामबाट मुक्ति पाउन पनि बच्चाको संख्या घटाएको देखिन्छ। अमेरिका, डेनमार्क, जर्मनी जस्ता देशमा आर्थिक विकास भयो। लैंगिक भूमिका पनि परिवर्तन हुँदै गयो अर्थात पुरूषहरूले पनि घरको काम गर्दै गए त्यसैले कोरियामा जस्तो तीब्र गिरावट भने आएन।

गोल्डिनको अनुसन्धानले  थप  के भन्छ ? 

गोल्डिनको अनुसन्धान अनुसार  विश्वभर नै प्रजनन् दर घटेको छ। यसमा एउटै कारण भने छैन।  युरोप, एसिया र उत्तर अमेरिकाका केही विकसित देशहरूमा त प्रजनन् दर सन् १९७० कै दशकमा २.१ भन्दा तल झरेको थियो। तर अन्य देशहरूमा भने घटेन। सन् १९९० पछि भने धेरै देशहरूमा प्रजनन् दरमा एक्कासि ठूलो गिरावट आयो।

यति धेरै फरक देखिनुको महत्वपूर्ण कारण आर्थिक विकास भएको गोल्डिनको अध्ययनले बताउँछ। दोस्रो विश्वयुद्ध पछिको समय सन् १९६० र ७० को दशकमा पहिले  प्रजनन् दर नघटेका देशहरूले तीव्र आर्थिक वृद्धि गरे। जसले गर्दा उनीहरूको प्रतिव्यक्ति आय तीब्र रूपमा बढ्यो । लामो समयसम्मको सुस्ताएको अर्थतन्त्र त बौरियो तर  नागरिकहरूको  सामाजिक मूल्य मान्यता रुढीवादी सोच आर्थिक वृद्धिदर जसरी तीब्र रूपमा भएको थियो हुन सकेन।

तीब्र आर्थिक परिवर्तनले महिलाहरू स्वतन्त्र हुन थाले जसको असर प्रजनन् दरमा देखियो। आधुनिक जीवनशैली, करियर प्राथमिकता, पारिवारिक संरचनाको पुनर्संरचना, र महिलाहरूको भूमिकामा आएको परिवर्तनजस्ता कारणले गर्दा बच्चा जन्माउने दर तीव्र रूपमा घट्न थाल्यो।

आर्थिक रूपमा सबल हुँदै गएपछि पुरुषहरूले महिलाहरू भन्दा धेरै बच्चा जन्माउन चाहन्छन्। पितृसत्तात्मक सोचाइ कायम रहेको  खण्डमा  आर्थिक रूपमा सबल भए पनि महिलाहरू धेरै बच्चा जन्माउन चाहँदैनन्।

यस्तो किन हुन्छ त गोल्डिनका अनुसन्धान अनुसार  पितृसत्तात्मक सामाजिक संरचनाले महिलाहरूलाई बच्चा हुर्काउने जिम्मेवारी दिन्छ। उनीहरूले करिअरमा सम्झौता गर्छन्, आम्दानी कम हुन्छ, आर्थिक रूपमा कमजोर बन्छन्।

सम्बन्धविच्छेद भएमा महिलाहरू र उनीहरूको बच्चाहरूलाई प्रत्यक्ष असर पर्छ। यस्तो जोखिम महिलाहरूलाई पहिले नै थाहा हुन्छ, त्यसैले उनीहरूले बच्चा नै नपाउने वा थोरै बच्चा पाउने निर्णय गर्छन्।

एउटा चर्चित भनाई छ ‘महिलाहरू कार्यालयको काम गरेर फेरि काममा जान्छन् तर अधिकांश पुरुषहरू कार्यालयको काम गरेर आराम गर्न जान्छन्’। प्रधानमन्त्रीसँग दोहोरो श्रमले थिचिएका महिलाहरूको ‘करियर’ र आर्थिक संकट टारिदिने के कार्यक्रम छ ?

गोल्डिनका अनुसार यदि पुरुषहरू (बुबा र श्रीमान) ले समय दिने र हेरचाह गर्ने ग्यारेन्टी भए महिलाहरूको बच्चा नपाउने  हिचकिचाहट हट्न सक्छ। तर यति ग्यारेन्टी दिन सक्ने ‘कमिटमेन्ट’ सजिलै सम्भव भने छैन।

उनका अनुसार विकसित पश्चिमा देशहरूमा पुरुषहरू पनि परिवार प्रति उत्तरदायी छन्। त्यसकारण यि देशहरूमा महिलाहरूको रोजगारी दर उच्च हुँदा पनि प्रजनन् दरमा एसियाली मुलुकहरूमा जसरी गिरावट आएको छैन। यदि एसियाली मुलुकहरूले जनसङ्ख्या स्थिर राख्न चाहने हो भने परिवारप्रति आफ्नो उत्तरदायित्व बढाउनु पर्छ।

यदि सामाजिक संरचना र सांस्कृतिक मूल्यहरू पनि सँगसँगै  बदलिएन भने जनसंख्या वृद्धिमा गहिरो असर पार्ने उनको अध्ययनको निष्कर्ष छ।

 के समाज बदल्न ओली तयार छन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला मन्त्री छैनन्। २२ मन्त्रीमा २ मात्रै महिला फूलमन्त्री छन्। उनकै सरकार भएको बेला बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दिप लामिछानेविरुद्ध मुद्दा नचल्ने निर्णय हुन्छ। २० वर्ष अघि नै विवाह गर्दा कानुन नलाग्ने ऐन प्रस्ताव हुन्छ। त्यति मात्रै होइन बहुविवाह गर्न मिल्ने कानुनको प्रस्ताव आउँछ। यस्ता घटनाक्रमले ओलीमा पितृसत्तात्मक सोच हावी भएको उनी निकट व्यक्तिहरू बताउँछन्।

हुन त २०७४ सालपछि मन्त्रिपरिषद् समावेशी नभएको भन्दै पार्टी भित्र महिला नेतृहरूले आवाज उठाउँदा प्रधानमन्त्री ओलीले ‘एनजीओको पैसा खाएर ट्याउँट्याउँ गरेको’ आरोप लगाएका थिए। त्यति मात्र होइन रास्वपाकी सांसद सुमना श्रेष्ठलाई लक्षित गर्दै ‘माइत आएको बेला मन्त्री’ भएको भनेर होच्याएका थिए।

बच्चा जन्माउन ‘निर्देशन’ दिने केपी ओलीको सरकारबाट सामाजिक संरचना परिवर्तन भएर महिलाहरूले ढुक्क भएर बच्चा जन्माउने अवस्था रहन्छ ? छोराछोरीको स्याहारसुसारको जिम्मेवारी महिलामा थोपर्ने समाज पुरूषहरूलाई पारिवारिक दायित्व बोकेर घरको काम समेत गर भन्न तयार छ ? 

एउटा चर्चित भनाई छ ‘महिलाहरू कार्यालयको काम गरेर फेरि काममा जान्छन् तर अधिकांश पुरुषहरू कार्यालयको काम गरेर आराम गर्न जान्छन्’। प्रधानमन्त्रीसँग दोहोरो श्रमले थिचिएका महिलाहरूको ‘करियर’ र आर्थिक संकट टारिदिने के कार्यक्रम छ ?

भर्खरै चिनिया सरकारले घट्दो जनसंख्यादरलाई बढाउन तीन वर्षभन्दा कम उमेरका प्रत्येक बच्चाका लागि अभिभावकलाई प्रति वर्ष ३ हजार ६०० युआन अर्थात् १५ सय अमेरिकी डलर प्रदान गराउने भएको छ। चिनिया सञ्चारमाध्यमका अनुसार यो योजनाले एक परिवारलाई अधिकतम तीन बच्चासम्मका लागि सहयोग गर्नेछ, जसअनुसार उनीहरूले वार्षिक १० हजार ८०० युआनसम्म प्राप्त गर्न सक्नेछन्।

दैनिक रोजीरोटीकै लागि लाखौँ युवा विदेश पलायन भइरहेको अवस्थामा प्रधानमन्त्रीले सार्वजनिक रुपमा ३ सन्तान जन्माउन अपिल नै गर्नुले आर्थिक तथा  सामाजिक संरचनाको ख्याल नै नगरी बोलेको प्रष्ट हुन्छ। 

प्रधानमन्त्रीले तीन सन्तान जन्माउनुहोस् भन्ने अभिव्यक्ति दिएपछि अधिकांश नागरिकले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीलाई प्रश्न गरे- ‘बच्चा पालिदिने हो ?’ यो प्रश्नले जनता आर्थिक रूपमा सचेत रहेको बुझ्न सकिन्छ। तर गोल्डिनले भने जस्तै पितृसत्तात्मक सामाजिक संरचना नबदलिएसम्म नेपालको प्रजनन दर बढ्ने देखिंदैन।

साउन १८, २०८२ आइतबार १५:१३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।