४० सालको काठमाडौंलाई सम्झाउने यो दृश्य जहाँ हुँदैछ ‘क्याप्टेन साब’को सुटिङ

४० सालको काठमाडौंलाई सम्झाउने यो दृश्य जहाँ हुँदैछ ‘क्याप्टेन साब’को सुटिङ

काठमाडौं : फिल्म ‘क्याप्टेन साब’को छायांकन काठमाडौंको तीनकुनेमा सुरू भएको छ। चलचित्रको कथा २०३०-४० को दशकमा आधारित भएकाले त्यही समयको झल्को दिने विशेष सेट तयार पारिएको छ।

सेटमा पुराना ढाँचाका सेता घरहरू, त्यही समयको पहिरनमा सजिएका मानिसहरू, सडकमा पुराना गाडी, खर्पन र डोकोमा सामान बेच्ने दृश्य देखिन्छ। सबै कुरा ३०-४० को दशकको काठमाडौं जस्तो देखिने गरी तयार गरिएको निर्देशक दीपेन्द्र के खनालले बताए।

‘काठमाडौंको व्यस्त सहरमा हामी दर्जनौँ पक्की नयाँ घर त बनाउन सक्दैनौँ। त्यसैले ३० र ४० को दशकको फिल आउनेगरी घरको कलर गरेका छौँ,’ निर्देशक दीपेन्द्र के खनालले भने, ‘त्यो बेलाको काठमाडौं कस्तो थियो भन्ने देखाउन त्यही अनुसारको कष्ट्युम डिजाइन गरेका छौँ।’ चिट गरेजस्तो नदेखिने गरी काम गरिएको उनले बताए।

सेटको तस्बिरमा एकै खालका सेता र पुराना घर, सडकमा पुराना सवारी साधन, खर्पन र डोकोमा ब्यापार गरिरहेका नेवार समुदाय, सडकमा रहेका व्यक्तिको कष्ट्युम पनि ३० र ४० को दशकका मानिसले पहिरिने पहिरन जस्तै देखिएको छ।

‘जुन कालखण्डको कथा हामी भन्दैछौँ, त्यही समय देखाउने हाम्रो प्रयास हो। हाम्रो बजेट र शिल्पले भ्याएसम्म हामीले गर्ने प्रयास गरिरहेका छौँ,’ निर्देशक खनालले भने, ‘त्यसैले हामी सेट लगाएर काम गरिरहेका छौँ।’ 

यो फिल्म पाइलट, व्यवसायी र सञ्चार उद्यमी रामेश्वर थापाको जीवनमा आधारित बायोपिक हो। चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइलीको मुख्य भूमिका रहेको छ।

छायांकन काठमाडौंसँगै काभ्रेको धुमखर्क, बेथानचोक, चितवन र वीरगञ्जमा पनि गरिने बताइएको छ। फिल्मको निर्माण दीपेन्द्र के खनाल, करण श्रेष्ठ र श्रृष्टिमा खनालले गरेका छन्। कार्यकारी निर्मातामा सिर्जना नापित छिन्। कथा लेखन तथा निर्देशन खनालकै हो भने छायांकन कृष्णबहादुर थापाले गरिरहेका छन्।

साउन १८, २०८२ आइतबार १३:१४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।