महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच क्रस बोर्डर बैंकिङ्ग सेवाको लागि समझदारी

काठमाडौं : महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच सीमा-पार बैंकिङ्ग सेवा विस्तार गर्न समझदारी भएको छ। अब भारतबाट नेपालमा सजिलै र सुरक्षित रूपमा भुक्तानी गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याउने लक्ष्यसहित दुवै बैंकबीच सहकार्य सुरु भएको हो।
यो प्रणालीमार्फत महालक्ष्मी विकास बैंक भारतबाट नेपालमा भुक्तानी सेवा सञ्चालन गर्ने पहिलो विकास बैंक बनेको छ। दुवै बैंकले आवश्यक प्रविधिगत र प्रक्रियागत तयारी पूरा गरी परीक्षण कारोबार समेत गरिसकेका छन्।
समझदारीअनुसार महालक्ष्मी विकास बैंकले एचडीएफसी बैंकको अत्याधुनिक क्यास म्यानेजमेन्ट सिस्टम अन्तर्गत चेक कलेक्सन र इलेक्ट्रोनिक भुक्तानी सेवा उपलब्ध गराउनेछ। यसबाट भारतमा रहेका व्यक्ति वा संस्थाले एनइएफटी, आरटीजीएस तथा अन्य डिजिटल माध्यम प्रयोग गरी नेपालमा महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम पठाउन सक्नेछन्। साथै भारतका अन्य बैंकमा रहेको चेक जम्मा गरेर पनि नेपालमा रकम पठाउन सकिनेछ।
बैंकले यस सम्झौतासँगै नेपाल-भारतबीचको बैंकिङ्ग सम्बन्ध थप सुदृढ हुने, रेमिट्यान्स तथा सीमा-पार व्यापारमा संलग्न ग्राहकहरूलाई सहज, प्रभावकारी तथा प्रविधिमैत्री सेवा उपलब्ध हुने विश्वास लिएको छ।
हालै महालक्ष्मी विकास बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको थियो। "सबल बैंक, सफल सहकार्य" नाराका साथ बैंकले हाल देशभर १०३ शाखा र करिब ८ लाख ग्राहकलाई सेवा दिँदै आएको छ।
साउन १८, २०८२ आइतबार १२:४७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।