पहाडलाई तराई जोड्ने ‘लाईफलाइन’ पाल्पा-बुटवल सडक जोखिमयुक्त, पहिरो र खाल्डाले यात्रु हैरान

पहाडलाई तराई जोड्ने ‘लाईफलाइन’ पाल्पा-बुटवल सडक जोखिमयुक्त, पहिरो र खाल्डाले यात्रु हैरान

बुटवल : पहाड र तराईलाई जोड्ने ‘लाईफलाइन’ मानिने पाल्पा-बुटवल सडकखण्डमा जोखिम बढ्दै गएको छ। वर्षायाम सुरू भइसकेपनि यो वर्ष खासै पानी परेको छैन। तर पनि सिद्धार्थ राजमार्ग अन्तर्गतको यो सडकखण्ड भएर यात्रा गर्न जोखिमपूर्ण बन्दै गएको छ।

प्रत्येक वर्ष गरिने मर्मतका कामले कतिपय ठाउँमा सडक धुजा-धुजा परेको छ भने कतै सडक नै भासिएको छ। नियमित मर्मत तथा सुधारमा निर्माण व्यवसायीले समयमा काम नगर्दा जोखिम झनै बढेको छ।

गत वर्षको वर्षा सुरु हुनुअघि नै भासिएको चर्चरे क्षेत्रमा अहिलेसम्म निर्माण सम्पन्न भएको छैन। सडक भासिएपछि सो क्षेत्रमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ। ओभरलोडका कारण जुनसुकै बेला फेरि सडक भासिने जोखिम छ।

ठेक्का पाएको ७ महिनासम्म काम नगरेपछि जिल्ला प्रशासनको रोहवरमा सडक डिभिजन कार्यालय पाल्पाले पहिरो क्षेत्रमा त्रिपाल लगाएर थप क्षति रोक्ने प्रयास गरेको थियो। निर्माण व्यवसायीले पहिरो नियन्त्रणमा काम नगरेकाले ठूलो दुर्घटनाको जोखिम अझै कायमै रहेको स्थानीय दीपक पौडेल बताउँछन्।‘चर्चरे मात्र होइन, अरु ठाउँमा पनि सडकमा खाल्डाखुल्डी छन्, जसले दुर्घटनाको जोखिम बढाएको छ,’ पौडेलले भने।

सम्झौता भए पनि काम अधुरै

चर्चरे पहिरो गएको ठाउँमा पर्खाल निर्माणका लागि गत वर्ष नै काम थालिएको भए पनि सम्झौता अनुसार निर्माण व्यवसायीले काम पूरा गरेका छैनन्। १५ असार २०८२ भित्र टेवा पर्खाल निर्माणका लागि २०८१ मंसिरमा सडक डिभिजन कार्यालयसँग भगवती कन्ट्रक्सन बुटवलले १ करोड ३१ लाख ६९ हजार १ सय ८८ रुपैयाँमा सम्झौता गरेको थियो।

यसअनुसार राजमार्गका ६ स्थानमा ढलानसहित चर्चरेमा टेवा पर्खाल निर्माण गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले सजिलो क्षेत्रमा मात्र ढलान गरेका छन्। चर्चरेमा भने विभिन्न बहाना बनाएर काम रोकेको पाइन्छ। जेठ महिनामा केही काम गरिएको भए पनि असारपछि निर्माण पूर्ण रूपमा रोकिएको छ।

डिभिजन सडक कार्यालयका अनुसार झुम्सा, पानीमिल, सिसुवा, केराबारी र कालीमाठीमा ढलानको काम गरिएको भए पनि चर्चरेमा भु-बनोट जटिल भएको कारण ढिलाइ भएको हो। ‘हालको वर्षायामका कारण काम रोकिएको छ, तर दशैं-तिहार भित्र टेवा पर्खालको काम सम्पन्न गर्नेगरी निर्माण व्यवसायीसँग सहमति भएको छ,’ सूचना अधिकारी दुर्गा गौतमले बताए।

दुई महिना पनि टिक्दैन कालोपत्रे

सडक खण्डमा ठूला खाल्डाखुल्डी छन्, जसले सवारी दुर्घटनाको जोखिम बढाएको छ। राजमार्गका खाल्डा पुर्नका लागि सडक डिभिजन कार्यालयले मर्मत नगरेको गुनासो छ। कतिपय स्थानमा केही महिना अघिमात्र कालोपत्रे गरिएको भए पनि ती दुई महिना नपुग्दै भत्किएका छन्।

जरेपिपल, डुम्रेबजारलगायतका स्थानमा दुई महिना अघिमात्र एभी बिल्डर्स एन्ड सप्लायर्स काठमाडौंले कालोपत्रे गरेको थियो। तर अहिले ती ठाउँ ठूला खाल्डामा परिणत भएका छन्।

कम्पनीले ९७ लाख ६५ हजार ७ सय ७३ रुपैयाँमा २०८१ मंसिर २८ गते ठेक्का सम्झौता गरेको थियो।

स्थानीय शंकर भट्टराईका अनुसार निर्माण व्यवसायीले गुणस्तरीय काम नगर्नु, सडक डिभिजन कार्यालयको कमजोर अनुगमन, र दुवै पक्षको मिलेमतोले गर्दा कालोपत्रे छिट्टै भत्किने गरेको हो। 

चौतर्फी गुनासोपछि निर्माणमा प्रयोग भएको सामग्रीको परीक्षणका लागि पुनः ल्याबमा पठाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।

पुनः मर्मतका लागि निर्माण व्यवसायीलाई पत्राचार गरिएको र काम गर्ने प्रतिबद्धता आएको सडक साइड इञ्चार्ज इन्जिनियर दीक्षा बस्यालले जानकारी दिइन्।

सडक क्षेत्रमा स-सानो समस्या देखिनासाथ मर्मत गर्न सकेमा खर्च कम लाग्ने र सवारी यात्रा पनि सुरक्षित हुने स्थानीयको भनाइ छ। तर सम्बन्धित कार्यालयहरू साना समस्यालाई बेवास्ता गर्ने र ठूलो समस्या भएपछि मात्रै चासो देखाउने प्रवृत्तिले खर्च पनि धेरै लाग्ने र यात्रा पनि जोखिमपूर्ण बन्दै गएको छ। 

साउन १८, २०८२ आइतबार ११:११:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।