वर्षाले किसानलाई राहत

धनुषा : लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत भएको छ।
पानी नपर्दा रोपेका खेतमा धाँजा फाटेका र बीउ सुक्न लागेको अवस्थामा शुक्रबार बेलुकादेखि वर्षा भएपछि किसानलाई राहत भएको हो। क्षीरेश्वरनाथ नगरपालिका-४ हरैयाका किसान दिपो यादवले रोपाइँको बेला वर्षा नहुँदा समस्या भएकामा हाल केही राहत भएको बताए।
धनुषामा ४८ हजार सात सय ६० हेक्टर जमिन धानखेती योग्य भएकामा पछिल्लो समय ४२ हजार हेक्टरमा मात्र खेती हुने गरेको छ। कृषिज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवका अनुसार ६५ प्रतिशत खेतमा आकाशेपानीको भरमा धानखेती हुँदै आएको छ। शुक्रबारदेखि पानी परेकाले अब रोपाइँमा सुधार हुने उनले बताए।
जिल्ला समन्वय समिति धुनषाका पूर्वसभापति रहेका ६५ वर्षीय रामदेव यादवले पछिल्लो समय धानखेती महँगो भएको र त्यसमा पनि मौसम चुनौतीपूर्ण रहेको बताए। धानखेती महँगो भए पनि लागतअनुसार उत्पादन र त्यसको बजार मूल्यसमेत पाइने नगरेको उनको गुनासो छ।
जिल्लामा करिब सात लाख जनसङ्ख्या रहेकामा त्यसमध्ये ७० प्रतिशत किसान धानखेतीमा संलग्न छन्। कृषि जनगणना २०७८ अनुसार जिल्लामा विस्तारै धानखेती घट्दै गएको छ।
जिल्लाको १८ पालिकामध्ये गणेशमान चारनाथ, मिथिला र क्षीश्वरनाथ नगरपालिका तथा बटेश्वर गाउँपालिकाबाहेक १४ स्थानीय तहका किसानले व्यावसायिक रुपमा धानखेती गर्दै आएका छन्।
साउन १७, २०८२ शनिबार २१:४१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।