विवादमा पनि कसरी सम्हालिएको छ अभिनेत्री वर्षाको मन ?

काठमाडौं : नेपालको कला क्षेत्रमा लाग्ने अनि विवादमा नआउने? अंह यो त सम्भवै छैन। जोडिइरहनु पनि पर्दैन। एक पटक जोडिए मात्र पुग्छ विवादका लागि नत्र सुस्मा कार्कीले कति भयो अभिनय नगरेको? निर्माता वा निर्देशक प्रेमी नहुँदा अभिनयको अफर नआएको भनेर टिकटमा दाबी गर्छिन्। बेला बखत अस्ट्रेलिया पुगेर चटपट बेचेर पनि बस्छिन्। तर विवादमा आउनेक्रम हराएको छैन।
अब वर्षा सिवाकोटी त अभिनयमै सक्रिय छिन्। उनको अभिनय रहेको फिल्म माग्ने राजा रिलिजको संघारमा छ। टिमका अन्य कलाकारसँगै वर्षा पनि स्वाभाविकै रूपमा प्रचारमा व्यस्त छिन्। फिल्मको प्रचारमा जाँदा कसैले प्वाक्क एउटा प्रश्न सोधिदिन्छ। मनमा लागेको उत्तर दियो विवाद सुरु भइहाल्छ। नबोलौँ अभिनेत्रीले जवाफ दिन सकिनन् भनेर पनि विवाद सुरु भइहाल्छ। त्यसैले नै भनिएको होला बोले पनि सुख छैन, नबोले पनि सुख छैन।
यो बिचमा वर्षा त्यति धेरै विवादमा आएकी भने छैनन्। बिचमा आएको विवाद भनेको त्यही रुन पनि नजान्ने कलाकार भएर पुरस्कारबारे आलोचना गर्ने भन्ने पाराको ओठे कमेन्ट्रीको जवाफ मात्रै हो। भाइरल कन्टेन्ट खोज्दै गीतदेखि प्रोमोसम्मको रिलिज नछाड्ने समूहले तपाईँलाई त रुन पनि आउँदैन रे नि भनेर सोधेपछि उनले व्यङ्ग्यमा आफू त जन्मँदा पनि हाँस्दै जन्मिएको अनि अहिले रुने अभ्यास गर्दै हरेक दिन ती कमेन्टेटरलाई भिडियो पठाउने सोचमा रहेको भनेर जवाफ दिइन्। केही दिनलाई नेपाली सिने बजारका लागि मसला पुग्यो। धन्न यो ६१ लाखको फन्डा झैँ लामो गएन। सेलाइहाल्यो।
प्राय छुच्चो उत्तर दिनबाट पन्छिने छवि बनाएकी वर्षाको त्यो जवाफ भने रमाइलो थियो। भनिन्छ नि जस्तालाई त्यस्तै। राष्ट्रिय चलचित्र पुरस्कारको सूचीमा महिला कलाकारको न्यून सङ्ख्यालाई औँल्याउँदै उनले सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेकी थिइन्। पुरस्कृतको सूची प्रश्न लायक थियो। प्रश्न लायक विषयमा प्रश्न उठाउँदा कसैले कार्यक्रममा ओठे व्याख्या गर्छ भने किन चुप लाग्नु। उनले पनि उस्तै शैलीमा जवाफ दिइन्। ठिकै गरिन्।
मन अशान्त भयो भने सबैभन्दा उत्तम विकल्प भनेको कि ध्यान किन व्यायाम हो। मनोचिकित्सकले मनलाई शान्त बनाउने हो भने कसरत गरेर ज्यानलाई हल्का दुख दिनु भन्छन्। वर्षा किन हिजोआज सम्हालिएर बोल्न थालिन्? उनी शान्त बस्नुको कारण के रहेछ भन्ने उनी आफैँले खुलाइन् सामाजिक सञ्जालमा। तर बोलेर हैन है देखाएर।
केही दिन अगाडि उनले सामाजिक सञ्जालमा राखेको तस्बिरले मनलाई शान्त बनाउन हिजोआज ज्यानलाई दुख दिन थालेको देखियो। व्यायामशालामा व्यायाम गर्दै खिचिएका तस्बिरमा उनी शान्त देखिएकी छिन्। ज्यान चङा नै देखियो। त्यसै चिकित्सकले भनेको हो र 'मन शान्त राख्ने हो भने ज्यानलाई हल्का दुख दिनु' भनेर।
साउन १७, २०८२ शनिबार २०:२५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।