प्रचण्ड र जनार्दनको विवादमा वर्षमानले भने ‘कसैले चाहँदैमा पार्टी छाडेर जान पाउँदैनन्’

प्रचण्ड र जनार्दनको विवादमा वर्षमानले भने ‘कसैले चाहँदैमा पार्टी छाडेर जान पाउँदैनन्’

काठमाडौं : माओवादी केन्द्रभित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच विवाद चुलिइरहेको बेलामा अर्का उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी छाडेर कोही पनि भाग्न नपाउने तर्क गरे।

पार्टी सञ्चालन विधिबारे सार्वजनिक मञ्चहरूमा असन्तुष्टि व्यक्ति गरेको भन्दै अहिले प्रचण्ड र शर्माको सम्बन्ध तितो बनिसकेको छ। यो बिचमा प्रचण्डले शर्मालाई पटक-पटक पार्टी छाडेर जान भनेको समेत सार्वजनिक भएको छ।

 पार्टीको जारी रहेको स्थायी समिति बैठकमा प्रचण्डले पार्टीप्रति असन्तुष्टि भए सार्वजनिक मञ्चमा नभई पार्टीभित्र छलफल गर्नुपर्ने बताएका थिए। प्रचण्ड निकटका नेता पुनले शनिवार पार्टी भित्र उत्पन्न समस्या समाधानका लागि जारी जनवादी ढङ्गले छलफल चलिरहेको दाबी गरे।

पुनले माओवादी नेताहरूले व्यवस्था परिवर्तनका लागि भएको १०औँ हजारको बलिदान, लाखौँ योद्धा र जनताको त्याग तथा समर्पणको जिम्मा लिनुपर्ने भन्दै कोही पनि भाग्न नपाउने दाबी गरे।

‘नेताहरूलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न पाउने अवस्था छैन,’ पुनले भने ‘इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन सक्दैनन्।’

उनले अरू पार्टीका नेताहरूजस्तो हिँड्छु भनेर हिँड्न पाउने, बोल्छु भनेर बोल्न पाउने र गर्दिन भनेर गर्न नपाउने ठाउँमा नभएको उनको तर्क थियो। उनले जारी बैठकले पार्टीलाई एकताबद्ध गरेर विधिसम्मत ढङ्गले अघि बढाउने दाबी समेत गरे।

अध्यक्षसहित नेताहरू कमजोरी र आलोचनाभन्दा माथि नभए पनि आलोचना मैत्रीपूर्ण वातावरणमा नभए त्यसले रूपान्तरणमा सहयोग नगर्ने बताए। सत्तासीन दल र माओवादीका दुस्मन शक्तिहरूले टुटफुट र विभाजनमा लैजान कोसिस गर्न सक्नेतर्फ सचेत हुनुपर्ने उनको तर्क थियो।

साउन १७, २०८२ शनिबार १९:३९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।