काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा, प्रारम्भिक चरणमा निःशुल्क सेवा दिने

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा, प्रारम्भिक चरणमा निःशुल्क सेवा दिने

काठमाडौं : केही समययता स्थगनमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। 

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक कार्यक्रमबीच अस्पतालको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै मन्त्री थापाले अस्पतालको पुनः सञ्चालन स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक र स्वागतयोग्य पहल भएको बताए। उनले गुणस्तरीय, सुलभ र जनउत्तरदायी सेवा प्रवर्द्धनमा बागमती प्रदेश सरकार सधैं साथमा रहने प्रतिबद्धता जनाए।


अस्पतालका सञ्चालक समूहले सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा दिने घोषणा गरेको छ। 

त्यसैगरी, २४ घण्टा आपतकालीन सेवा सहित एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स–रे र फिजियोथेरापी सेवामा छुट दिइनेछ। अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध छ, जसले थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

अस्पतालका अध्यक्ष बसुरुद्दिन अन्सारीले उद्घाटन कार्यक्रममा बोल्दै पुनः सञ्चालनलाई ‘हर्षको र ऐतिहासिक दिन’  भने। 

सीईओ जहाँगिर अन्सारीका अनुसार काठमाडौंको केन्द्रमै रहेको अस्पतालले सस्तो, सुलभ र गुणस्तरीय सेवा दिने लक्ष्य लिएको छ। 

अस्पताल व्यवस्थापक दिलिप साहले पनि पुनः सञ्चालनलाई नागरिकको विश्वास जित्ने अवसरको रूपमा व्याख्या गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। 
 

साउन १७, २०८२ शनिबार १७:२६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।