तिलोत्तमा पार्कमा एनएमबि बैंकको वृक्षारोपण अभियान, दुई सय फलफूलका विरुवा रोपिए

रुपन्देही : एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ स्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा ड्र्यागन फ्रुट, अम्बा, आँप, लिची, कटरलगायत करिब दुई सय वटा फलफूलका विरुवा रोपिएको बैंकले जनाएको छ।
वृक्षारोपण कार्यक्रमको सुरुवात एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले गरेका थिए। उनले वातावरण संरक्षण र दिगो विकासलाई प्राथमिकतामा राखेर एनएमबि बैंकले विभिन्न पहल गर्दै आएको बताए।
‘जलवायु परिवर्तनबाट हुने नकारात्मक असर कम गर्न सातै प्रदेशमा वृक्षारोपण र सरसफाइ अभियान चलाइरहेका छौं,’ घिमिरेले भने, ‘हामीले हरित अर्थतन्त्र अर्थात् ‘ग्रिनोमिक्स’ लाई आत्मसात गर्दै वातावरणमैत्री, दिगो र समावेशी विकासमा प्राथमिकता दिएका छौं।’
कार्यक्रममा तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकलाई धन्यवाद दिँदै निरन्तर सहकार्यको अपेक्षा राखे। ‘तिलोत्तमा पार्कलाई हराभरा बनाउने अभियानमा बैंकको साथ प्रशंसनीय छ,’ उनले भने।
त्यसैगरी, तिलोत्तमा पार्कका अध्यक्ष दीपक पाठकले पार्कलाई नगरको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित आफूहरू अघि बढेको बताए।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।
साउन १७, २०८२ शनिबार १७:०६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।