सीप सिकेर मात्र विदेश जान विज्ञहरूको सुझाव

सीप सिकेर मात्र विदेश जान विज्ञहरूको सुझाव

काठमाडौं : वैदेशिक रोजगारीमा जाँदा सीपयुक्त भएर मात्र जानुपर्ने विज्ञले बताएका छन्। क्यानडामा रोजगारीका सम्भावनाका विषयक एक छलफल कार्यक्रममा आफ्ना धारणा राख्दै क्यानडास्थित सेन्टेनियल कलेजका प्राडा तुलसी धरेलले सीप भए जुनसुकै ठाउँमा पनि जिन्दगी सहज हुने बताए।

उनले सीप नजानेमा कहीँ पनि अवसर नपाइने उल्लेख गर्दै सीपयुक्त भएर विदेश जाँदा दुःख नपाइने बताए। विगत २५ वर्षदेखि क्यानडाको कलेजमा अध्यापन गराउँदै आएका डा धरेलले क्यानडा लगायत विश्वका अधिकांश पश्चिमा मुलुकहरूमा दक्ष जनशक्तिको खाँचो रहेको र त्यसमा पनि स्वास्थ्य क्षेत्रका जनशक्तिको माग बढी भएको बताए।

उनले भने, ‘झन्डै एक लाखजति नेपालीहरू रहेको अनुमान गर्न सकिन्छ। रोजगारी, रेष्टुरेन्ट व्यवसाय, घरजग्गा कारोबार, सौन्दर्य पेसा आदिमा नेपालीहरू काम गरिरहेका छन्। नेपालको शिक्षाको स्तर राम्रो छ त्यसैले पनि दक्ष जनशक्ति त्यहाँ जाँदा काम नपाउने भन्ने हुँदैन।’ 

क्यानेडियन मार्केटिङ एसोसिएसनका काउन्सिल सदस्य समेत रहेका डा धरेलले नेपालीहरू उच्च स्तरको पेसामा काम गरिरहेको बताउँदै क्यानडा केही वर्ष यता रोजगारी तथा अवसरको राम्रो गन्तव्य बनेको बताए।

उनले दक्ष जनशक्ति विदेश पलायन भए भनेर नकारात्मक धारणा पाल्न नहुने बताए। ‘दक्ष जनशक्तिलाई पठाउनुपर्छ। जीवनस्तर पनि उकासिन्छ र राष्ट्रको पनि इज्जत बढ्छ। दक्ष जनशक्तिलाई विदेश पठाउनुहुन्न भनेर नकरात्मक सोच राख्नुहुन्न’, उनले भने। 

साउन १७, २०८२ शनिबार १६:११:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।