कांग्रेस हार्नुको कारण कांग्रेस नै हो, देउवा गठबन्धनको साँघुरो घेरामा सीमित हुनुभो : शेखर कोइराला

कांग्रेस हार्नुको कारण कांग्रेस नै हो, देउवा गठबन्धनको साँघुरो घेरामा सीमित हुनुभो : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको गहिरो गुटबन्दी र प्रतिशोधको राजनीतिले कांग्रेसलाई निर्वाचनमा निरन्तर कमजोर बनाइरहेको बताएका छन्।

साथै, उनले पार्टी सभापति शेरबहादुर देउवा देशको अभिभावक बन्नुको सट्टा केवल सत्ता गठबन्धनको साँघुरो घेरामा सीमित भएको भन्दै कडा आलोचना गरेका छन्।

विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै डा. कोइरालाले कांग्रेसको पराजयको मुख्य कारण अन्य पार्टी नभई स्वयं कांग्रेसकै नेता-कार्यकर्ता भएको दाबी गरे।

‘पार्टीको आन्तरिक चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र संघको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति कांग्रेसभित्र घातक क्यान्सर जसरी बढेको छ,’ उनले भने, ‘कांग्रेसले कांग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा कांग्रेसले हार्दैन।’

आफू देश दौडाहामा जाँदा जताततै कांग्रेस नै देखे पनि चुनावी नतिजा ठीक उल्टो आउने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘मलाई अचम्म लाग्छ, संगठन र क्रियाशील सदस्यका हिसाबले सबैभन्दा बलियो भएको वडादेखि संसदीय क्षेत्रसम्म कांग्रेस हारिरहेको हुन्छ । यो सबै कांग्रेसले कांग्रेसलाई भोट नदिएकै कारणले हो।’

उनले यसरी आफ्नैलाई हराउँदा अन्ततः कांग्रेसकै कार्यकर्ताले दुःख पाउने र अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिकहाँ जाँदा आफूले समेत अपमान (ह्युमिलेसन) महसुस गरेको अनुभव सुनाए।

‘सभापति देशको नेता बन्नुहोस्, गठबन्धनको मात्र होइन’
नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति पनि असन्तुष्टि पोखे। देउवालाई देशकै सबैभन्दा वरिष्ठ नेताको संज्ञा दिँदै उनले सबै दलका नेतालाई बोलाएर राष्ट्रिय मुद्दामा छलफल गर्ने अभिभावकीय भूमिका निर्वाह गर्न पटक-पटक सुझाएको बताए।

‘मैले सभापतिलाई पटक-पटक भनेँ, तपाईं कांग्रेसको मात्रै होइन, देशैको नेता हो। तपाईंजतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन,’ कोइरालाले भने, ‘तपाईंले सबै दलका नेतालाई घरमै चियामा बोलाएर देश विकासबारे छलफल गर्नुहोस्। तर उहाँ गठबन्धनबाहेक अरूसँग भेट्नै नहुनेजस्तो गर्नुहुन्छ। एमालेसँग गठबन्धन छ भने एमालेसँग मात्रै भेट्ने, माओवादीसँग छ भने माओवादीसँग मात्रै । म यो मान्यता राख्दिनँ।’

आफ्नो भेटघाटबारे स्पष्टीकरण
हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटबारे चलेका हल्लाहरूको खण्डन गर्दै कोइरालाले त्यसको कारण पनि खुलाए।

उनले भने, ‘मैले प्रचण्डजीलाई सोधें- तपाईं सत्तापक्ष हो कि प्रतिपक्ष? उहाँले प्रतिपक्ष भन्नुभयो। तर मैले भनेँ- तपाईंहरूको व्यवहार सत्तापक्षको जस्तो देखियो, अहिले त वास्तविक प्रतिपक्षी रास्वपा मात्रै हो कि जस्तो छ, उनीहरू सत्तासँग भिडिरहेका छन्। तपाईंहरू त हामीसँगै बसेर छलफल गरेपछि कसरी प्रतिपक्ष हुनुभयो?’

त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीसँगको भेट सामान्य र विगतका कुरामा केन्द्रित रहेको बताउँदै उनले भने, ‘उहाँले विराटनगरको राजनीति र विगतका कुराहरू सम्झिनुभयो। तर बाहिर सरकार गिराउन र शेरबहादुरजी विरुद्ध जान लाग्यो भनेर हल्ला चलाइयो, त्यस्तो केही होइन।’

आफू प्रतिपक्षमा हुँदा केपी ओलीलाई समेत घरमै गएर भेट्ने गरेको स्मरण गर्दै उनले राजनीतिक संवादलाई साँघुरो बनाउन नहुनेमा जोड दिए।

साउन १७, २०८२ शनिबार १३:४८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।