डा. नारायणको उपचार अनुभव : र्याल चुहाउँदै बाङ्गो अनुहार अस्पताल पुगेकी ती महिला हाँस्दै घर फर्किँदा...

डा. नारायण श्रेष्ठ आयुर्वेद चिकित्सक हुन्। उनले आयुर्वेद क्षेत्रमा काम गर्न थालेको करिब तीन दशक र आयुर्वेद चिकित्सकको रूपमा काम गर्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ। उनै डा. नारायणले आफ्नो चिकित्सकीय पेशाको सिलसिलामा देखेभोगेका अनुभवहरू उकेरासँग साटेका छन्:
मुख बाङ्गिएर र्याल चुहाएकी ती महिलाको अनुहार सोझिएपछि...
आयुर्वेदिक चिकित्सकीय पेशाको शिलशिलाको एउटा घटना डा. नारायण कहिल्यै भुल्दैनन्। घटना केही समयअघिको हो।
करिब ४० वर्षकी एक महिलालाई उच्च रक्तचापका कारण पक्षघात भएछ। पक्षघातले गर्दा ती महिलाको एकापट्टिको गाला र मुख बाङ्गिएर अर्कोतर्फ फर्किएको थियो। मुख बाङ्गिने यस समस्यालाई चिकित्सकीय भाषामा ‘फेसियल प्यारलाइसिस्’ भनिन्छ।
यस्तो अवस्थामा अनुहारको एकातर्फको भाग चल्दैन। मुख नै बाङ्गिएपछि ती महिला न राम्रोसँग बोल्न सक्थिन्, न त राम्ररी खानपान नै गर्न सक्थिन्। बोल्न खोज्दा प्रस्ट बोली आउँदैनथ्यो, तोते बोलीजस्तो सुनिन्थ्यो।
मुख बाङ्गिएका कारण र्याल चुहिरहन्थ्यो, जसले गर्दा ती महिलाको दैनिकी नै कष्टकर बनेको थियो। अन्ततः उनलाई आयुर्वेदिक उपचारका लागि अस्पताल पुऱ्याइयो।
डा. नारायणले पक्षघात भएर मुख बाङ्गिएकी ती महिलाको आयुर्वेदिक उपचार विधि अपनाएर उपचार सुरू गरे। उनको अनुहारको उपचारका लागि फिजियोथेरापी सुरू गरियो। साथै, मुखमा मालिस गर्ने लगायत आयुर्वेदको पूर्वकर्म र पञ्चकर्म उपचारात्मक विधि पनि अपनाइयो।
मस्तिष्कघात तथा पक्षघातजस्ता समस्याले हातखुट्टालगायत शरीरका अङ्ग नचल्ने भएका बिरामीका लागि आयुर्वेदिक उपचार विधि निकै प्रभावकारी रहेको डा. नारायण बताउँछन्।
करिब एक महिनाको आयुर्वेदिक औषधि र उपचारपछि ती महिलाको बाङ्गिएको मुख ठीक भयो। उनी सामान्य रूपमा बोल्न र सहजै खानपान गर्न सक्ने भइन्।
मुख सामान्य अवस्थामा फर्किएपछिको ती महिलाको खुसी शब्दमा वर्णन गर्न नसकिने डा. नारायण बताउँछन्। अनुहार ठीक भएपछि ती महिला अत्यन्तै खुसी हुँदै उपचारमा संलग्न चिकित्सकको टोलीप्रति कृतज्ञ बनेको उनी सम्झन्छन्।
मुख बाङ्गिएका ती युवा
त्यसैगरी, पक्षघात नै भएर उपचारका लागि आयुर्वेदिक अस्पताल पुगेका करिब २८ वर्षे युवाको उपचार गरेको प्रसङ्ग पनि डा. नारायण कहिल्यै भुल्दैनन्।
यो प्रसङ्ग केही वर्षअघिको हो। रक्तचापका कारण पक्षघात भएर ती युवाको पनि अनुहार एकातिर बाङ्गिएको थियो, जसले गर्दा उनको दैनिकी कष्टकर बनेको थियो।
आयुर्वेदिक अस्पताल पुऱ्याइएका ती युवालाई पनि आयुर्वेदका पञ्चकर्म तथा पूर्वकर्म, थेरापी र औषधिमार्फत उपचार गरियो। आयुर्वेदिक उपचारपछि ती युवाको पनि मुख बाङ्गिएको समस्या ठीक भएको डा. नारायणले सुनाए।
पूर्वकर्म र पञ्चकर्मले रोग निको
विशेषगरी हाडजोर्नी, नसा, पायल्स, फिसर र फिस्टुलासँग सम्बन्धित समस्याका लागि पूर्वकर्म र पञ्चकर्मजस्ता उपचार विधि अपनाउन आयुर्वेदिक अस्पताल पुग्ने बिरामीको चाप बाक्लो हुने गरेको डा. नारायणको अनुभव छ।
त्यसैगरी, आयुर्वेदको पञ्चकर्मअन्तर्गतका शिरोधारा, कटिबस्ती, जानुबस्ती, ग्रीवाबस्ती, नस्य, एकाङ्ग तथा सर्वाङ्ग स्वेदन र बस्ती तथा विरेचनजस्ता उपचारात्मक विधि निकै प्रभावकारी रहेको उनको अनुभव छ।
छालाजन्य समस्या, नसा च्यापिएको, बाथ, हाडजोर्नी, पेटसम्बन्धी विकार, मानसिक समस्या, पक्षघातका कारण हातखुट्टा तथा शरीर नचल्नेजस्ता समस्याका लागि आयुर्वेदको पञ्चकर्म विधि निकै प्रभावकारी र लाभदायक भएको डा. नारायणको अनुभव छ।
आयुर्वेदप्रतिको मोह
तनहुँको व्यास नगरपालिका वडा नम्बर-१४ मा २०२८ सालमा जन्मिएका नारायणको स्थायी बसोबास हाल दमौलीमा छ।
स्थानीय दमौलीस्थित निर्मल माध्यमिक विद्यालयबाट २०४५ सालमा उनले एसएलसी उत्तीर्ण गरे। नारायणको डाक्टर बन्ने ठूलो सपना थियो। त्यसैले एसएलसीपछि थप अध्ययनका लागि उनी काठमाडौं आए र उनको छनोटमा आयुर्वेद क्षेत्र नै पऱ्यो।
त्यसैले नारायण २०४६ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ‘आयुर्वेद क्याम्पस’मा प्रमाणपत्र तहमा ‘आयुर्वेद तथा सामान्य चिकित्सा’ विषय अध्ययनका लागि भर्ना भए। यो विषय अध्ययन गरेका व्यक्तिलाई ‘कविराज’ भनिन्थ्यो। त्यो बेला आयुर्वेद क्याम्पस हालको आयुर्वेद चिकित्सालय, नरदेवीमा थियो।
उनको तीन वर्षे प्रमाणपत्र तहको आयुर्वेद अध्ययन २०५१ सालमा सकियो। तत्कालीन जनआन्दोलनका कारण पढाइ लम्बिएको नारायणले सुनाए।
कविराज भएपछि सरकारी जागिर
आयुर्वेदको अध्ययनपछि नारायण २०५२ सालमा कविराजको रूपमा स्थायी सरकारी जागिरमा प्रवेश गरे। सरकारी जागिरे भएपछि उनी पहिलो पोस्टिङमा गृह जिल्ला तनहुँको केशवटार आयुर्वेद औषधालय पुगे, जुन उनको घरपायक थियो।
केशवटारमा करिब दुई वर्ष काम गरेपछि नारायण सरुवा भएर २०५३ सालमा तनहुँकै बन्दीपुर आयुर्वेद औषधालय पुगे। केशवटार र बन्दीपुर दुवै औषधालयमा उनले प्रमुखको भूमिकामा रहेर काम गरे।
बन्दीपुरमा करिब एक वर्ष काम गरेपछि नारायण २०५४ सालमा सरुवा भएर स्याङ्जाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगे। त्यहाँ पनि उनले प्रमुख (निमित्त)को रूपमा करिब एक वर्ष काम गरे।
नारायणलाई थप अध्ययन गर्ने हुटहुटी चलिरहेकै थियो। त्यसैले उनले छनोट परीक्षा उत्तीर्ण गरेर त्रिभुवन विश्वविद्यालयअन्तर्गत ‘आयुर्वेद क्याम्पस’मा २०५५ सालमा आयुर्वेदिक चिकित्सा विषय ‘ब्याचलर अफ आयुर्वेद मेडिसिन एन्ड सर्जरी (बीएएमएस)’ अध्ययनका लागि भर्ना भए।
नारायणले २०६१ सालमा उत्कृष्ट अङ्कसहित साढे पाँच वर्षे बीएएमएस अध्ययन पूरा गरे। त्यो बेला करिब २० हजार रुपैयाँमा बीएएमएस अध्ययन गरेको उनी सम्झन्छन्।
बीएएमएस अध्ययनपछि डा. नारायण सरुवा भएर काठमाडौंको आयुर्वेद चिकित्सालय, नरदेवी पुगे। त्यहाँ उनले २०६३ सालसम्म काम गरे। त्यही बीचमा उनी अधिकृत स्तरको आयुर्वेद चिकित्सकका रूपमा बढुवा भए।
नरदेवीपछि डा. नारायण मनाङ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पुगे। त्यहाँ उनले आयुर्वेद चिकित्सक र प्रमुखको भूमिकामा रहेर करिब साढे तीन वर्ष काम गरे।
कहिले कता, कहिले कता; अहिले गृहजिल्लामै
मनाङपछि डा. नारायण २०६६ सालमा सरुवा भएर काठमाडौंको टेकुस्थित तत्कालीन आयुर्वेद विभाग पुगे। तर, उनको अध्ययनको भोक अझै मेटिएको थिएन। उनलाई आयुर्वेद क्षेत्रभन्दा केही फरक विषय अध्ययन गर्न मन लाग्यो।
त्यसैले आयुर्वेद विभागमा करिब डेढ वर्ष काम गरेपछि डा. नारायण स्नातकोत्तर तहको जनस्वास्थ्यसँग सम्बन्धित विषय ‘मास्टर्स अफ प्राइमरी हेल्थ केयर म्यानेजमेन्ट’ अध्ययनका लागि २०६८ सालमा थाइल्यान्ड पुगे। त्यहाँ उनले २०६९ सालमा एक वर्षे कोर्स पूरा गरेर नेपाल फर्किए।
नेपाल फर्किएर डा. नारायणले नरदेवीमा नै २०७० सालसम्म एक वर्ष काम गरे। नरदेवीपछि सरुवा भएर उनी २०७१ सालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा नै पुगे। विभागमा रहँदै उनी कर्मचारी समायोजनका क्रममा संघीय तहमा समायोजन भए।
विभागमा सात वर्ष रहँदा नीति-नियम निर्माणको काममा पनि आफ्नो सक्रिय भूमिका रहेको डा. नारायण सम्झन्छन्। विभागमा कार्यरत रहेकै अवस्थामा २०७८ सालमा उनी प्रदेशमा समायोजन भए।
समायोजनपछि डा. नारायण सरुवा भएर गण्डकी प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालय पुगे। उनी गएको करिब एक महिनापछि सामाजिक विकास मन्त्रालयबाट छुट्टिएर प्रदेश स्वास्थ्य मन्त्रालय बन्यो।
त्यसपछि उनी प्रदेश स्वास्थ्य मन्त्रालयको कर्मचारी भएर त्यहाँ काम गरे। करिब दुई वर्ष गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयमा नै रहेर विभिन्न नीति निर्माणलगायतका काम गरेको उनी सम्झन्छन्।
गण्डकीको स्वास्थ्य मन्त्रालयपछि सरुवा भएर २०८० सालमा उनी तनहुँको तत्कालीन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगे। हाल तनहुँको त्यो स्वास्थ्य केन्द्र ‘प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँ’मा परिणत भएको छ। डा. नारायण विगत दुई वर्षदेखि तनहुँको त्यही आयुर्वेद चिकित्सालयमा प्रमुखको भूमिकामा कार्यरत छन्।
तनहुँको सो आयुर्वेद चिकित्सालयमा पूर्वकर्म र पञ्चकर्मलगायत आयुर्वेदतर्फका उपचारात्मक सेवाहरू दिइरहेको डा. नारायणले सुनाए। पूर्वकर्म हाडजोर्नी खिइएको, दुखेको, बाथको समस्या, नसा च्यापिएको जस्ता समस्याको उपचारका लागि अधिक लाभदायक थेरापी हो।
त्यसैगरी, आयुर्वेदको क्षारसूत्र थेरापीको ज्ञान तथा सीप सिकेका डा. नारायणले प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँमा क्षारसूत्रको प्रयोग गरी पायल्स, फिस्टुला र फिसरजस्ता गुदाद्वारजन्य समस्याको उपचार पनि सुरु गरिएको बताए। यो विधि निकै प्रभावकारी रहेको उनको अनुभव छ।
कम पढेलेखेकालाई आयुर्वेदमा बढी विश्वास
धेरै कम पढेलेखेका व्यक्तिले आयुर्वेद चिकित्सा विधिलाई पनि आधुनिक चिकित्सासरह नै लिने गरेको डा. नारायणको अनुभव छ। उनका अनुसार, कम पढेलेखेका व्यक्ति कुनै स्वास्थ्य समस्या भएमा सुरुमा नै आयुर्वेदिक उपचारका लागि आयुर्वेद उपचार केन्द्रमा पुग्ने गर्छन्।
तर, अझै पनि कयौँ पढेलेखेका व्यक्तिले भने आयुर्वेदलाई हेयको दृष्टिले हेर्ने गरेको डा. नारायण बताउँछन्। तुलनात्मक रूपमा शिक्षित वर्गका अधिकांश व्यक्ति भने आधुनिक चिकित्सा विधिबाट रोग निको नभएपछि मात्रै विकल्पको रूपमा आयुर्वेद केन्द्रमा पुग्ने गरेको उनले सुनाए।
सबै किसिमका चिकित्सकीय विधाको आ-आफ्नै सीमा हुने र कुनै पनि विधा आफैँमा पूर्ण नहुने विषय बुझ्न आवश्यक रहेको डा. नारायणको सुझाव छ। त्यसैले, आधुनिक चिकित्सकीय उपचार विधिले ठीक नहुने कयौँ रोग आयुर्वेदिक उपचारात्मक विधिले ठीक हुने उनले बताए।
त्यसो त, आयुर्वेदिक विधिले ठीक नहुने रोगको उपचारका लागि उनी पनि बिरामीलाई आधुनिक चिकित्सा विधि अपनाउन सिफारिस गर्छन्। डा. नारायणको २५ वर्षे चिकित्सकीय अनुभवअनुसार, लामो समय औषधि सेवन गर्नुपर्ने कयौँ रोगहरू आयुर्वेदिक उपचार विधिबाट रोकथाम तथा निको पार्न सकिन्छ।
बिरामीको समस्या ध्यानपूर्वक सुनिदिँदा मात्र पनि आयुर्वेदिक उपचारप्रति उनीहरूको विश्वास बढ्ने डा. नारायणको अनुभव छ।
साउन १७, २०८२ शनिबार १३:३१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।