एकीकृत समाजवादीमा वाक युद्ध : एमाले फुटाएको झलनाथको पश्चातापपछि पार्टी छाड्न माधवको उर्दी, तानाशाही बनेको आरोप

एकीकृत समाजवादीमा वाक युद्ध : एमाले फुटाएको झलनाथको पश्चातापपछि पार्टी छाड्न माधवको उर्दी, तानाशाही बनेको आरोप

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ईमेज टेलिभिजनको संवाद कार्यक्रममा एमाले विभाजन गर्नुको कारण पुष्टि हुन नसकेको भन्दै अनुराग देखाएसँगै पार्टीका अध्यक्ष माधव नेपालले पार्टी छाड्न उर्दी जारी गरे।

खनालले बिहीबार प्रसारण भएको कार्यक्रममा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्दा जे कारण बताएको हो, सो पुष्टि हुन नसकेको बताएका थिए।

उनले एमालेमा विद्रोह गरेर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि हुन नसकेको बताएपछि विराटनगर पुगेका माधवले ‘यस्तो बोलेको हो भने नैतिक रूपमा पार्टीमा बस्न नमिल्ने, छाड्नु पर्ने’ बताए।

व्यङ्ग्यात्मक शैलीमा माधवले कतै एआईले बनाएको भिडियो हो कि भन्दै सत्य हो भने ‘पार्टीबाट राजिनामा दिएर जान’ भनेका थिए।

त्यसको प्रतिउत्तर खनालले टेलिभिजनबाटै दिए। उनले हिमालय टिभीसँग कुरा गर्दै आफूले कहिँ कतै बोलेको गलत लागेको भए पार्टीभित्र औपचारिक रूपमा उठाउनुको साटो सार्वजनिक रूपमा पार्टी छाड्न उर्दी जारी गरेको भन्दै सोधे- ‘यो कस्तो तानाशाही हो?’

नेकपा हुँदै केपी ओलीसँग शक्ति संघर्ष शुरू भएपछि अन्तमा खनालसहितको सहभागितामा एकीकृत समाजवादी गठन भएको थियो। नेपाल अध्यक्ष भए, खनाल सम्मानित नेता।

नयाँ पार्टी गठनको प्रारम्भदेखि नै खनाल र नेपालबीच शक्ति संघर्ष शुरू भइहाल्यो। खनालले बारम्बार पार्टी एकलौटी रूपमा चलाएको आरोप नेपालमाथि लगाए। सार्वजनिक मञ्चहरूमै दुवै नेताको विवाद सार्वजनिक भइरहे। अहिले आएर दुवै नेताबीच मिडियाबाट एक अर्काविरुद्ध अभिव्यक्ति आइरहेका छन्।

लामो समय एमालेको नेतृत्व गरेका नेपाल र खनालबीच एमालेमै रहँदा नि त्यति मिल्ती हैन। संविधान सभाको निर्वाचनमा पार्टीको नतिजा कमजोर आएपछि माधव नेपालले महासचिवबाट राजीनामा दिएपछि खनाल नेतृत्वमा आएका थिए।

नेपाल काठमाडौं क्षेत्र नम्बर २ मा झक्कुप्रसाद सुवेदीसँग पराजित भए पनि मनोनित भएर सांसद भए।

पार्टीको महासचिव खनाल भए पनि कांग्रेसको समर्थनमा नेपाल प्रधानमन्त्री भएपछि दुवैको सम्बन्ध चिसियो। पछि नेपाल नेतृत्वको सरकार ढालेर माओवादीको समर्थनमा खनाल प्रधानमन्त्री भए। उनको नेतृत्वको सरकार नि लामो भने गएन।

एमाले र माओवादी मिलेर नेकपा बनेसँगै दुबै नेता किनारा लागे। ओली र पुष्पकमल दाहाल प्रचण्ड हावी भएपछि दुबै एक ठाउँमा आए। प्रतिनिधि सभा विघटन र सर्वोच्चबाट निर्णय रद्दको श्रृंखलाले एमाले विभाजनको चरणमा पुग्दा नि नेपाल-खनाल एकै ठाउँ उभिए। तर मिल्ती कहिल्यै भएन। अब त आरोप प्रत्यारोपमै उत्रिए।

साउन १७, २०८२ शनिबार ११:२६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।