इन्डिगो एयरलाइन्सको विमानमा यात्रुमाथि थप्पड प्रहार, भिडियो भाइरल

इन्डिगो एयरलाइन्सको विमानमा यात्रुमाथि थप्पड प्रहार, भिडियो भाइरल

एजेन्सी : मुम्बईबाट कोलकाताका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानमा एक यात्रीले आफ्ना सहयात्रीलाई थप्पड हानेको घटना सार्वजनिक भएको छ। उक्त घटनापछि आरोपी यात्रीलाई कोलकातामा विमान अवतरण भएलगत्तै हिरासतमा लिइएको छ।

सामाजिक सञ्जालमा यस घटनाको भिडियो भाइरल भएको छ, जसमा टोपी लगाएका र दाह्री पालेका एक मुस्लिम यात्रीलाई अर्का यात्रीले थप्पड हानेको स्पष्ट देखिन्छ। यो घटना इन्डिगोको उडान नम्बर ६ई१३८ मा भएको हो।

मिडिया रिपोर्टहरूका अनुसार, थप्पड खाने यात्रीको स्वास्थ्य अवस्था बिग्रिएको थियो र क्याबिन क्रूले उनलाई मद्दत गरिरहेका थिए। यही क्रममा अर्का एक यात्रीले अचानक उनलाई थप्पड हानेका थिए।

भिडियोमा के देखिन्छ?
भिडियोमा दुई जना क्याबिन क्रू सदस्यहरूले पीडितलाई सम्हाल्दै विमानबाट बाहिर निस्कन मद्दत गरिरहेको देखिन्छ। छेउको सिटमा बसेका यात्रीले अचानक उनलाई जोडले थप्पड हानेपछि एक फ्लाइट अटेन्डेन्टले भन्छिन्, ‘सर, कृपया यसो नगर्नुहोस्।’

भिडियो रेकर्ड गर्ने व्यक्तिले ‘तपाईंले उहाँलाई किन हिर्काउनुभयो?’ भनेर सोधेको सुनिन्छ। यसको जवाफमा थप्पड हान्ने व्यक्तिले भनेका छन्, ‘उसको कारणले हामीलाई समस्या भइरहेको थियो।’

विमानमा बसेका अर्का एक यात्रीले भने, ‘समस्या भयो भन्दैमा मान्छे पिट्दै हिँड्ने?’ त्यसपछि ती व्यक्तिले क्रूलाई पीडितका लागि पानी ल्याउन भने। भिडियो बनाउने यात्रीले भने, ‘उहाँलाई प्यानिक अट्याक भएको छ। कृपया उहाँको लागि पानी ल्याइदिनुहोस्।’

एक समाचार रिपोर्टका अनुसार, कोलकातामा विमान अवतरण भएपछि आरोपीलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको थियो। केन्द्रीय औद्योगिक सुरक्षा बलले थप अनुसन्धानका लागि ती व्यक्तिलाई हिरासतमा लिएको थियो।

इन्डिगो एयरलाइन्सको प्रतिक्रिया
इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै थप्पड हान्ने व्यक्तिलाई कोलकातामा अवतरण हुनासाथ अधिकारीहरूलाई सुम्पिएको जनाएको छ।

एयरलाइन्सले थप्पड हान्ने व्यक्तिलाई ‘उपद्रवी’को संज्ञा दिँदै निर्धारित प्रोटोकलअनुसार सम्बन्धित उड्डयन सुरक्षा एजेन्सीहरूलाई घटनाबारे जानकारी गराइएको बताएको छ।

यद्यपि, ‘इन्डियन एक्सप्रेस’ले बिधाननगर प्रहरीका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै हिरासतमा लिइएका यात्रीलाई पछि रिहा गरिएको खबर छापेको छ।

साउन १७, २०८२ शनिबार ११:०५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।