भारतले रुसबाट तेल किन्न छाड्ने ट्रम्पको विश्वास, भारतीय विदेश मन्त्रालयले के भन्यो?

भारतले रुसबाट तेल किन्न छाड्ने ट्रम्पको विश्वास, भारतीय विदेश मन्त्रालयले के भन्यो?

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गर्न बन्द गरेको हुनसक्ने बताएका छन्। यदि यो सत्य हो भने यसलाई एक ‘राम्रो कदम’ हुने बताए।

रुसबाट कच्चा तेल र सैन्य उपकरण खरिद गरेबापत अमेरिकाले भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको केही दिनपछि ट्रम्पको यस्तो भनाइ आएको हो।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मेरो बुझाइमा भारतले अब रुसबाट तेल किन्ने छैन। मैले यस्तै सुनेको छु, तर यो साँचो हो वा होइन मलाई थाहा छैन। साँचो हो भने यो एक राम्रो कदम हो। अब हेरौं, आगामी दिनमा के हुन्छ।’

यद्यपि, भारत सरकारले भने यसबारे कुनै आधिकारिक पुष्टि गरेको छैन। शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवाललाई साप्ताहिक मिडिया ब्रिफिङमा भारतीय तेल कम्पनीहरूले रुसबाट तेल खरिद बन्द गरेको भन्ने रिपोर्टबारे सोधिएको थियो।

जवाफमा जायसवालले भनेका थिए, ‘हामी अन्तर्राष्ट्रिय बजारमा तेलको उपलब्धता र तत्कालीन विश्वव्यापी परिस्थितिको आधारमा निर्णय लिन्छौँ। जहाँसम्म तपाईंको प्रश्नको कुरा छ, मलाई यसबारे जानकारी छैन। मसँग यसबारे कुनै विवरण छैन।’

यसअघि पनि राष्ट्रपति ट्रम्प र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन युद्धलाई लिएर पश्चिमा देशहरूले लगाएको प्रतिबन्धका बाबजुद भारतले रुसी तेल आयात जारी राखेकोमा आलोचना गरेका थिए।

अमेरिकाको लगातारको दबाब र हालैको ट्यारिफको घोषणापछि भारतले रुसी तेल खरिदबारे पुनर्विचार गर्न सक्ने अनुमान गरिएको छ, तर यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

साउन १७, २०८२ शनिबार १०:४८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।