तलब बढ्यो, तर अझै बचत भएन?; ‘महङ्गो जीवनशैली’ हुनसक्छ कारण

काठमाडौं : नेपाल राष्ट्र बैंकले सन् २०२२ मा गरेको आधारभूत सर्वेक्षणमा नेपालका ५७.९ प्रतिशत मानिस वित्तीय रूपमा साक्षर छन्, अर्थात् उनीहरूलाई पैसाको आधारभूत ज्ञान छ।
वित्तीय साक्षरताको अर्थ कसरी खर्चपर्च बनाउने, बचत कसरी गर्ने, आफ्नो आम्दानीलाई कहाँ र कसरी लगानी गर्ने तथा ऋणलाई कसरी व्यवस्थापन गर्ने भन्ने जानकारी हुनु हो।
धेरैजसो मानिसले यी कुराहरूलाई बेवास्ता गर्छन् र गलत आर्थिक निर्णय लिन्छन्, जसको परिणाम लामो समयसम्म भोग्नुपर्ने हुन्छ।
यस्ता व्यक्तिहरूले कुनै आपत्कालीन कोष राख्दैनन् र आवश्यकताभन्दा बढी खर्च गर्छन्। उनीहरू प्रायः बिना सोचविचार ऋण लिन्छन्, जसका कारण बिस्तारै ऋणको जालमा फस्छन् र यो मानसिक तनावको प्रमुख कारण बन्छ।
आम्दानी वा तलब बढेपछि बचत गर्न सजिलो हुन्छ भन्ने आम बुझाइ छ, तर वास्तविकतामा त्यस्तो हुँदैन। हरेक महिना तलब आएको केही दिनमै सकिन्छ र फेरि उही चिन्ता सुरू हुन्छ-घरखर्च कसरी चलाउने र बचत कसरी गर्ने?
यस्तो अवस्थामा, तलब बढे पनि बचत किन हुन सक्दैन र खर्च कसरी नियन्त्रण गर्ने भन्नेबारे यहाँ विस्तृतमा चर्चा गरिएको छ।
तलब बढे पनि बचत किन हुँदैन?
वास्तवमा, जब हाम्रो तलब बढ्छ, हाम्रा खर्चहरू पनि त्यही अनुपातमा बढ्छन्। पुरानो बजेटले हाम्रा खर्चहरू धान्न पर्याप्त भए पनि हामी नयाँ खर्चहरूलाई ‘आवश्यकता’को नाम दिन्छौँ।
तर, तलब बढ्दा हाम्रा आवश्यकता होइन, बानी र इच्छाहरू परिवर्तन हुन्छन्। हामी भविष्यका लागि बचत कति जरुरी छ भनेर नसोची आवश्यकताभन्दा बढी खर्च गर्न थाल्छौँ। यदि हामीले आफ्नो खर्च गर्ने तरिकामा परिवर्तन ल्याएनौँ भने, हाम्रो आम्दानी जतिसुकै भए पनि हामी सधैँ आर्थिक तनावमा रहन्छौँ।
तलब बढेपछि हाम्रो खर्च किन बढ्छ?
यदि तपाईं सचेत हुनुहुन्न भने तलब बढेपछि खर्च बढ्नु स्वाभाविक हो। यसलाई ‘लाइफस्टाइल इन्फ्लेसन’ अर्थात महङ्गो जीवनशैली भनिन्छ। जब मानिसको आम्दानी बढ्छ, उनीहरू सोच्छन् कि अब उनीहरू पहिलेभन्दा राम्रो चीजहरू किन्न सक्छन्। जस्तैः महँगो फोन, रेस्टुरेन्टमा खाने, विलासी कपडाहरू।
समयसँगै यी बानीहरू आवश्यकता जस्तै लाग्न थाल्छन् र खर्च स्वतः बढ्छ। तर, तलब वृद्धिसँगै बचत गर्ने बानी नबसाल्ने हो भने आर्थिक रूपमा जहाँको त्यहीँ भइन्छ।
खर्च कसरी नियन्त्रण गर्ने?
खर्च नियन्त्रण गर्न सबैभन्दा पहिले हरेक महिनाको बजेट बनाउनु जरुरी छ। अर्थात्, आफ्नो आम्दानी कति छ र कहाँ-कहाँ खर्च भइरहेको छ, त्यसलाई बुझ्नुहोस्।
त्यसपछि फजुल खर्च हुने चीजहरूको सूची बनाउनुहोस् र तिनीहरूलाई बिस्तारै हटाउनुहोस्, जस्तैः बारम्बार बाहिर खाने, अनावश्यक सब्सक्रिप्सन वा किनमेल। खर्चलाई ट्र्याक गर्न मोबाइल एप वा डायरीको पनि प्रयोग गर्न सकिन्छ।
बचत र खर्चमा सन्तुलन बनाउने कुनै सूत्र छ?
५०:३०:२० को सूत्र पैसालाई बुद्धिमानीपूर्वक खर्च गर्ने एक सजिलो तरिका हो। यसमा आफ्नो मासिक आम्दानीलाई तीन भागमा विभाजन सकिन्छ।
तलबको ५० प्रतिशत हिस्सा आफ्नो अत्यावश्यक खर्च (घरभाडा, रासन, बच्चाको शुल्क, बिजुली-पानीको बिल)का लागि राखेर बाँकी ३० प्रतिशत आफ्ना इच्छाहरू (फिल्म हेर्ने, बाहिर खाने, किनमेल गर्ने वा घुम्न जाने) पूरा गर्न सकिन्छ।
यसका अलावा बाँकी रहेको २० प्रतिशत पैसालाई बचत वा लगानीमा लगाउन सकिन्छ, जसले भविष्यमा पैसाको अभाव हुँदैन। यो सूत्रले अनावश्यक खर्च नगरी आफ्ना आवश्यकता र रहर दुवैलाई सन्तुलनमा राख्न मद्दत गर्छ, साथै भविष्यका लागि बचत पनि सुनिश्चित गर्छ।
बचतको सुरुवात कसरी गर्ने?
बचतको सुरूवात सानो रकमबाट पनि गर्न सकिन्छ। सबैभन्दा राम्रो तरिका हो, तलब आउनेबित्तिकै बचतको लागि पैसा छुट्याउने, अन्त्यमा बचेको पैसा बचत गर्ने होइन। मासिक एक हजारदेखि दुई हजार रुपैयाँबाट एसआईपी सुरू गर्न सकिन्छ वा पीपीएफ र मुद्दती निक्षेपजस्ता सुरक्षित विकल्पहरू पनि छनोट गर्न सकिन्छ।
विवाहित दम्पतीले बचत योजना कसरी बनाउने?
विवाहपछि बचतको जिम्मेवारी दुवै पार्टनरको हुन्छ र यसका लागि आपसी समझदारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ।
सबैभन्दा पहिले दुवैको आम्दानी र खर्चबारे पारदर्शी हुनुपर्छ। हरेक महिना सँगै बसेर बजेट बनानु आवश्यक कुराहरूलाई प्राथमिकता दिनु आवश्यकता हुन्छ। मिलेर एउटा निश्चित बचत लक्ष्य तय गर्दै निश्चित बचत रकम (जस्तै- १० हजार रुपैयाँ) जम्मा गर्ने निर्णय लिँदा अझ सहज हुन्छ।
यसका अलावा दुवै जनाले बच्चाको पढाइ, आपत्कालीन कोष र सेवानिवृत्ति जस्ता ठूला वित्तीय लक्ष्यहरूका लागि छुट्टाछुट्टै बचत योजनाहरू बनाउँदा बचतका लागि सहज हुनसक्छ। यदि दुवै जना कमाउने भए खर्चहरू आपसमा बाँड्दा अझ उचित हुन्छ।
साथै सँगै मिलेर एसआईपी, पीपीएफ वा मुद्दती निक्षेप जस्ता दीर्घकालीन लगानी सुरू गर्न सकिन्छ। पारदर्शिता र सहकार्यबाट पति-पत्नीले खर्चको जिम्मेवारी मात्र नभई एक बलियो आर्थिक आधार पनि तयार पार्न सक्छन्।
साउन १७, २०८२ शनिबार ०८:५९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।