ओभल टेस्टको दोस्रो दिनमा भारतको पुनरागमन, ५२ रनको अग्रता

एजेन्सी : ओभल टेस्टको दोस्रो दिनको खेल सकिँदा भारतले आफ्नो दोस्रो पारीमा २ विकेट गुमाएर ७५ रन बनाएको छ। यससँगै भारतले समग्रमा ५२ रनको अग्रता लिएको छ।
क्रिजमा यशस्वी जायसवाल ५१ रन र आकाश दीप ४ रन बनाएर अविजित छन्। तेस्रो दिनको खेल शनिबार दिउँसो ३:४५ बजेबाट सुरू हुनेछ।
शुक्रबार, खेलको दोस्रो दिन इंग्ल्यान्ड आफ्नो पहिलो पारीमा २४७ रनमा अलआउट भएको थियो। भारतले पहिलो पारीमा बनाएको २२४ रनको आधारमा इंग्ल्यान्डले २३ रनको सामान्य अग्रता लिएको थियो।
इंग्ल्यान्डका लागि ज्याक क्रलीले सर्वाधिक ६४ रन तथा ह्यारी ब्रुकले ५३ रनको योगदान दिए। भारतका बलर प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले उत्कृष्ट बलिङ गर्दै समान ४-४ विकेट लिए।
यसअघि खेलको पहिलो दिन भारत आफ्नो पहिलो पारीमा करुण नायरको ५७ रनको मद्दतले २२४ रनमा समेटिएको थियो।
इंग्ल्यान्डका बलर गस एट्किन्सनले घातक बलिङ गर्दै ५ विकेट लिएका थिए भने जोश टंगले ३ विकेट हात पारेका थिए।
साउन १७, २०८२ शनिबार ०८:१४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।