गीतका गुमनाम सारथी, पर्दा पछाडि नै रमाउँछन् नेपाली एरेन्जर

गीतका गुमनाम सारथी, पर्दा पछाडि नै रमाउँछन् नेपाली एरेन्जर

काठमाडौं : जब कुनै गीत हाम्रो कानमा गुञ्जिन्छ, हामी त्यसको लयमा डुब्छौँ, शब्दमा आफूलाई खोज्छौँ र संगीतमा रमाउँछौँ। हाम्रो ध्यान गायकको स्वर, संगीतकारको धुन र भिडियोमा देखिने कलाकारको अभिनयमा केन्द्रीत हुन्छ।

तर, त्यो धुनलाई जीवन्त बनाउने अनि बाजा र संगीतको प्राण भर्ने एक अदृश्य कलाकारको भूमिकाबारे हामीमध्ये धेरै अनभिज्ञ हुन्छौँ। उनीहरू हुन्- एरेन्जर अर्थात साउन्ड इन्जिनियर।

एउटा सामान्य लयलाई मनछुने संगीतमा बदल्ने यी साधकहरू पर्दा पछाडिका वास्तविक मेरुदण्ड हुन्। उनीहरू बन्द स्टुडियोमा घण्टौँसम्म संगीतका धुनहरूसँग खेल्छन्, तर उनीहरूको नाम र अनुहार विरलै बाहिर आउँछ।

चर्चाको चाहनादेखि पर्दा पछाडिको सन्तुष्टिसम्म
जब नरेन्द्र वियोगी गायक बन्ने सपना बोकेर काठमाडौं छिरे, त्यतिबेला उनलाई पनि अरूजस्तै दर्शक र श्रोताले चिनुन् अनि आफ्नो नामको चर्चा होस् भन्ने लाग्थ्यो।

तर, समयले उनलाई एरेन्जरको बाटोमा डोहोर्यायो। आज ‘मंगलम्’ फिल्मको ‘पर्ख पर्ख मायालु’, ‘पिरिम नलाउने’ र ‘बालखैमा दिल बस्यो गौंथली’ जस्ता दर्जनौँ हिट गीतका एरेन्जर उनी पर्दा पछाडिको जीवनमा पूर्ण सन्तुष्ट छन्।

‘सुरूवातमा त चर्चित हुन मन लाग्थ्यो, तर अहिले त्यो रहर मरिसक्यो,’ उनी हाँस्दै भन्छन्, ‘हाम्रो काम नै ब्याकग्राउन्डको हो। कहिलेकाहीँ बाटोमा हिँड्दा कसैले चिनिदिए हुन्थ्यो जस्तो लाग्छ, तर नचिन्दा पनि नर्मल लाग्छ। अहिले त पर्दा पछाडि बसेर काम गर्नमै छुट्टै मज्जा आउँछ।’

उनले गायक बन्न एउटा गीत रेकर्ड गराए पनि त्यो बाहिर नआएको र अहिले एरेन्जको काममा यति व्यस्त भएको बताए कि गाउने फुर्सद नै छैन।

यो भावना नरेन्द्रको मात्र होइन। ‘फूलबुट्टे सारी’, ‘चाइने जो जिन्दगानीमा’ र ‘के माया लाग्छ र’ जस्ता चर्चित गीतका एरेन्जर कुशल सिंह पनि पर्दा पछाडिको भूमिकामा नै रमाउन चाहन्छन्। उनका लागि आफ्नो कामको मूल्यांकन हुनु नै सबैभन्दा ठूलो कुरा हो।

‘चिनिनकै लागि अगाडि आउनु परेको भए गायक वा मोडल बनिन्थ्यो होला’
‘सुन साइली’, ‘ठमेल बजार’ देखि ‘रुकुम मैकोट’ सम्मका सयौँ हिट गीत दिएका रिकेश गुरुङको तर्क अझ स्पष्ट छ। उनी एरेन्जरको कामको प्रकृति नै पर्दा पछाडिको भएको मान्छन्।

‘एरेन्जर भनेकै पर्दा पछाडि बसेर काम गर्ने मान्छे हो। यदि पर्दा अगाडि नै आउने रहर भएको भए गायक बनिन्थ्यो होला, मोडल बनेर खेलिन्थ्यो होला,’ उनी भन्छन्, ‘मलाई त्यस्तो चाहना कहिल्यै भएन। मेरो क्षेत्रका मान्छे र थोरै संगीतप्रेमी स्रोताले चिन्छन्, त्यति नै पर्याप्त छ। सबैले चिन्नुपर्छ भन्ने छैन।’

यस्तै धारणा ‘कट्टा हान्दिन्छु’ र ‘मयाली’ जस्ता गीतका एरेन्जर एचबीएन किस्मतको पनि छ।

उनी भन्छन्, ‘चर्चित हुने रहर हुनु मानवीय स्वभाव हो। आफ्नो गीत हिट हुँदा 'यो फलानोले एरेन्ज गरेको' भनेर कसैले भन्दा खुसी लाग्छ। तर हामी चिनिने ठाउँमा बसेर काम गर्दैनौँ। अहिले त पर्दा पछाडि नै रहेर काम गर्न रमाइलो लाग्छ।’

गाउँबाटै एरेन्जर बन्ने सपना बोकेर आएका साधक
प्रकाश सपुतका अधिकांश गीतसहित दुई दर्जनभन्दा बढी गीतलाई करोड क्लबमा पुर्याएका सुदिप सागरको कथा अलि फरक छ। उनी गाउँबाट झोला बोकेर काठमाडौं आउँदा नै एरेन्जर बन्ने सपना लिएर आएका थिए।

‘मेरो रोजाइ शास्त्रीय संगीत थियो, तर सपनाचाहिँ एरेन्जर बन्ने नै थियो,’ उनी आफ्नो यात्रा सम्झिन्छन्, ‘गाउने, बजाउने त मनको रहर भइहाल्यो। तर एरेन्जरको काममा लागेपछि अरू लोभ हट्यो। यो पेशा नै गुमनाम साधकको हो। परिचित हुनका लागि कोठाभित्र बसेर घण्टौसम्म बाजाहरूसँग खेलिँदैन थियो होला।’

सुदिपका अनुसार एरेन्जरको काम निकै जटिल र गहन हुन्छ, जसमा संगीतका सबै पक्षको ज्ञान हुनुपर्छ।

‘खुसीको कुरा, नेपालमा अहिले बल्ल एरेन्जरको महत्त्व बढ्दैछ। गायक-गायिकादेखि संगीत क्षेत्रका सबैले हाम्रो भूमिकालाई सम्मान गर्न थाल्नुभएको छ’, उनी भन्छन्।

नामसमेत नलेखिने समयदेखि सम्मानसम्मको यात्रा
सुदिप सागरले एउटा महत्त्वपूर्ण ऐतिहासिक पक्षलाई पनि उजागर गरे। उनका अनुसार क्यासेट र सिडीको जमानामा अधिकांश एल्बमको कभरमा एरेन्जरको नामसमेत उल्लेख हुँदैनथ्यो।

‘म यो क्षेत्रमा आउँदा अधिकांश क्यासेटमा एरेन्जरको नाम खोजेर पनि भेटिँदैनथ्यो। कुन गीत कसले एरेन्ज गर्यो, पत्तै हुन्थेन,’ उनी विगत सम्झन्छन्, ‘अहिले कम्तीमा हरेक गीतको अडियो-भिडियोमा हाम्रो नाम आउन थालेको छ। गीतलाई राम्रो बनाउन एरेन्जरको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने बुझाइ बढ्दै गएको छ। यो नै हाम्रो लागि सबैभन्दा ठूलो सन्तुष्टि हो।’

कलाको आनन्द सधैँ चर्चा र वाहवाहीमा मात्र सीमित हुँदैन। बन्द कोठाभित्र बसेर संगीतको आत्मा निर्माण गर्नुमा पनि एक प्रकारको गहिरो सन्तुष्टि र नशा हुन्छ। सुरूमा चर्चाको भोक भए पनि समय र अनुभवले उनीहरूलाई आफ्नो कामप्रतिको निष्ठा र सम्मानमा रमाउन सिकाएको छ।

त्यसैले, अब जब कुनै गीतले तपाईंको मन छुन्छ वा कम्मर भाच्न बाध्य बनाउँछ, एकछिन ती गायक, संगीतकार र मोडलसँगै त्यो धुनलाई सिँगार्ने पर्दा पछाडिका साउन्ड इन्जिनियरलाई पनि सम्झनुहोस्, जसको सिर्जनाबिना त्यो गीत सायद अपुरो हुन्थ्यो।

साउन १७, २०८२ शनिबार ०७:४७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।