कमला ह्यारिसद्वारा राजनीतिबाट सन्यासको घोषणा

एजेन्सी : पूर्व अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी प्रभावशाली नेतृ कमला ह्यारिसले राजनीतिबाट सन्यास लिने घोषणा गरेकी छन्।
एक टेलिभिजन अन्तर्वार्तामा उनले अमेरिकी राजनीतिक प्रणाली ‘पूर्ण रूपमा टुटिसकेको’ बताउँदै अब आफू कुनै पनि राजनीतिक पदका लागि चुनाव नलड्ने खुलासा गरेकी हुन्।
‘द लेट शो विद स्टीफन कोलबर्ट’मा अन्तर्वार्ता दिँदै ह्यारिसले भनिन्, ‘म लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न अब आफूलाई बलियो महसुस गर्दिनँ। त्यसैले, मैले यो कठिन निर्णय लिएकी हुँ।’
उनले आफू अब क्यालिफोर्नियाको गभर्नर पदका लागि पनि प्रतिस्पर्धा नगर्ने स्पष्ट पारिन्।
एक समय क्यालिफोर्नियाकी गभर्नर समेत रहेकी ह्यारिसले आफ्नो सम्पूर्ण करियर जनताको सेवामा समर्पित गरेको बताइन्।
‘मैले गभर्नर बन्नेबारे धेरै सोचेँ। मलाई आफ्नो राज्य क्यालिफोर्नियासँग अगाध प्रेम छ, तर अब मलाई लाग्छ कि प्रणालीमा परिवर्तन ल्याउने मेरो क्षमता घटिसकेको छ’, उनले भनिन्।
नयाँ किताब र भविष्यको योजना
कार्यक्रममा ह्यारिसले आफ्नो नयाँ किताब ‘१०७ डेज’बारे पनि जानकारी दिइन्, जुन सेप्टेम्बर २३ मा सार्वजनिक हुँदैछ। यस किताबमा उनले आफ्नो १०७ दिन लामो राष्ट्रपति चुनाव अभियानका अनुभवहरू समेटेकी छन्।
अबको योजनाबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘म अब देशभर घुमेर मानिसहरूसँग कुरा गर्न चाहन्छु, तर भोट माग्नका लागि होइन, उनीहरूका कुरा सुन्नका लागि।’
२०२४ को चुनावी हार
कमला ह्यारिसले सन् २०२४ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पसँग हार बेहोरेकी थिइन्। उक्त चुनावको इलेक्टोरल कलेजमा ट्रम्पले ३१२ मतका साथ जित हासिल गर्दा ह्यारिसले २२६ मत मात्र पाएकी थिइन्। सोही हारपछि उनी राजनीतिको मूलधारबाट केही हदसम्म टाढिएकी थिइन्।
वकालतदेखि राजनीतिको शिखरसम्म
ह्यारिसले आफ्नो राजनीतिक करियर सन् १९९० मा जिल्ला न्यायाधिवक्ताको रूपमा सुरु गरेकी थिइन्। त्यसपछि उनी क्रमशः स्टेट अटर्नी र अमेरिकी सिनेटसम्म पुग्न सफल भइन्।
न्यायिक क्षेत्रमा रहँदा उनले मृत्युदण्डको सजाय कम गर्न र साना अपराधमा दिइने ठूला सजाय घटाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्, जसले गर्दा उनी पटक-पटक विवाद र चर्चामा रहिन्। उनको अप्रत्याशित सन्यासको घोषणाले अमेरिकी राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।
साउन १७, २०८२ शनिबार ०७:४४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।