चीन हाम्रो नजिकको छिमेकी मात्र होइन, विश्वसनीय विकास साझेदार पनि हो : प्रधानमन्त्री ओली

चीन हाम्रो नजिकको छिमेकी मात्र होइन, विश्वसनीय विकास साझेदार पनि हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीन सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले थप समृद्ध र सुदृढ बनेको बताएका छन्।

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला दशकमा नेपाल-चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै गहिरिदै गएको उल्लेख गरे। ‘शान्तिपूर्ण सह अस्तित्वका पाँच सिद्धान्तहरू नै हाम्रो सम्बन्धको आधार हुन्’, उनले भने। 

प्रधानमन्त्री ओलीले नेपालले ‘एक चीन नीति’ मा दृढ समर्थन जनाउँदै आएको र चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सधैं सम्मान गर्दै आएको स्पष्ट पारे। ‘चीन हाम्रो नजिकको छिमेकी मात्र होइन, विश्वासिलो विकास साझेदार पनि हो’, प्रधानमन्त्री ओलीले भने, ‘हामी समयको परीक्षा पास गरेको मित्रतालाई अत्यन्तै महत्व दिन्छौँ।’ 

उनले सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई ऐतिहासिक मोडका रूपमा स्मरण गर्दै त्यसले आपसी सम्बन्धलाई दीर्घकालीन रणनीतिक सहकार्यमा रुपान्तरण गरेको उल्लेख गरे। त्यस्तै, सन् २०२४ को डिसेम्बरमा आफूले गरेको चीन भ्रमण र त्यसक्रममा भएका उच्चस्तरीय संवादलाई फलदायी बताउँदै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहकार्यको प्रतिबद्धता थप बलियो बनिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले पूर्वाधार विकास, कनेक्टिभिटी, कृषि, व्यापार, पारवहन, ऊर्जा, स्वास्थ्य, डिजिटल प्रविधि र जलवायु प्रतिरोधजस्ता क्षेत्रमा नेपाल-चीन सहकार्य विस्तार भइरहेकामा सन्तोष व्यक्त गरे। हिमालय र पर्यावरणीय संवेदनशीलता विषयमा चीनसँग सहकार्यलाई प्राथमिकता दिएको पनि उनको भनाइ थियो।

साउन १६, २०८२ शुक्रबार २१:२५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।