हिजो एमाले फुटाउने नेताहरू आज पश्चातापमा छटपटाइरहेका छन् : महासचिव पोखरेल

काठमाडौं : एमालेका महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताएका छन्। ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेको बताए।
‘जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज एक प्रकारको निराशा र हतास पनि देखिन्छ, केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनेर पनि अभिव्यक्ति दिनुभएको छ, कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन भनिरहनुभएको छ’, उनले भने।
महासचिव पोखरेलले विभाजनकारीका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि एमाले परिणामको हिसाबले दोस्रो पार्टी बन्न पुगेको बताए।
उनले पार्टी फुटाउने अभियान असफल भएकाले पार्टी छाडेर गएका नेता कार्यकर्तालाई अब आफ्नै घर फर्कन आग्रह गरे। उनले नेताहरू हतास भएर हिँडेका बेला कार्यकर्ताहरू सही बाटोमा हिँड्नुपर्ने भनाइ राखे।
साउन १६, २०८२ शुक्रबार २०:३६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।