कोदो र फापरबाट बनेका परिकार प्रबर्द्धन गर्न निजी क्षेत्र तयार छ : अध्यक्ष ढकाल

काठमाडौं : उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रबाट कोदोबाट बनेको परिकारहरूको प्रबर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार नेपाल कोदो,फापर संघले कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रबाट कोदोलाई प्रबर्द्धन गर्नका लागि र यसबाट बनेको परिकारहरूका बारेमा सचेतना जगाउनका लागि सरकार तथा अन्य संघ,संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताए।
उनले भने,‘हामीले निजी क्षेत्रबाट कोदो र यसबाट बनेको परिकारहरूको प्रमोटको लागि सहकार्य गरेर अगाडि बढ्नेछौं।’
त्यस्तै उनले गाउँतिर रहेका खेतीयोग्य जमिन बाँझो अवस्थामा रहेकामा चिन्ता व्यक्त गर्दै उक्त जमिनको सदुपयोग गरेर परम्परागत खेती कोदो-फापर जस्ता उत्पादनमा जोड दिनुपर्ने धारणा राखे।
उनले भने,‘हाम्रो गाउँतिर रहेको खेतीयोग्य जमिन बाँझो अवस्थामा छ। परम्परागत खेती कोदो-फापर उत्पादन भइराखेका बेला युवाहरू विदेशिने लहर चलेकाले खेतीमा कम ध्यान गएको छ। त्यसैले यसलाई प्रोमोट चाही गर्नुपर्छ।’
अध्यक्ष ढकालले आफू हरेक दिन बिहानको खानाको रुपमा कोदो र फापरको रोटी खाने गरेको सुनाए।
साउन १६, २०८२ शुक्रबार २०:१०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।