इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

इलाम : आर्थिक वर्ष २०८१/८२ मा इलाम जिल्लाका १०२ जनाले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरमार्फत उनीहरूले नागरिकता प्रमाणपत्र पाएका हुन्।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालका अनुसार, तीमध्ये सबैभन्दा धेरै ९७ जनाले पशुपतिनगरको सीमा प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन् भने जिल्ला प्रशासन कार्यालयमार्फत ३ जना र मङ्गलबारे इलाका प्रशासन कार्यालयबाट २ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्।

प्रजिअ नेपालका अनुसार नागरिकता कानुनअनुसार बुबाको पहिचान नभएमा आमाको नामबाट नागरिकता दिन सकिने व्यवस्था भए पनि व्यवहारमा अझै केही कानुनी तथा प्राविधिक जटिलता छन्। नागरिकता पाउनका लागि आमाको नागरिकता, वडाको सिफारिस, शैक्षिक प्रमाणपत्र तथा जन्मदर्ता लगायतका कागजात आवश्यक पर्ने बताइएको छ।

‘बुबाको नाम नदेखिएको अवस्थामा नागरिकता दिन सकिन्छ,’ प्रजिअ नेपालले भने, ‘तर कुनै कागजातमा बुबाको नाम उल्लेख भए पनि सम्पर्कविहीन अवस्थामा रहेकालाई भने नागरिकता दिन कानुनले रोक लगाएको छ।’ 

नागरिकता नहुँदा अध्ययन, रोजगारी तथा सरकारी सेवा सुविधामा पहुँचबाट वञ्चित भएकाहरू नागरिकता पाएसँगै सहज बनेको प्रशासनको भनाइ छ।

यो अवधिमा वंशजको आधारमा ६,४६१ जनाले नागरिकता पाएका छन्। यस्तै, ४० जनाले वैवाहिक अंगीकृत र ४ जनाले गैरआवासीय नागरिकता प्राप्त गरेका छन्। ६ जनाले नागरिकता परित्याग गरेका छन् भने २ जनाको नागरिकता रद्द गरिएको छ। एक वर्षको अवधिमा १४२ नाबालक प्रमाणपत्र जारी भएका छन्।

यसबीच, ६,१३७ जनालाई संशोधनरहित र ४,३३२ जनालाई संशोधनसहित नागरिकताको प्रतिलिपि वितरण गरिएको छ।

त्यस्तै, इलाम जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि १५,२९९ जनाको विवरण सङ्कलन गरिएको छ भने ७,२३९ जनालाई परिचयपत्र वितरण भइसकेको छ। तीनैवटा कार्यालयबाट निःशुल्क फाराम भर्ने व्यवस्था गरिएको जनाइएको छ।

साउन १६, २०८२ शुक्रबार १९:२३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।