जन्मदिनमा चक्रे आफैँले निम्त्याएको संकट, बिहान पशुपति, बेलुका प्रहरी हिरासत

काठमाडौं : गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई पक्राउ गर्नुपर्ने कुनै उजुरी/जाहेरी प्रहरीसँग थिएन। प्रहरीको इन्काउन्टर अप्रेसन सुरु भएसँगै आपराधिक गतिविधीमा निष्क्रिय बनेका उनी धर्मकर्म र घुमघाममा केन्द्रित भएका थिए। परिवारका सदस्य हंगकंगमा भएका उनी उता पनि गइरहन्थे।
तर बिहीबार आफ्ना समूहका केटाहरू जम्मा पारेर मध्यरातसम्म हो-हल्ला गर्ने अनि अर्का दुस्मनका रूपमा परिचित चक्रे मिलनको क्षेत्रका रूपमा परिचित ठमेल जाने तयारी गरेको सूचना प्रहरीसम्म पुग्दा उनी न्युनतम् सात दिनका लागि प्रहरी हिरासतमा बस्ने छन्।
उनीसहित बिहीबार बेलुका पक्राउ परेकामध्ये १९ जनामाथि प्रहरीले अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयमा पेस गरेकोमा अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ।
'मध्यरातसम्म होहल्ला गरेपछि प्रहरीले गएर नियन्त्रणमा लिएको थियो," काठमाडौंका एसएसपी विश्व अधिकारीले भने "प्रशासनबाट १९ जनालाई सात दिन हिरासतमा राख्ने म्याद पाएका छौँ।"
बिहीबार मध्यरात प्रहरीले महाराजगन्जको एक होटेलबाट चक्रेसहित ४७ जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखेर स्क्रिनिङमार्फत संलग्न नभएका २८ नियन्त्रण मुक्त गर्यो। बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गर्यो।
बिहान पशुपति, बेलुका हिरासत
जन्मदिन मनाउन बिहीबार बिहान समर्थकसहित चक्रे पशुपति गएका थिए। मन्दिर दर्शन गरेर पशुपतिमा रहेकालाई पैसा बाँड्दै उनी महाराजगन्ज नै फर्किएका थिए।
साँझतिर उनी ठमेल गए। ठमेल क्षेत्र कुनै समय उनका लागि प्रवेश गर्न पनि जोखिम थियो। पछिल्लो समय उनका प्रतिद्वन्द्वी दीपक मनाङे जेलमा छन्। तै पनि ठमेलमा उनका समर्थक अझै छन्।
उनले लाइन लगाएर केकहरू काटेर रमझम गर्न बेलुका भने आफ्नै आधार क्षेत्र महाराजगन्जमा रहेको होटेल साम्बाला फर्किए। चक्रेका समर्थकले मदिरा पिए। तर चक्रे आफू भने मदिरा चुरोट खाँदैनन्।
होटेलमा चक्रे समूहका सदस्यसँगै अन्य ग्राहक पनि थिए। होटेलको आठौँ तलाबाट मध्यरातसम्म अश्लील बोलेको, चर्को स्वरमा होहल्ला भएपछि प्रहरीमा जानकारी पुग्यो।
होटेलमा चक्रे सहयोगीसहित रहेको खुलेपछि स्थानीय प्रहरी मात्र गएन। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीसहित होटेलमा पुगेको प्रहरीले भेटे जति सबलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्यायो।
महाराजगन्ज आधार क्षेत्र, मनाङेसँग दुश्मनी
काठमाडौंको चक्रपथको महाराजगन्जमा बस्ने चक्रेको नाम मिलन गुरुङ हो। चक्रपथमा बस्ने भएकाले चक्रे मिलनको नामले अपराधमा कुख्यात भए।
काठमाडौंको गुण्डागर्दीमा सङ्गठित रूपमा सक्रिय रहेका उनको समूह प्रहरीको क बर्गमा सूचिकृत थिए। त्यही समूहमा ठमेल क्षेत्रमा सक्रिय दीपक मनाङे नि थिए। पछि गणेश लामा नि थपिए यही सूचिमा।
'क' बर्गमा वर्गीकृत सङ्गठित आपराधिक गतिविधिमा संलग्नहरू हुन्। काठमाडौँबाट सुरु भएको चक्रेको गुण्डागर्दी र सञ्जाल देशका मुख्य शहरमा फैलिए। दीपकको शैली पनि उस्तै थियो।
अन्यबीच मिलन भए पनि यी दुई भने कट्टर दुस्मनमा बदलिए। चक्रे ठमेल आउन नहुने, मनाङे महाराजगन्ज जान नहुने अवस्था आयो। मनाङे रात्रिकालीन व्यवसायमा केन्द्रित भए अनि चक्रे बालुवा ठेक्का, हाउजिङतिर लागेर त्यसैलाई आम्दानीको स्रोत बनाए।
चक्रे र मनाङे सरावर पक्राउ परिरहन्थे। दुवै समूहका सदस्यबीच फाट्टफुट्ट झडप भइरहन्थ्यो। दुस्मनी बढ्दै जाँदा मनाङे समूहको आक्रमणले चक्रेको हातै छिन्यो। मनाङे अहिले त्यही मुद्दामा कारागारमा छन्।
एमालेबाट सांसद बन्ने प्रयास
चक्रे राजनीतिक रूपमा एमालेसँग आबद्ध छन्। एमाले नेता प्रदीप नेपालसँगको पारिवारिक सम्बन्धले उनी एमालेमा सक्रिय भए। पछिल्लो समय मनाङेसँगको दुस्मनी समेत हराएको थियो।
प्रहरीले दिनेश अधिकारी चरी र कुमार घैँटेको इन्काउन्टरपछि मनाङेसँगै चक्रे पनि आपराधिक गतिविधिमा निष्क्रिय भए।
स्वास्थ्यका कारण नेपाल एमाले राजनीतिमा निष्क्रिय भए पनि चक्रे भने जिल्लातिर लागे। २०७९ को निर्वाचनमा एमालेले गोर्खाबाट प्रतिनिधि सभा सदस्यको लागि उनको नाम सिफारिस गरे पनि अन्तिममा टिकट भने पाएनन्। समाजसेवाको आवरणमा जिल्लामा भने आउजाउ गरिरहन्छन् उनी।
पछिल्लो समय अपराधमा प्रत्यक्ष संलग्न नभए पनि उनी कतै जाँदा सहयोगी नलिई जाँदैनन्। ग्याङस्टर शैलीमा गाडीको लस्करसहित समूहका सदस्यबाट घेरिएर हिँड्ने उनी जन्मदिनको पार्टीमा नसम्हालिँदा न्युनतम् एक साता काठमाडौं प्रहरीको हिरासतमा बस्ने छन्।
साउन १६, २०८२ शुक्रबार १८:३१:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।