घट्दै कोदो खेती, बाझिँदै गए बारी

घट्दै कोदो खेती, बाझिँदै गए बारी

पाल्पा : एक दशक अघिसम्म पाल्पाका गाउँघरहरूमा हरियाली बारी कोदोले ढाकिएको देखिन्थ्यो। तर, आजभोलि ती बारी बाँझो हुन थालेका छन्। परम्परागत रूपमा प्रमुख बाली मानिएको कोदो अब बिस्तारै हराउँदै गएको छ।

बगनासकाली गाउँपालिका-खानीगाउँका कमल गैरेका बारीमा कहिल्यै कोदोको अभाव थिएन। झण्डै तीन मुरीसम्म उत्पादन हुने उनी नै अहिले कोदो नलगाउने किसानमा पर्छन्। ‘काम गर्ने मान्छे छैन, छोरा सहरमा छन्, मैले पनि छाडेँ,’ गैरेले भने। 

यस्तै, रैनादेवी छहराका मानबहादुर कार्की पनि यसअघिसम्म कोदो खेतीमा सक्रिय थिए। तर, अहिले उस्तै कारणले खेती छोडिसकेका छन्। गाउँघरमा युवाहरू सहर र विदेश पलायन भएपछि खेती गर्नेको संख्या घट्दो छ, जसको सीधा असर कोदो जस्ता रैथाने बालीमा परेको छ।

सरकारी तहबाट कोदो जस्ता बाली प्रवर्द्धनको कुरा बारम्बार उठे पनि व्यवहारमै लागू नभएको किसानहरू बताउँछन्। कार्यक्रम छन् तर कागजमा सीमित। न स्थानीय सरकार, न प्रदेश न त संघीय तहकै सहयोग ठोस रूपमा आएको छ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयका अनुसार कोदो खेतीको क्षेत्रफल घट्दो छ। आर्थिक वर्ष २०८०/८१ मा २,३६३ हेक्टरमा गरिएको कोदो खेती २०८१/८२ मा घटेर २,३४९ हेक्टरमा झरेको छ। तर, उत्पादन भने बढेको देखिएको छ। अघिल्लो वर्षको तुलनामा ०.७३ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ।

पाण्डेयका अनुसार सुन्तलाजस्ता नगदे बालीतर्फ किसानको आकर्षण बढेको छ, जसका कारण परम्परागत बालीहरू ओझेलमा परेका छन्। कोदो उत्पादनमा वृद्धि हुनुको पछाडि केही किसानले लिएको प्राविधिक तालिम र सुधारिएको प्रविधिको प्रयोग रहेको उनले बताए।

निस्दी, पूर्वखोला, रिब्दीकोट, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकाका केही क्षेत्रमा अझै पनि कोदोखेती भइरहेको छ। तर, त्यो पनि परम्परागत शैलीमै, मकैसँग घुसुवा बालीका रूपमा।

अघिसम्म आटो, ढिँडो र रोटी बनाउन प्रयोग हुने कोदो अहिले धेरैजसो मदिरा बनाउन प्रयोग गरिन्छ। यही कारण यसको बीउ समेत हराउने स्थितिमा पुगेको छ।

गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेसँगै आज दिवस मनाइएको छ।

साउन १६, २०८२ शुक्रबार १७:५१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।