‘सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ’

बागलुङ : समुद्री सतहदेखि ४२०० मिटरको उचाइमा रहेको टीकाधाराको चिसोमा, पुराना थाङ्ना र त्रिपालले बेरिएको एउटा गोठ। वरिपरि भोटे कुकुर र हजारौँ भेडा। यिनै भेडासँगै भेटिन्छन्- निसीखोला गाउँपालिका-६ का ६४ वर्षीय टेकध्वज घतान।
पचास वर्षभन्दा बढी समयदेखि भेडापालन गर्दै आएका घतानको अहिलेको दैनिकी बिहानै भेडा दुहेर सुरू हुन्छ र दिनभरि घाँस काट्ने र भेडा चराउने काममै बित्छ। उनीसँगै रोल्पाका तीर्थबहादुर घर्ती, रुकुमका सत्यराम विश्वकर्मा लगायत सात जनाको समूह बुकीपाटनको गोठमा सँगै बस्दै आएको छ। उनीहरूका करिब पाँच हजार भेडाले टीकाधाराको हरियाली खर्क ढपक्क ढाकेका छन्।
गर्मीको मौसम भए पनि लेकमा बाक्लो कपडा नलगाई बस्नै नसकिने चिसो। यस्तै कठोर परिस्थितिमा बितेको छ टेकध्वजको जीवन। ‘सरकारले एउटा न्यानो ज्याकेट दियो भने पनि लाउँथ्यौँ,’ उनको गुनासो छ, ‘त्रिपाल फाटिसक्यो, न नयाँ छ, न त राहत नै आयो।’
उनका अनुसार वर्षौंदेखि न त अनुदान पाइएको छ, न त सहुलियतको सुविधा। ‘कहिलेकाहीँ कर्मचारीहरू आउँछन्, नाम टिप्छन्, तर कहिल्यै केही दिँदैनन्,’ उनले सुनाए।
रुकुमपूर्वका सत्यराम विश्वकर्माको गुनासो पनि उस्तै छ। तीन सयभन्दा बढी भेडा पालेका उनी वर्षभरी तीन-चारपटक गोठ सार्दै बस्न बाध्य छन्। ‘एउटा राम्रै त्रिपाल र रातिको लागि सोलारको व्यवस्था भए पनि धेरै टेवा पुग्थ्यो,’ उनले भने।
बुकीपाटनमा अहिले बागलुङ, म्याग्दी, रुकुम, डोल्पा र रोल्पाबाट भेडीगोठाला भेडा लिएर आएका छन्। सबैका गुनासा उस्तै छन्- राज्यको सहयोग नपाएको।
पछिल्लो समय टीकाधारामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ। तर, पर्यटकको उपस्थिति पनि गोठालाका लागि सधैँ सहज छैन। गोठालाका अनुसार धेरैजसो पर्यटक भेडाको बथानमा पसेर नाचगान र चिच्याहट गर्छन्, जसले गर्दा भेडा तर्सेर टाढा भाग्छन्। ‘भेडा तर्सेर भागेपछि फेरी जम्मा गर्न धेरै गाह्रो हुन्छ,’ गोठाला लेकबहादुर विकले बताए।
वर्षौंदेखि हिमाली जीवनशैलीलाई बोकिरहेका यी गोठालाको आवाजमा अपेक्षा भन्दा बढी उपेक्षाको गुनासो सुनिन्छ। ‘खाली नाम टिपेर मात्रै पुग्दैन, केही दिएर देखाउनु पनि पर्यो,’ टेकध्वजले भने।
साउन १६, २०८२ शुक्रबार १६:५१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।