नापतौल ठगीमा दुई हजारभन्दा बढी व्यवसायी कारबाहीमा, ५१ लाख बढी राजस्व सङ्कलन

जनकपुरधाम : गुणस्तर तथा नापतौल कार्यालय, जनकपुरधामले पाँच जिल्लामा नापतौलमा ठगी तथा अनियमितता गरेको भन्दै दुई हजारभन्दा बढी उद्योगी तथा व्यवसायी फर्ममाथि कारबाही गरेको छ।
धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप जिल्लामा कारोबार गरिरहेका दुई हजार ४३ व्यवसायीलाई जरिवानासहित कानुनी कारबाही गरिएको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्ष २०८१/८२ भरि गरिएको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा धेरै व्यवसायीले न त नापतौल यन्त्रको नवीकरण गरेका थिए, न त इजाजत नै लिएका थिए। कतिपयले कम तौल देखाउने यन्त्र प्रयोग गरेर ग्राहकसँग ठगी गरिरहेका भेटिएपछि कारबाही गरिएको कार्यालय प्रमुख सुनील यादवले जानकारी दिए।
यादवका अनुसार अनुगमनको क्रममा व्यवसायीहरूले स्वेच्छाले ढक, तराजु तथा डिजिटल नापतौल यन्त्र प्रयोग गरिरहेको देखिएको थियो। इजाजतबिनै यस्ता यन्त्र प्रयोग गर्नुका साथै कम तौल देखाएर बढी पैसा लिएको उजुरीको आधारमा उनीहरूलाई जरिवानासहित सचेत गराइएको हो।
कार्यालयले आर्थिक वर्षभर सर्लाहीको लालबन्दी र हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली र सिन्धुलीको कमलामाई नगरपालिकामा गरिएका अनुगमनका क्रममा यन्त्रमा गम्भीर त्रुटि भेटिएको जनाएको छ।
सो अवधिमा कार्यालयले जम्मा दुई हजार ६३० व्यवसायीका नापतौल यन्त्र परीक्षण गरेको थियो। अनुगमनका क्रममा जरिवाना तथा राजस्वबापत रु ५१ लाख १ हजार ९६० सङ्कलन गरिएको जनाइएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने रु ४० लाख ६७ हजार २४२ मात्र सङ्कलन भएको थियो।
कार्यालय प्रमुख यादवले पाँच जिल्लाको कार्यक्षेत्र रहेको कार्यालयको आफ्नै भवन नभएको, सवारीसाधनको सुविधा नहुँदा अनुगमन गर्न कठिन हुने, र न्यून बजेटका कारण प्रभावकारी कार्य सञ्चालनमा समस्या भइरहेको बताए।
साउन १६, २०८२ शुक्रबार १६:०९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।