देउवालाई भेटेपछि राजीनामा दिन तयार भए मुख्यमन्त्री लामा, आफूनिकटका नेताको व्यवस्थापन गर्नुपर्ने सर्त

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ पदबाट राजीनामा दिन तयार भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्न निर्देशन दिएपछि मुख्यमन्त्री लामाले त्यसअनुसार कदम चाल्ने संकेत दिएका हुन्।
बिहीबार देउवाले काठमाडौंमा बोलाएर लामासँग भेट गरेका थिए। भेटमा देउवाले पार्टीभित्रको विवादलाई चाँडै टुंग्याउने आग्रह गर्दै लोकतान्त्रिक निर्णयलाई स्वीकार्न सुझाव दिएका थिए। ‘पार्टीभित्रको कुरा धेरै नलम्ब्याऔं, सबैलाई फाइदा हुने समाधानतिर जाऔं,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले जानकारी दिए।
मुख्यमन्त्री लामाले देउवाको निर्देशनपछि आफ्ना निकट सांसदहरूसँग छलफल सुरु गरिसकेका छन्। उनी अहिले काठमाडौंमै बसेर परामर्शमा व्यस्त छन्। तर, उनले पद त्याग्नु अघि आफूपक्षीय सांसद र मन्त्रीहरूको व्यवस्थापन कसरी हुने भन्नेबारे सुनिश्चित गर्न खोजिरहेका छन्।
विशेषगरी उनले अर्थ मन्त्रालयलगायत प्रभावशाली मन्त्रालय आफ्ना नजिकका सांसदहरूलाई दिनुपर्ने अडान राखेका छन्।
यद्यपि, अविश्वास प्रस्तावमा साथ दिएका तीन सांसदलाई मन्त्री नियुक्त गरिए पनि प्रदेश प्रमुखको स्वास्थ्य समस्या हुँदा सपथ कार्यक्रम स्थगित भएको छ।
यदि आफूनिकटका नेताहरूको व्यवस्थापन सुनिश्चित नभए, मुख्यमन्त्री लामाले पद नत्याग्ने र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने तयारी रहेको उनको पक्षधर एक सांसदले जानकारी दिए।
साउन १६, २०८२ शुक्रबार १४:५१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।