चितवनमा पन्ध्र दिनको अवधिमा २० जनामा देखियो डेङ्गु सङ्क्रमण

चितवन : साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन्। भरतपुर महानगरपालिकाका- सात, खैरहनी नगरपालिकाका तीन तथा रत्ननगर र कालिका नगरपालिकाका दुई दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो। सङ्क्रमितमा पाँच पुरुष र नौ महिला रहेका उनले जानकारी दिइन् ।
वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ र असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ। यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वासथ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।
यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरलगायतमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ। यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्छ।
डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो। यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न दिन हुँदैन्।
साउन १६, २०८२ शुक्रबार १४:३२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।