फुलपातीमा तीन फिल्म रिलिज हुँदै, दुईटाले एकै दिन सार्वजनिक गरे पोस्टर

काठमाडौं : नेपाली चलचित्र बजारमा शुक्रबार एकै दिन दुई प्रतीक्षित चलचित्र ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले आ-आफ्ना पोस्टर सार्वजनिक गरे।
यो संयोग पोस्टरमा मात्र सीमित रहेन, यी दुई चलचित्र आगामी दशैंमा पनि एकै दिन प्रदर्शनमा आउँदैछन्।
यी दुई चलचित्रसँगै निर्माता सन्तोष सेनको ‘बलिदान’ पनि सोही मिति अर्थात् असोज १३ गते (फूलपाती) मा प्रदर्शन हुने भएपछि यो वर्षको दशैंमा बक्स अफिसमा ‘महाभिडन्त’ निश्चित भएको छ।
शुक्रबार पोस्टर सार्वजनिक गर्दै ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले औपचारिक रूपमा प्रचार अभियान थालेका छन्।
रोहित अधिकारीको प्रस्तुतिमा मिलन तामाङले निर्देशन गरेको ‘माइतीघर’ र हरिवंश आचार्यको चर्चित पात्रमा आधारित ‘हरिबहादुरको जुत्ता’ दुवैले दर्शकलाई हलसम्म तान्ने रणनीति बनाएका छन्।
यता, ‘बलिदान’का निर्माता तथा निर्देशक सन्तोष सेन भने प्रचारमा एक कदम अगाडि देखिन्छन्। उनले चलचित्र प्रदर्शनको दुई महिनाअघि नै काठमाडौंको ल्होत्से मलको बाहिरी भित्तामा ठूलो पोस्टर राखेर दर्शकको ध्यान खिचिसकेका छन्।
तीनवटै चलचित्रका निर्माण पक्षले आक्रामक प्रचार थालेकाले यो भिडन्त थप रोचक हुने देखिन्छ।
प्रकाश सपुत र दिव्य देवका दुई-दुई फिल्म
यो महाभिडन्त कलाकारका लागि पनि विशेष बनेको छ। गायकबाट नायक बनेका प्रकाश सपुतका लागि यो दशैं एकैपटक अवसर र चुनौती बनेर आएको छ। उनका दुई चलचित्र ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकैदिन प्रदर्शनमा आउँदैछन्।
यसअघि ‘परदेशी २’ र ‘पूर्णबहादुरको साराङ्गी’ बाट सफलता पाएका प्रकाशका लागि दुवै चलचित्रको सफलता महत्त्वपूर्ण छ, तर जुन चलचित्रले राम्रो व्यापार गरे पनि फाइदा उनैलाई हुनेछ।
त्यस्तै, अर्का कलाकार दिव्य देव पनि दोहोरो प्रतिस्पर्धामा छन्। उनी अभिनित चलचित्र ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ एकसाथ प्रदर्शन हुनेछन्।
कुन चलचित्रमा को-को छन्?
प्रकाश सपुत, केदार घिमिरे, धिरज मगर, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल जस्ता कलाकारहरूको अभिनय रहेको चलचित्र ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरेका हुन्। चलचित्रले तामाङ संस्कृतिको कथालाई उठाएको छ।
हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’मा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, दिव्य देव, किरण केसी, राजाराम पौडेल जस्ता कलाकारहरू छन्। यो चलचित्र हरिवंश आचार्यको चर्चित टेलिशृङ्खलाको पात्रमा आधारित छ।
त्यसैषरी सन्तोष सेन निर्देशित चलचित्र ‘बलिदान’मा गत वर्ष ‘१२ गाउँ’ बाट चर्चामा आएका समिर भट्टका साथै कविता राय, ऋचा शर्मा, अर्पण थापा, सौगात मल्ल र दिव्य देवको अभिनय रहेको छ।
साउन १६, २०८२ शुक्रबार १४:०२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।