इस्लिङ्टन कलेजद्वारा २६१ विद्यार्थीलाई ७ करोड मूल्य बराबरको ‘एएए’ छात्रवृत्ति प्रदान
काठमाडौं : इस्लिङ्टन कलेजले ‘एएए छात्रवृत्ति’ समारोह आयोजना गरी यस शैक्षिक सत्रमा प्राज्ञिक उत्कृष्टता, अनुशासन र सक्रिय सहभागिता देखाएका विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ।
एकेडेमिक्स (प्राज्ञिकता), एटेन्डेन्स (उपस्थिति) र एटिच्युड (आचरण) लाई एउटै सूत्रमा बाँध्ने यस 'एएए' छात्रवृत्तिको उद्देश्य, विद्यार्थीहरूलाई शिक्षण शुल्कमा शतप्रतिशत छात्रवृत्ति प्रदान गरी शैक्षिक सत्रभरि उत्कृष्ट प्रदर्शनका लागि प्रोत्साहित गर्नु हो।
यस वर्षको छात्रवृत्तिका लागि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसकारण छनोट प्रक्रिया निकै चुनौतीपूर्ण रह्यो।
कलेजका प्राज्ञिक तथा सम्बन्धित समितिले विभिन्न चरणको मूल्याङ्कनपश्चात् योग्यताका आधारमा २६१ जना उत्कृष्ट विद्यार्थीहरूलाई छनोट गरेको थियो। यो छात्रवृत्ति करिब रु. ७ करोड मूल्य बराबरको रहेको कलेजले जनाएको छ।
छनोट भएका विद्यार्थीहरूलाई सम्मान गर्न आयोजित एक विशेष समारोहमा, उनीहरूका अभिभावक तथा कलेज परिवारको उपस्थितिमा इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
कलेजका अनुसार, यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो प्रतिभा र उत्कृष्टता प्रदर्शन गर्ने एक महत्त्वपूर्ण अवसर बनेको छ।
यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त गतिविधिहरूमा सक्रिय रूपमा संलग्न गराउँदै उनीहरूको शैक्षिक अग्रता र समग्र व्यक्तित्व विकासमा टेवा पुऱ्याउनु हो।
साउन १६, २०८२ शुक्रबार १२:४८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।