‘परालको आगो’बाट जितु बाहिरिए लगत्तै सौगात मल्लको इन्ट्री

‘परालको आगो’बाट जितु बाहिरिए लगत्तै सौगात मल्लको इन्ट्री

काठमाडौं : अभिनेता जितु नेपालले फिल्म ‘परालको आगो’बाट बाहिरिएको घोषणा गरेको भोलिपल्टै निर्माण पक्षले उनको ठाउँमा अभिनेता सौगात मल्ललाई अनुबन्ध गरेको छ।

केही दिनदेखिको अड्कलबाजी र चर्चालाई सत्य सावित गर्दै जितुले बिहीबार आफू फिल्मबाट अलग भएको जानकारी दिएका थिए भने शुक्रबार निर्माताले सौगातको इन्ट्री भएको पोस्टर सार्वजनिक गरेका छन्।

बिहीबार एक भिडियो सन्देशमार्फत जितुले निर्माण पक्षसँगको सहमतिमै आफू फिल्मबाट बाहिरिएको स्पष्ट पारेका थिए। उनले फिल्मको छायांकन मिति आफ्नो अर्को फिल्म ‘कार्की साइँला’सँग जुध्न गएको र मिडियामा आएजस्तो विवाद नभएको दाबी गरेका थिए।

जितु बाहिरिएको घोषणासँगै निर्माता सुशील पोखरेलले सौगातलाई ‘अभिनयका राजा’को उपमा दिँदै उनको आगमनले फिल्म अझ सशक्त बन्ने विश्वास व्यक्त गरेका छन्।

उनले पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘अभिनयका राजा सौगात मल्लको इन्ट्रीले ‘परालको आगो’ अझ सशक्त फिल्म बन्नेछ।’

यस्तै, निर्देशक लक्ष्मण सुनारले पनि उत्कृष्ट सिनेमाका लागि उत्कृष्ट कलाकार नै चाहिने भन्दै सौगातको आगमनलाई स्वागत गरेका छन्।

किन फेरिए कलाकार?
निर्माता पोखरेलले कलाकार परिवर्तन हुनुको कारण पटकथामा आएको फेरबदल रहेको बताएका छन्। उनका अनुसार, पटकथा लेखनको २०/२५ चरण पार गर्दा सुरूमा सोचिएको हल्काफुल्का भूमिका निकै संवेदनशील र गम्भीर बन्न पुग्यो।

पोखरेलले जितुको भिडियो सेयर गर्दै लेखेका छन्, ‘जुन र जस्तो रोल बन्यो, त्यो जितुको इमेज र कलाकारिताको शैलीभन्दा फरक बन्यो, अझ भनौँ कमिक बनेन।’

उनले सशक्त कथाका लागि समय लागेको र अब दर्शकले कलाकार परिवर्तनको कारण बुझ्ने उल्लेख गरेका छन्। फिल्ममा सौगातसँगै प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारीलगायतका कलाकारको अभिनय रहनेछ।

सुशील देवकोटाले लेखेको फिल्ममा शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत, संकल्प भुजेलको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ।

फिल्मको छायांकन आउँदो भदौ तेस्रो साताबाट म्याग्दीका विभिन्न स्थानमा सुरू हुनेछ। यो फिल्म ४५ वर्षअघि प्रदर्शनमा आएको निर्देशक प्रताप सुब्बाको सोही नामको क्लासिक फिल्मबाट प्रभावित मानिएको छ।

साउन १६, २०८२ शुक्रबार १२:०४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।