३३ लागिन् मृणाल : सलमानको फिल्मबाट निकालिइन्, बडि शेमिङकै कारण ज्यानै फाल्ने सोचिन्

३३ लागिन् मृणाल : सलमानको फिल्मबाट निकालिइन्, बडि शेमिङकै कारण ज्यानै फाल्ने सोचिन्

एजेन्सी : टेलिभिजनको पर्दादेखि बलिउडको ठूलो पर्दासम्म, आफ्नो दमदार अभिनय र प्रतिभाको बलमा छुट्टै पहिचान बनाएकी अभिनेत्री मृणाल ठाकुरको लागि यो यात्रा कुनै फिल्मको कथाभन्दा कम थिएन।

करियरको सुरुवाती दिनमा उनले अनेकौँ निराशाजनक र नकारात्मक अनुभवहरूको सामना गर्नुपर्यो। एक समय यस्तो पनि थियो, जब उनी रेलबाट हाम फालेर आत्महत्या गर्न चाहन्थिन्।

उनको लुक्सलाई लिएर ‘हिरोइन बन्न सक्दैनौ’ जस्ता टिप्पणी गरिन्थ्यो। यस्ता कुरा सुनेर मृणाल घर आएर धेरै रुन्थिन्। तर, परिवारको बलियो साथ र आफ्नो कडा मेहनतले उनले सबै चुनौतीलाई पछाडि पारिन्।

आज उनी बलिउडकी एक सफल अभिनेत्री हुन्। ‘सुपर ३०’, ‘बाटला हाउस’, ‘जर्सी’ जस्ता बलिउड फिल्मका साथै तेलुगु फिल्म ‘सीतारामम’बाट उनले दक्षिण भारतीय फिल्म उद्योगमा पनि आफ्नो दह्रो उपस्थिति जनाएकी छिन्।

आज मृणालको ३३औं जन्मदिनमा उनको करियर र निजी जीवनसँग जोडिएका केही रोचक तथ्यहरू प्रस्तुत गर्दैछौँ:

क्राइम रिपोर्टर बन्ने सपना
मृणालका आमाबुबा उनलाई डेन्टिस्ट बनाउन चाहन्थे र उनले यसको प्रवेश परीक्षा पास पनि गरेकी थिइन्। तर, पछि बुबाको अनुमति लिएर उनले पत्रकारितामा भर्ना गरिन्। उनको सपना एक क्राइम रिपोर्टर बन्ने थियो।

यसको प्रेरणा उनले एक मराठी च्यानलका न्युज एङ्करबाट पाएकी थिइन्, जसले मुम्बईमा भएको आतंकवादी हमलाको रिपोर्टिङ गरेका थिए। मृणाल भन्छिन्, ‘यदि मैले थ्री इडियट्स नहेरेको भए, आज म कुनै क्लिनिकमा डेन्टिस्ट हुन्थेँ होला।’

पढाइकै क्रममा मृणाललाई अभिनयको अफर आउन थालेको थियो। सुरूमा उनको परिवार यसको विपक्षमा थियो, किनभने अभिनयले पढाइमा असर गरिरहेको थियो। तर, जब कलेजमा छुट्टी हुन थाल्यो, उनका बुबाले नै उनलाई काममा पूरा ध्यान दिन सल्लाह दिए।

मृणालले स्टार प्लसको सिरियल ‘मुझसे कुछ कहती....ये खामोशियाँ’बाट हिन्दी टेलिभिजनमा डेब्यु गरिन्। तर, जीटीभीको चर्चित सिरियल ‘कुमकुम भाग्य’मा ‘बुलबुल’को भूमिकाले उनलाई घर-घरमा चिनायो, यसपछि उनले मराठी सिरियल र ‘नच बलिए’ जस्ता रियालिटी शोमा पनि काम गरिन्।

बडी शेमिङ पीडा
फिल्म उद्योगमा उनले बारम्बार बडी शेमिङको सामना गर्नुपर्यो।

एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मेरो फिगरका कारण मानिसहरू मलाई मट्का भनेर बोलाउँथे। सामाजिक सञ्जालमा मेरो शरीर र लुक्सलाई लिएर भद्दा टिप्पणी गरिन्थ्यो।’

एकपटक एक व्यक्तिले उनलाई ‘तिमी सेक्सी छैनौ’ भनेका थिए भने लुक टेस्टको क्रममा एक फोटोग्राफरले मराठीमा ‘यो गाउँकी केटी को हो?’ भनेर होच्याएका थिए, यद्यपि पछि उनले माफी मागेका थिए।

संघर्षका दिनहरूमा मृणाल मुम्बईको लोकल ट्रेन र बसमा यात्रा गर्थिन्।

उनी भन्छिन्, ‘धेरैजसो अडिसन अंधेरीमा हुन्थ्यो। म टाउनबाट लोकल ट्रेन चढेर अंधेरी आउँथेँ र त्यहाँको एक मलको बाथरुममा लुगा फेरेर अडिसन दिन जान्थेँ।’

काम नपाउँदाको निराशामा उनलाई लोकल ट्रेनको ढोकामा उभिँदा हाम फालेर आत्महत्या गर्ने सोचसमेत आउँथ्यो। तर, उनले धैर्यलाई आफ्नो सबैभन्दा ठूलो साथी बनाइन्।

सलमानको फिल्मबाट रिजेक्ट
सन् २०१८ मा इन्डो-अमेरिकन फिल्म ‘लव सोनिया’ उनको करियरको टर्निङ प्वाइन्ट बन्यो। यस फिल्ममा उनले मानव बेचबिखनको शिकार भएकी युवतीको भूमिकामा दमदार अभिनय गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा बटुलिन्।

फिल्म ‘सुल्तान’मा अनुष्का शर्माको भूमिकाका लागि पहिले मृणाललाई अफर गरिएको थियो। सलमान खानले नै ‘बिग बोस १५’ मा यो कुराको खुलासा गरेका थिए। उनका अनुसार, मृणाल अडिसनका लागि उनको फार्म हाउसमा पनि पुगेकी थिइन्, तर त्यतिबेला उनी पहलवानको भूमिकाका लागि शारीरिक रूपमा फिट देखिएकी थिइनन्।

एक समय थियो जब मृणालले आमाबुबाको कारणले अन्तरङ्ग दृश्य भएका फिल्महरू अस्वीकार गर्थिन्।

उनी भन्छिन्, ‘म डराउँथेँ र फिल्मलाई नाइँ भन्थेँ। तर, पछि मैले बुबासँग कुरा गरेँ र कथाको मागअनुसार आवश्यक दृश्यहरू गर्नुपर्छ भन्ने निर्णय लिएँ।’

उनी नातावादको मुख्य कारण दर्शक र मिडियालाई ठान्छिन्। सन् २०१९ को एक फिल्म फेस्टिभल आफूले अवार्ड  जितेर मिडियासँग कुराकानी गरिरहेको बेला जान्हवी कपूर आएपछि मिडिया अन्तर्वार्ता नै छोडेर त्यता कुदेको बताइन्।

उनले थपिन्, ‘मैले अवार्ड जितेकी थिएँ र मिडियासँग अन्तर्वार्ता दिइरहेकी थिएँ। त्यहीबेला जान्हवी कपुर आइन् र सबै मिडियाकर्मी मलाई बीचमै छाडेर उनीतिर दौडिए। यसमा स्टारकिडको गल्ती छैन, हामी सबै उनीहरूको जीवनमा के भइरहेको छ भनेर जान्न उत्सुक हुन्छौँ।’

साउन १६, २०८२ शुक्रबार ११:३१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।